राजेश हमाल ५५ वर्षमा प्रवेश

काठमाडौं, जेठ २६ । नायक राजेश हमाल आइतबारबाट ५४ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको चलचित्र ‘युगदेखि युगसम्म’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए ।

आफ्नै मामा स्वर्गीय दीपक रायमाझी निर्देशित यस फिल्मपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । ३ दशक लामो फिल्म यात्रामा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

‘हामी तीन भाइ’, ‘देउता’, ‘अल्लारे’, ‘अजम्बरी नाता’, ‘पालेदाई, ‘आशीर्वाद’ जस्ता फिल्म उनका हिट मानिन्छन् । धेरै निर्मातालाई धनी बनाएका उनका फिल्म समिक्षकको नजरमा भने उत्कृष्ट ठहरिन खासै सकेनन् । एक समय उनी नेपाली फिल्मका निर्विकल्प अभिनेता थिए ।

काँचको पर्दामा शहरियादेखि गाउँले युवकको भूमिकासम्म निर्वाहा गरेका उनलाई ‘विद्वान नायक’ को रुपमा पनि चित्रित गरिएको पाइन्छ । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एमए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् ।

नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए । सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरको दुनियाँमा प्रवेश गरेका उनले एक वर्षमा औषत १०–१२ वटा फिल्ममा समेत अभिनय गरेका थिए ।

सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए । एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका उनका लागि आफूले गरेका फिल्ममध्ये ‘देवता र ‘वसन्ती सबैभन्दा मनपर्ने फिल्म हुन् । उनलाई नेपाली चलचित्रका ‘महानायक’ भनिन्छ ।

राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका उनको लभ लाइफ पनि उतिक्कै रोमान्चित छ । करिश्मा मानन्धर, निरुता सिंहलगायत धेरै नायिकाहरुसँग उनको नाम जोडिएको थियो । तर, ५० वर्षको उमेरमा वर्ष २०१४ मा उनले मधु भट्टराईसँग विवाह गरे ।

अभिनेता हमाल अभिनीत पछिल्लो रिलिज फिल्म ‘शकुन्तला’ हो । यसमा उनले एक महिलाको भूमिका निर्वाहा गरेका थिए । यसपछि उनी पर्दाबाट टाढा छन् । अचेल उनी श्रीमति मधुसँग विभिन्न देशको भ्रमणमा निस्किरहेका हुन्छन् । केही वर्षदेखि उनी फिल्म निर्देशन गर्ने चर्चा छ ।

कमेन्ट गर्नुहोस्