अस्ट्रेलियाविरुद्ध भारतः यस्तो छ रेकर्डको नालीबेली

काठमाडौंः आइसीसी विश्वकप २०१९ को १४ औं खेलमा भारत र अस्ट्रेलिया भिड्दै छन् । यो दुई टीमको बाह्रौ विश्वकप भिडन्त हो । यसअघिका ११ खेलहरूमध्ये अस्ट्रेलियाले ८ मा र भारतले ३ वटामा जीत हासिल गरेको छ । यसरी हेर्दा अस्ट्रेलियाको पलडा निकै भारी देखिन्छ ।

दुवै टीमबीच हालसम्म भएका एकदिवसीय खेलाहरूको मात्रै कुरा गर्ने हो भनेपनि हालसम्म दुवै टीमबीच १३६ एकदिवसीय खेल भएका छन् जसमध्ये अस्ट्रेलियाले ७७ मा र भारतले ४९ मा जीत हासिल गरेको छ भने १० खेलको निर्णय आएको थिएन। दुवै टीमबीच पहिलो एकदिवसीय खेल १९८० मा खेलिएको थियो । यसरी हेर्दा पनि अस्ट्रेलिया नै बलियो देखिन्छ ।

एउटा अर्को तथ्यले भने भारतीय टोलीका समर्थकहरूलाई झस्काउन सक्छ त्यो के भने भारतले आठ वर्ष यता अस्ट्रेलियालाई विश्वकपमा हराउन सकेको छैन ।

तर सबै तथ्य अस्ट्रेलियाकै पक्षमा रहेका भने होइनन् । आइसीसी ऱ्याङ्किङकै कुरा गर्ने हो भने विद्यमान समयमा भारत इङ्ल्याण्डपछि दुई नम्बरमा रहेको छ भने अस्ट्रेलिया पाँचौं रहेको छ । यस विश्वकपमा अस्ट्रेलियाले हालसम्म दुईमध्ये दुवै खेल जितेको छ भने भारतले एक खेल मात्र खेलेर त्यसको नतिजा जीतमा टुंग्याएको छ ।

कसले जित्ला?

यो खेल लण्डनस्थित किङ्स्टन ओभल मैदानमा हुँदैछ । यो मैदान ठुलो स्कोरका लागि परिचित छ । आजको खेल जित्नका लागि पनि भारतले कमसे तीन सय भन्दा निकै बढी रन बनाउनु पर्नेछ भने अस्ट्रेलियाले भारतलाई ३०० देखि ३२५ बीचमा रोक्नुपर्ने जानकारहरू बताउँछन् । आजको खेल जित्न भारतले इतिहास बनाउनु पर्नेछ भने अस्ट्रेलियाले इतिहास दोहोर्याउनु पर्नेछ ।

कमेन्ट गर्नुहोस्