सलमान खानले नेपाली सिनेमालाई दिए दुःख

काठमाडौँ, जेठ २३ । सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ बुधबारदेखि सिनेमाघरहरूमा लागेको छ । यस चलचित्रले पहिलो दिनमै भारतको घरेलु बक्स अफिसमा ४२ करोड ३० लाखको बम्पर कमाई गरेको छ ।

सलमानलाई ईदको साइत निकै फाप्ने गरेको छ । सन् २००९ यता सलमान खानले ईदको साइत पारेर ९ फिल्म रिलिज गराएका छन् जसमा २०१७ मा रिलिज भएको ट्युबलाइट बाहेक अरु सबै सिनेमा (वान्टेड, दबंग, बडीगार्ड, एक था टाइगर, किक, बजरंगी भाइजान र सुल्तान) रेकर्ड हिट रहेका छन् ।

सलमान खानका अक्सर फिल्महरूले समीक्षकहरूबाट औसत किसिमको समिक्षा पाउने गरेका छन् तर भारतले भने धेरै समीक्षकहरूबाट सकारात्मक टिप्पणी पाएको छ ।

रेस- थ्रीले अपेक्षाकृत सफलता पाउन नसकेपछि भारतलाई सलमानको लोकप्रियताको कसीका रूपमा हेरिन लागेको छ । फिल्मको पहिलो दिनको कमाईको आधारमा भन्ने हो भने यसले सफलता पाउने देखिन्छ ।

फिल्मको बजेट एक अर्ब भारु रहेको छ भने यो सिनेमा भारतमा ४७०० सहित संसारभरी छ हजार बढी स्क्रीनमा रिलिज भएको छ ।

नेपालमा ‘भारत’को थिचोमिचो

नेपाली सिनेमा उद्योगलाई भने ‘भारत’को ग्रहण नै लागेको छ । बुधबार भारत रिलिज भएपछि राम्रो प्रदर्शन गरिरहेका नेपालि सिनेमा जत्रै जात्रा र कुम्भकर्णले महत्वपूर्ण सोहरू गुमाउनु परेको छ ।

तेस्रो हप्तामा रहेको जात्रै जात्रा मल्टीप्लेक्सहरूमा हाउसफुल चलिराखेको थियो । यसका वावजुद उसका सोहरू कम गरिएपछि नेपालि सिनेमा हाल र निर्माताबीच फेरि विवाद सुरु भएको छ ।

सामान्यतया नेपालमा हलवाला र निर्माताबीच शुक्रबार नयाँ फिल्म रिलिज गर्ने सहमति रहेको छ । त्यही सहमतिमा टेकेर भारतको रिलिजमाथि चलचित्र बोर्डले हस्तक्षेप गर्न खोजेपछि केही मल्टीप्लेक्स संचालकहरू अदालतको शरणमा पुगेका थिए ।

काठमाडौँ जिल्ला अदालतले तत्काललाई फिल्मको प्रदर्शन नरोक्न आदेश दिएको थियो ।

त्यसै आदेशमाथि टेकेर नेपालभरि पनि यो फिल्म बुधबार नै रिलिज भएको छ ।

यस चलचित्रले पहिलो दिन नेपालबाट कति कमायो भन्ने पुष्ट जानकारी नआए पनि यसको विषयवस्तुले नेपाली दर्शकलाई आकर्षित नगर्ने समीक्षकहरू भन्छन् ।

यस अघि भारतमा बुधबार रिलिज भएको ‘कलंक’ चलचित्र बोर्डको हस्तक्षेपपछि शुक्रबार रिलिज गरिएको थियो ।

भारतको रिलिजले एक पटक फेरि हलमालिक र नेपाली चलचित्र निर्माता आमुन्ने सामुन्ने भएका छन् ।

जात्रै जात्राका निर्माता रविन्द्रसिंह बानियाँले फेसबुकमा स्टेट्स लेख्दै आफूहरूले हलवालाहरूसँग आफ्नो हक मागेको भनेका छन् ।

त्यसै कलाकार तथा निर्माता दीपकराज गिरिले अदालतको आदेश र हलवालाहरूको तिकडमले गर्दा भारतले सोहरू पाएपनि दर्शक पाउन सजिलो नहुने बताएका छन् ।

उता चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अदालतको यस निर्णयविरुद्ध पुनरावेदनमा जाने बताएका छन् ।

नेपालमा यस चलचित्रको वितरणको जिम्मा व्यंकटेश इन्टरटेनमेन्टले लिएको छ । उक्त कम्पनीले भारतको वितरणको अधिकार ७५ लाख भारुमा खरिद गररेको बताइन्छ ।

संचारमन्त्रीको धारणा

संचारमन्त्री गोकुल बाँस्कोटाले विदेशी फिल्महरूमाथि नियन्त्रण लगाइने बताएका छन् । उनले हलवालाहरूले वर्षमा निश्चित दिन नेपालि सिनेमा चलाउनै पर्ने नियम ल्याउने बताएका छन् ।

उनी भन्छन्, “निर्माता दुब्लाउने र हलवाला मोटाइरहने अवस्था धेरै रहन्न।”

कमेन्ट गर्नुहोस्