को हुन् म्यान्मारका बौद्धमार्गी बिन लादेन?

म्यान्मार धर्मनिरपेक्ष देश हो तर त्यहाँ ९० प्रतिशत बौद्ध जनसंख्या रहेकाले त्यहाँको संस्कृतिमा बौद्ध धर्मको स्पष्ट प्रभाव देखिन्छ ।

बुद्ध धर्मले शान्तिको शिक्षा दिन्छ तर म्यान्मारका एक बौद्ध भिक्षुलाई भने ‘बौद्धमार्गी बिनलादेन’को संज्ञा मिलेको छ ।

उनी मस्जिदलाई शत्रुको आधारस्थल र मुसलमानहरूलाई ‘बौलाहा कुकुर’ भन्दै मुसलमानहरूले बर्मेली महिला ‘चोरेको र बलात्कार गरेको’ एवम् ‘छिटोछिटो बालबालिका जन्माएको’ आरोप लगाउँछन्।

उनै बौद्ध विवादित भिक्षु अशिन विराडूबारे बीबीसी विश्वसेवामा प्रकाशित स्वमिथानन नटराजनले तयार पारेको सामग्री ।

वर्षौँसम्म म्यान्मारले विश्वकै सबैभन्दा विवादित बौद्धभिक्षु अशिन विराडुलाई संरक्षण गर्‍यो जसले गर्दा उनलाई कटु भाषा बोल्न प्रोत्साहन मिल्यो।

तर नोबल शान्ति पुरस्कार पाएकी आङ साङ सू चीविरुद्ध कडा अभिव्यक्ति दिएपछि अदालतले उनले सीमा नाघेको निष्कर्ष निकाल्दै राजद्रोहको कानुनअन्तर्गत पक्राउ गर्न आदेश दिएको छ।

कटु भाषणका कारण चर्चित भएका यी भिक्षु को हुन्?

सुरुका वर्ष

विराडु सन् २००१ मा मुसलमानका कार्यक्रमहरू बहिष्कार गर्ने अभियानको नेतृत्व गरेर पहिलो पटक चर्चामा आएका थिए।

उनलाई सन् २००३ मा पक्राउ गरी २५ वर्षको जेलसजाय दिइएको थियो तर क्षमादान पाएर सन् २०१० मा उनी जेलबाट बाहिर निस्किए।

जेलमा बसे पनि अल्पसङ्ख्यक मुसलमानविरुद्ध उनको रिस कम भने कम भएन।

उनका भाषणमा राष्ट्रियताको सशक्त बोलीसहित बौद्ध दृष्टान्तहरू समेटिएका हुन्छन्।

उनी पत्रकारहरूसँगको अन्तर्वार्तामा शान्त र स्पष्ट सुनिन्छन्। तर सार्वजनिक भेलाा बोल्दा निकै भावुक र जोसिना बन्छन्।

प्राय: उनको भाषणमा मुसलमानविरुद्ध घृणाको भाव झल्काउने शब्दहरू सुनिन्छ।

उनले मुसलमान पुरुषले बौद्ध महिलालाई विवाह गर्न रोक लगाउने कानुन बनाउन अभियानसमेत चलाएका थिए।

“सर्प सानो छ भनेर तपाईँ बेवास्ता गर्न सक्नुहुन्न। मुसलमानहरू त्यस्तै हुन्,” उनी भन्छन्।

प्रतिबन्ध

देशमा मुसलमानको जनसङ्ख्या बढिरहँदा त्यसले बौद्ध संस्कृति दबाउन लागेको भन्ने खालका सन्देश उनले सामाजिक सञ्जालमार्फत् फैलाउन सुरु गरे।

अन्तत: फेसबुकले उनलाई सन् २०१८ को जेनुअरीमा देशका अल्पसङ्ख्यक रोहिन्ज्या मुसलमानलाई लक्षित गरी घृणायुक्त सन्देश लेखेको भन्दै कालोसूचीमा राख्यो।

विराडुले आफू कालोसूचीमा परेपछि वैकल्पिक माध्यमहरू खोज्ने बताए।

“जब फेसबुकले मलाई बन्द गरायो, म युट्युबको भर परेँ। युट्युब त्यति धेरै मानिससम्म नपुग्ने भएपछि म राष्ट्रवादी कामलाई निरन्तरता दिन ट्विटरको प्रयोग गर्छु,” उनले भने।

