मेड इन बंगलादेशः चीनले फेरिदिएको अर्थतन्त्र

काठमाडौँ, जेठ २६ । संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्ध यतिबेला उत्कर्षमा पुगेको छ । अमेरिकाले चिनियाँ दूरसञ्चार कम्पनी हुवाबेमाथि प्रतिबन्ध लगाएपछि विश्व नै अमेरिका वा चिनियाँ व्यापारिक धु्रवमा विभाजन हुन लागेको छ । अमेरिकाको दबाबमा गुगलले हुवाबेलाई एन्ड्रोइड अपरेटिङ सेवामा प्रतिबन्ध लगाइसकेको छ ।

जापानी कम्पनी पानासोनिकले पनि अमेरिकी निर्णयको केही समयपछि हुवाबेलाई आफ्ना उपकरण नदिने निर्णय गरेको छ । चीनको साउथ चाइना मर्निङ पोस्टले यो विषयलाई प्राथमिकता साथ प्रस्तुत गर्दै अब दक्षिण कोरियाले के गर्छ भनी प्रश्न गरेको थियो । तर, त्यो समाचार आएपछि पानासोनिकले निर्णय सच्याएको समाचार फेरि साउथ चाइना मर्निङ पोस्टले नै दियो । त्यस्तो निर्णय नभएको भनी पानासोनिकका प्रवक्ताले वेबसाइटमा विज्ञप्ति राखेको उक्त पत्रिकाले जनाएको थियो तर अघिल्लो समाचारमा पानासोनिकका प्रवक्ता जोए फ्लाइनले अमेरिकी सरकारको प्रतिबन्धका विषयअनुसार हुवाबे र यसका ६८ कम्पनीको समूहसँग व्यापारिक कारोबार स्थगन गरेका छौँ भनेको समाचार त्यहीँ पत्रिकाले दिएको थियो । विश्व बजारको प्रतिक्रियाअनुसार पानासोनिक निर्णय उल्टाउनु पर्ने अवस्थामा पुगेको हुनसक्छ ।

विश्व बजारमा चिनियाँ प्रभाव विस्तार हुने क्रममा छ । हुवाबे एउटा उदाहरण र चर्चाको विषय बन्यो तर त्यो मात्र चिनियाँ बजार विस्तारको पाटो होइन । साउथ चाइना मर्निङ पोस्टले नै अर्को एक समाचार दिएको छ, जसमा अब मेड इन चाइना होइन मेड इन बङ्गलादेशको युग सुरु भएको शीर्षक दिइएको छ ।

चीनले विश्व बजारमा आफूलाई वस्तुको बजारमा मात्र स्थापित गरेको छैन । प्रविधि विस्तार र लगानीका क्षेत्र पनि विस्तार गर्दै गएको छ । दक्षिण एसियाली क्षेत्रमा बङ्गलादेशमा चिनियाँ लगानी र प्रविधिको निवेश बढेको छ । बङ्गलादेशको अर्थतन्त्र विस्तारमा चिनियाँ कम्पनीका कारण यस वर्ष आठ प्रतिशतको योगदान रहेको जनाइएको छ । एसियाली देश फिलिपिन्स र इन्डोनेसियाको तुलनामा बङ्गलादेशमा चीनको व्यापार र लगानीको प्रभाव विस्तार भएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको तयारी पोसाक उद्योगमा चिनियाँ लगानीको ब्रान्ड विस्तार भएको छ । २२ वर्षअघि एक चिनियाँ लगानीकर्ता लियो जुआगले सन् १९९७ मा तयारी पोसाक उद्योगमा लगानी गरे । उनलाई बङ्गलादेशको सस्तो श्रम लागत र पर्याप्त श्रम शक्तिले आकर्षण गरेको थियो । उनको कम्पनी एलडीसी ग्रुपमा अहिले बङ्गलादेशका २० हजार श्रमिक काम गर्छन् । त्यसमा उहाँलाई बङ्गलादेशको बजारमा वस्तुको अभावले बजारको सम्भावना पनि देखाएको थियो । उहाँले भन्नुभयो, तर बङ्गलादेशमा अहिले ज्यादै ठूलो परिवर्तन आएको छ, तथापि चीनमा भएको विस्तारसँग यसको तुलना गर्न भने सकिँदैन ।

उनको कम्पनीको ठूलो उद्योग गाउँमा रहेको छ, जहाँ वस्तुहरूको जडान कार्य हुन्छ । बङ्गलादेशमा चिनियाँ र अन्य देशको लगानी आउने क्रम जारी छ । बङ्गलादेशमा तयारी पोसाक उद्योगमा मात्र ३५ लाख कामदार कार्यरत छन् । उनीहरूले युनिक्लो र एच एन्ड एम, माइकल कोर्सजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका लागि कपडा उत्पादन गर्छन् ।

