मेस्सीको उत्कृष्ट प्रदर्शन, निकारागुवाविरूद्ध अर्जेन्टिनाको शानदार जीत

एजेन्सी । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा निकारागुवाविरूद्ध ५-१ को जित दर्ता गराएको छ। जुन १४ बाट ब्राजिलमा सुरू हुन लागेको कोपा अमेरिका फुटबलको पूर्वतयारीका रूपमा खेलाइएको मैत्रीपूर्ण खेलमा लियोनेल मेस्सीले २ मिनेट भित्र २ गोल गर्न सफल भए।

निकारागुवाविरूद्ध प्रभावशाली प्रदर्शन गरेको अर्जेन्टिना कोपा अमेरिका खेल्न ब्राजिलतर्फ उड्दैछ। यसअघि भेनेजुएलाविरूद्ध खेलमा पराजित बनेको अर्जेन्टिनाले निकारागुवाविरूद्ध प्रभावशाली जित निकाल्दै कोपा अमेरिकाका लागि तयार भएको छ । मेसीले खेलको ३७ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसको एक मिनेटमै उनले अर्को गोल थपे।

पहिलो हाफमा मेस्सीको २ गोलसहित अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा ३ गोल थप्यो। उसका लागि दोस्रो हाफमा मैदान छिरेका लायुटारो मार्टिनेजले ६३ र ७३ औँ मिनेटमा गोल गर्दै अग्रता ४-० मा पुर्याए। त्यसपछि खेलको ८१ औँ मिनेटमा रोबर्टो पेर्येराले गोल गरेपछि अर्जेन्टिनाको अग्रता ५-० मा पुग्यो। निकारागुवाका लागि खेलको ९१ औँ मिनेटमा जुआन बार्रेराले पेनाल्टीमार्फत् सान्तवना गोल गरे।

अर्जेन्टिनाले कोपा अमेरिका अन्तर्गत आफ्नो पहिलो खेल कोलम्बियाविरूद्ध खेल्दैछ। १ पटक विश्वक र २ पटक कोपा अमेरिका गुमाइसकेको अर्जेन्टिना र उसका कप्तान मेस्सीका लागि देशमा उपाधि भित्र्याउने यो अर्को अवसर बनेको छ।

कमेन्ट गर्नुहोस्