अनलाइनबाटै तरकारी किन्न पाइने

काठमाडौं, जेठ २७ । सहरिया व्यस्त जीवनशैलीका कारण प्रविधिमैत्री व्यवसाय लोकप्रिय बन्दै गइरहेको छ । अनलाइनमा अर्डर गरेपछि कपडा, जुत्तादेखि लिएर तरकारी र फलफूलसमेत आजकल घरैमा आइपुग्छ । बजारमा गएर व्यापारीसँग बार्गेनिङ गर्ने समय अधिकांश सहरवासीसँग छैन । त्यसले जो–कोही पनि सहज उपाय खोजिरहेका हुन्छन् । यस्ता उपभोक्तालाई लक्षित गरेर अनेक अनलाइन व्यवसाय खुलेका छन् । यो व्यावसायिक रूपमा फस्टाउँदै गइरहेको छ । यसैबीच अनलाइनमार्फत स्वास्थ्य, ताजा र अर्गानिक तरकारी उपलब्ध गराउने दाबीका साथ धेरै अनलाइन व्यवसाय सुरु भएका छन् । यस्ता व्यवसाय व्यस्तसँगै स्वास्थ्यप्रति सचेत सहरियाको रोजाइमा पर्ने गरेका छन् ।

यही भिडमा अहिले ‘ग्रिनग्रोथ’ नामक अनलाइन तरकारी व्यवसाय खुलेको छ । ग्रिनग्रोथले स्वस्थ र ताजा स्थानीय तरकारी सुपथ मूल्यमा उपलब्ध गराउने सोसल मिडिया प्रमोटर समिता कपाली बताउँछिन् । उनी भन्छिन्,‘ग्राहकलाई सुरक्षित खाना उपलब्ध गराउने हाम्रो लक्ष्य हो ।’ तरकारी कसरी उत्पादन भइरहेको रहेछ भनेर देखाउन फार्म स्टे ग्रिनग्रोथले सुरु गरेको छ । प्रमोटर कपाली थप्छिन्, ‘यो सर्कुलर इकोनोमीको प्रयास हो । त्यहाँबाट तरकारी यता मात्रै ल्याउँदैनौँ कि यहाँबाट मान्छे उता लान्छौँ । यसले किसानप्रति उपभोक्ताको विश्वास बढाउनुको साथै व्यवसायको प्रचार र उपभोक्तालाई सन्तुष्टि पनि मिल्छ ।’

ग्रिनग्रोथले स्थानीय बिउबिजन संकलन गरेर किसानसँग सहकार्य गर्दै सामूहिक खेती सुुरु गरेको छ । यसबाट जनताको जीवनशैली वातावरणमैत्री बनाउन सहज हुने संस्थापक सौरभ ढकालको बुझाइ छ । उनी भन्छन्, ‘हामी हाइब्रिड अर्थात् हाई इन्टेसिभ केमिकल र पानी प्रयोग हुने बिउबिजनलाई नकार्छौं । यस्ता बिउबिजन व्यापारिक उद्देश्यले तयार गरिने भएकाले यसले स्वास्थ्यलाई राम्रो गर्दैन । यो बुझेर हामी रैथाने बिउ मात्रै प्रयोग गर्छौं ।’ थप्छन्, ‘रैथाने बिउबाट उत्पादित तरकारीको स्वाद पनि फरक हुन्छ ।’

ग्रिनग्रोथले २२ वटा फार्मबाट तरकारी संकलन गरिरहेको छ । सिन्धुली, पातलेगाउँ ९धुलिखेल० र ललितपुरको डुकुछापमा ग्रिनग्रोथका फार्म छन् । ती अन्य किसानसँगको सहकार्यमा सञ्चालित छन् । सामूहिक खेती गर्नुको उद्देश्य किसानलाई उत्प्रेरित गर्नु मात्रै नभएर आफ्नै फाइदाका लागिसमेत रहेको सञ्चालक ढकाल बताउँछन् । उनी भन्छन्, ‘यसले तरकारी संकलन गर्न सहज हुनुका साथै केमिकलको प्रयोगलाई निरुत्साहित गर्छ । किनकि, एकजनाले केमिकल प्रयोग गर्ने अर्कोले नगर्ने हो भने, नगर्नेको बालीमा त्यसले असर गर्छ ।’ अनलाइनमा ग्रिनग्रोथलाई सब्सक्राइब गरेपछि चाहेको तरकारीको मागसहितको सामान्य फारम भर्नुपर्छ ।

अनलाइनमा ग्रिनग्रोथलाई सब्सक्राइब गरेपछि चाहेको तरकारीको मागसहितको सामान्य फारम भर्नुपर्छ । त्यसपछि ग्रिनग्रोथले फोनमार्फत माग भएको तरकारीको नाम र मात्रा माग गरेको टिपेर राख्छ । उपभोक्ताको मागपछि मात्रै खेतीमा त्यो मात्राको तरकारीको माग पठाउनुपर्ने हुँदा तीन दिनपछि मात्रै उपभोक्ताले पाउँछन् । हप्तामा तीन दिन अर्थात् सोमबार, बुधबार र शनिबार तरकारी पठाइन्छ ।

एकपटकमा एक हजार रुपैयाँभन्दा कमको तरकारी माग गर्नेले थप ५० रुपैयाँ तिर्नुपर्छ । योभन्दा माथि मूल्यको तरकारी लिनेले थप रुपैयाँ तिर्नुनपर्ने प्रमोटर कपाली बताउँछिन् । सहरिया उच्चवर्ग, कामकाजी तथा खानामा सचेत भएका मानिस आफ्ना प्रमुख ग्राहक रहेको प्रमोटर कपाली बताउँछिन् । उनी थप्छिन्, ‘व्यवसाय राम्रो चलिरहेको छ । ग्रिनग्रोथले हप्ताको कम्तीमा एक लाख २० हजार रुपैयाँको तरकारी बिक्री गर्ने गरेको छ ।’ ग्रिनग्रोथको तरकारी काठमाडौंको बजारभन्दा अलिकति महँगो र अर्गानिक बेच्ने पसलभन्दा सस्तो छ । त्यसैले, माग अत्यधिक रहेको, तर सोअनुसार पूर्ति गर्न नसकिएको सञ्चालक ढकालको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!