हङ्कङ्को इभरग्रिन प्रोडक्ट गु्रपका अध्यक्ष फेलिक्स चाङको विश्वमा नै ठूलो नक्कली कपाल बनाउने उद्योग सञ्चालनमा छ । बङ्गलादेशको उत्तरी क्षेत्रस्थित निर्यात प्रशोधन क्षेत्रबाट मात्र प्रतिमहिना तीन लाखदेखि चार लाखसम्म त्यस्ता कपाल उत्पादन हुने गर्छ । एक दशक अघिसम्म चीनको सेन्जेन, ग्वान्जाउ, कुन्मिङ तथा हेनानमा त्यस्ता कपाल उत्पादन गर्ने कम्पनी रहेकोमा अहिले ९३ प्रतिशत नक्कली कपाल बङ्गलादेशमा उत्पादन गरेर विश्व बजारमा जाने गरेको बताइएको छ ।

यो बङ्गलादेशको सस्तो श्रम बजारकै कारण भएको हो । बङ्गलादेशमा कारखाना स्थानान्तरण गर्नुअघि चिनियाँ कामदारका लागि प्रतिमहिना करिब दुई सय ८९ अमेरिकी डलर तिर्नु पथ्र्यो । तर, बङ्गलादेशमा स्थानान्तरण गर्दा प्रतिमहिना २५ अमेरिकी डलर मात्र तिर्नुपर्छ ।
अहिले बङ्गलादेशको न्यूनतम ज्याला प्रतिमहिना ९५ अमेरिकी डलर छ जुन अन्य एसियाली देशको भन्दा अझै पनि कम हो । एसियाका कम्बोडियामा प्रतिमहिना १२८ अमेरिकी डलर, भियतनामको हनोइ र हो चि मिन्हमा भियतनामकै अन्य सहरको भन्दा कम १८० अमेरिकी डलर र म्यानमारमा प्रतिदिन ३।६ अमेरिकी डलर रहेको छ ।
यो सबै बङ्गलादेशको सस्तो श्रम बजारका कारण हो भन्दै चीनमा श्रमको मूल्य उच्च रहेकाले आगामी दिनमा मेड इन चाइनाको साटो मेड इन बङ्गलादेशका कपडा रहने अपेक्षा साउथ चाइना मर्निङ पोस्टले गरेको छ । यहीँ ज्यालाले नै बङ्गलादेशको तयारी पोसाक उद्योगलाई ३० अर्ब अमेरिकी डलरको उद्योगका रूपमा स्थापित गरेको छ । बङ्गलादेशको निर्यात व्यापारको ८० प्रतिशत हिस्सा तयारी पोसाककै छ ।

बङ्गलादेशले लगानी आकर्षित गर्नका लागि पूर्वाधार र अन्य सुविधा पनि थपेको छ । २२ वर्षअघि चिनियाँ लगानीकर्ता बङ्गलादेशमा आउँदा विमानस्थलमा दुईवटा मात्र सामान आउने पेटी थिए र बत्तीको अवस्था पनि नाजुक थियो । ओभरसिज चाइनिज एसोसिएसन इन बङ्गलादेशका अध्यक्ष रहेका जुआगका अनुसार त्यसबेला २० देखि ३० वटा चिनियाँ कम्पनी थिए तर अहिले करिब ४०० पुगेका छन् ।

चिनियाँ ऋण र लगानीले बङ्गलादेशको अर्थतन्त्र औसत ५ प्रतिशतले विस्तार गरेको दाबी गरिएको छ । यस वर्ष मात्र त्यो विस्तार ८।१३ प्रतिशतको रहेको जनाइएको छ । यसले विश्वमा नै द्रुत रूपमा अर्थतन्त्र विस्तार हुने देशको सूचीमा बङ्गलादेशलाई प¥याएको छ । बङ्गलादेश सरकारले अर्थतन्त्र सबल बनाएका कारण ऋण लिने क्षमता पनि बढाएको बङ्गलादेशका विदेश राज्यमन्त्री तथा मोहम्मद सहरियारले बताउनुभएको छ । बङ्गलादेशका सूचनामन्त्री डा। हसन मोहम्मदका अनुसार यो क्षमता विस्तारले चीनसँग मात्र होइन भारतसँग पनि आर्थिक सम्बन्ध विस्तारमा सहयोग पुगेको छ ।

बङ्गलादेशमा उद्योग ग्रामको क्षेत्रमा उत्पादनका लागि ल्याइने कच्चा पदार्थमा कम अथवा शून्य करको दर रहेको छ । करको यो नीतिले निर्यातलाई पनि बढावा दिएको छ । त्यसैको फाइदा उठाउँदै करिब २० वटा विदेशी कम्पनीले २१३ एकड क्षेत्रफलमा कम्पनी विस्तार गरेका छन् । तीनमा हङकङका छवटा कम्पनी रहेका छन् ।

बङ्गलादेशमा चस्माको सिसा र खेलौना बनाउने चिनियाँ लगानीका कम्पनी पनि सञ्चालनमा छन् । चिनियाँ लगानीको एउटा खेलौना कारखानामा काम गर्दै कामदार । यसबाट वर्षमा १२ लाख खेलौना उत्पादन हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!