उनले आफ्ना भिडिओहरू रुसी सामाजिक सञ्जाल र मिडिया साइट भीकेबाट पनि शेअर गर्छन्।

तर केवल फेसबुकले मात्रै उनलाई प्रतिबन्ध लगाएको होइन, बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको छिमेकी देश थाईल्यान्डले पनि गत एप्रिल महिनामा उनलाई प्रवचन दिन रोक लगायो।

गलत बुझाइ

म्यान्मारको जम्मा पाँच प्रतिशत जनसङ्ख्या रहेको मुसलमानको भोगेको पीडाले उनको लोकप्रियता प्रतिविम्बित गर्छ।

सन् २०१३ को जुलाई महिनामा टाइम म्यागजिनले “द फेस अफ बुद्धिस्ट टेरर” शीर्षकमा उनको फोटोसहित मुख्य समाचार प्रकाशित गरेको थियो।

“मलाई गलत बुझिएको छ र ममाथि आक्रमण गरिएको छ। मेरो बदनाम गर्नका लागि एउटा समूह छ जसले सञ्चारमाध्यममा मबारे लेख्न पैसा दिन्छ। अन्लाइन मिडियालाई मुस्लिमहरूले नियन्त्रणमा राखेका छन्,” उनले सन् २०१३ मा बीबीसीसँग भनेका थिए।

सन् २०१५ को एउटा वृत्तचित्रमा उनलाई “द बुद्धिस्ट बिन लादेन” भनि व्याख्या गरिएको थियो जुन नामलाई केही पश्चिमा सञ्चारमाध्यमले व्यापक रूपमा प्रयोग गरेका थिए। त्यो तुलनालाई उनी अनुचित मान्छन्।

उनले आफू हिंसालाई घृणा गर्ने बताए।

“मलाई त रुखो गरी प्रतिक्रिया जनाउन पनि मन लाग्दैन,” विराडुले भने।

संयुक्त राष्ट्रसङ्घ विवाद

एकाउन्न वर्षीय विराडु धेरैजसो आफ्नै कारणले विवादमा तानिएका छन्।

सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा रहेका अल्पसङ्ख्यक मुसलमानको अवस्थाको अनुसन्धान गर्न विशेष दूतका रूपमा याङ्ही लीलाई पठायो।

विराडुले यी दक्षिण कोरियाली कूटनीतिज्ञलाई ‘वेश्या’ जस्ता अशोभनीय शब्दहरू प्रयोग गरेका थिए।

गत वर्ष सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले रखाइन राज्यमा भएको नरसंहारका लागि म्यान्मारका सेनाका उच्च अधिकारीहरूमाथि छानबिन हुनुपर्ने बताएको थियो।

उक्त प्रतिवेदनको आधारमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले प्रारम्भिक छानबिन थालेको थियो।

म्यान्मारको सरकारले भने संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अस्वीकार गर्‍यो र विराडुले त्यसप्रतिको आक्रमणको नेतृत्व गरे।

“अन्तर्राष्ट्रिय फौजदारी अदालत यहाँ आएको दिन… त्यही दिन हो जुन दिन विराडुले बन्दुक समात्छ,” उनले गत वर्षको अक्टोबर महिनामा आफ्ना समर्थकलाई आश्वस्त पारे।

रोहिन्ज्या सङ्कट

सन् २०१२ मा सुरु भएको मुसलमानविरोधी दङ्गा उनका समर्थकहरूले गराएको दोष लगाइन्छ। उक्त दङ्गाका कारण सात लाख मुसलमानहरू म्यान्मार छोडेर छिमेकी देश बाङ्ग्लादेश भाग्न बाध्य भए।

सन् २०१७ मा गार्डिएन पत्रिकामा दिएको अन्तर्वार्तामा उनले भने, “आङ साङ सू चीलाई बङ्गालीहरूलाई सहयोग गर्न मन लाग्छ, तर म उनलाई रोक्छु।”

बर्मेली राष्ट्रवादीहरू रोहिन्ज्या मुसलमानहरूलाई बङ्गाली भन्दै उनीहरूलाई बाहिरियाको रूपमा चित्रित गर्छन्।

उनले सत्तारूढ न्याश्नल लीग फर डेमोक्रेसीले गोप्य रूपमा मुसलमानको मुद्दालाई समर्थन गरेको आरोप लगाए।

बौद्ध धर्म

म्यान्मार धर्म निरपेक्ष देश हो। तर त्यहाँको समाज बलियो रूपमा ९० प्रतिशत नागरिकले मान्ने बौद्ध धर्मबाट प्रभावित छ।

राज्यबाट शताब्दियौँसम्म संरक्षण पाएका विहारहरू ब्रिटिशको औपनिवेशिक कालका बेला १९ औँ शताब्दीमा मात्रै स्वतन्त्र भए।

देशको उर्वर क्षेत्रमा भव्य विहारहरू छन् र कृषियोग्य भूमिको ठूलो क्षेत्र बिहारहरूको स्वामित्वमा छ।

देशमा सैन्य शासनको लामो इतिहास छ र त्यहाँ झन्डै चार लाख सैनिक छन्। भिक्षुको सङ्ख्या पाँच लाख छ। उनीहरू उच्च सामाजिक हैसियत रुचाउँछन् र त्यो सर्वस्वीकार्य छ।

प्रतिबन्धित संस्था

सुरुमा विथाडु नाइनसिक्सनाइन नामक संस्थामा आबद्ध थिए।

उक्त संस्थाका समर्थकहरूका अनुसार पहिलो अङ्क नाइनले बुद्धप्रतिको विशेष श्रद्धा जनाउँछ, सिक्सले बौद्ध शिक्षाका अक्षरहरू जनाउँछ र अन्तिम नाइनले भिक्षुहरूको समूह सङ्‍घको गुणको प्रतिनिधित्व गर्छ।

तर यथार्थमा नाइनसिक्सनाइन समूह मुसलमानविरोधी अभियानका लागि चिनिन्छ।

उनले राज्यबाट समर्थन पाए र सन् २०१३ मा म्यान्मारका राष्ट्रपति थेइन सेनले ‘बुद्धका छोरा’ भन्दै विराडु र मुसलमानविरोधी आन्दोलनको समर्थन गरे।

सन् २०१४ मा विराडु अर्को संस्था म ब थु भनिने पेट्रोएटिक एसोसिएशन अफ बर्माका प्रमुख बने। सन् २०१७ मा प्रतिबन्धित हुनुअघि उक्त संस्था देशभरि तीव्र गतिमा विस्तार भयो।

तर प्रतिबन्ध लागे पनि पुरानो राजधानी माण्डलेस्थित म सोइ यिन बिहारबाट उनले निर्विघ्न संस्थाको कामलाई निरन्तरता दिइरहे।

त्यहाँ उनले मुसलमानको हिंसाका पीडितहरूको स्थायी फोटो प्रदर्शनीमा राखेका छन्।

सन् २०१३ मा बीबीसीलाई दिएको एउटा लामो अन्तर्वार्तामा गेरु रङ्गको वस्त्रमा पहिरिएका उनमा आफ्ना कामबारे कुनै पश्चात्ताप नै नभए जस्तो देखिन्थे।

“मुसलमानहरू कमजोर हुँदा मात्रै राम्रो व्यवहार गर्छन्। बलियो भएका बेला ब्वाँसो वा स्यालको बथानजस्ता हुन्छन् र अरूको सिकार गर्न खोज्छन्,” उनले भने।

उनले भनेका थिए, “आफूबाहेक मुसलमानहरूले अरूलाई मानवको रूपमा गन्दैनन्। उनीहरू इसाई र हिन्दूलाई पनि आक्रमण गर्छन्। खासमा उनीहरू सबैलाई आक्रमण गर्छन्। यदि तपाईँ यो विश्वास गर्नुहुन्न भने आफ्नो परमाणुप्रविधि तालिबानलाई दिनुहोस्, म वाचा गर्छु तपाईँको देश छिट्टै लुप्त हुन्छ।”

बृहद् प्रभाव

विराडु हवाई यात्रा गरिरहन्छन्। उनले श्रीलङ्काको बोदुबाला सेना समूहसँग निकट सम्बन्ध स्थापित गरेका छन्।

श्रीलङ्काका भिक्षुहरूले नेतृत्व गरेको उक्त संस्थाले पनि बौद्धधर्मको थेरावादको अनुसरण गर्छ।

बोदुबाला सेनाले पनि मुसलमानविरुद्ध हिंसात्मक अभियानका कारण कुख्याति कमाएको छ।

“आज बौद्धधर्म खतरामा छ। यदि खतराको घण्टी बजिरहेको सुन्यौँ भने हामीले दृढतापूर्व एकअर्काको हात समाउनुपर्छ,” सन् २०१४ मा कोलम्बोमा भएको भेलामा उनले भने।

तर उनको देशमा भने परम्परागत विहारमा उनको लोकप्रियता घटेन।

सरकारले समर्थन गरेको सङ्घ परिषद्ले सन् २०१७ मा उनलाई प्रवचन दिन पनि रोक लगायो।

तर देशकी चर्चित नेत्रीविरुद्ध बोलेपछि भने उनी समस्यामा परे।

सू चीमाथि आक्रमण

“उनी कुनै फेशन गर्ने महिलाले जसरी लुगा लगाउँछिन्, शृङ्गार गर्छिन् र एकदमै स्टाइल निकालिएको लुगा र अग्लो कुर्कुच्चो भएको जुत्ता लगाउँछिन्,” गत एप्रिलमा उनले एउटा उत्साहित भेलामा आङ साङ सूचीबारे यस्तो टिप्पणी गरे।

मे महिनामा गरेको अर्को भाषणमा उनले सरकारका एक सदस्यमाथि ‘विदेशीसँग सुतेको’ आरोप लगाए।

सू चीको विवाह एक ब्रिटिश प्राज्ञ माइकल अरिससँग भएको थियो। अरिसको सन् १९९९ मा सू ची घरमै नजरबन्दमा रहेका बेला क्यान्सर रोगका कारण निधन भएको थियो।

“विराडु एकदमै चर्चित भिक्षु हुन् र ठूलो भिडले उनलाई पछ्याउँछ। उनका समर्थकहरू उनले मुसलमानमाथि आक्रमण गर्दा खुसी हुन्छन्। तर उनले आङ साङ सूचीलाई निसाना बनाएपछि उनको लोकप्रियता खस्कियो र उनी आलोचित बने,” याङ्गुन स्कूल अफ पोलिटिकट साइन्सका सहसंस्थापक मियाट थुले भनिन्।

अक्स्फर्डमा पढेकी आङ साङ सू ची “द लेडी” भनेर चिनिन्छिन्। उनी कुनै औपचारिक पदमा नरहे पनि शक्तिशाली छिन्।

उनको आधिकारिक पद ‘स्टेट काउन्सिलर’ हो। राष्ट्रपति उ विन मिन उनका निकट सहयोगी हुन्।

म्यान्मारको संविधानअनुसार उनका दुई सन्तान विदेशी बाबुबाट जन्मिएका कारण उनी देशको राष्ट्रपति हुन पाउँदिनन्।

गैरसैनिकको सरकारले सर्वोच्च पदका लागि रोक लगाउने त्यो प्रावधान हटाउन खोजेको छ। तर विराडुले भने प्रस्तावित संवैधानिक परिवर्तनको विपक्षमा बोलेका छन्।

“मानिसहरूमा आङ साङ सू चीप्रति अत्यन्त धेरै सम्मान छ। विराडुका समर्थक रहेका थुप्रै कट्टरपन्थी भिक्षुलाई पनि सू चीविरुद्ध जान गाह्रो हुनसक्छ,” मियाट थुले भनिन्।

“विराडु यदि संवैधानिक परिवर्तनका मात्रै आलोचक भएका भए सरकारलाई उनीविरुद्ध कारबाही चाल्न कठिन हुने थियो। तर उनले सू चीविरुद्ध बोलेपछि आम मानिसमाझ त्यसको राम्रो सन्देश गएको छैन।”

“उनले सरकारलाई आफूविरुद्ध कारबाही अघि बढाउन सजिलो बनाइदिए।”

तर विराडु अडिग छन्।

“यदि उनीहरू मलाई पक्राउ गर्न चाहन्छन् भने त्यसो गर्न सक्छन्,” उनले एउटा वेबसाइटलाई भनेका छन्।

साभार: बीबीसी विश्व सेवा

कमेन्ट गर्नुहोस्

error: Content is protected !!