प्रचण्ड भन्छन्, लोकसेवाको विज्ञापनबारे प्रधानमन्त्री आएपछि निर्णय गर्छौं

काठमाडौं, जेठ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय लिइने बताएका छन् ।

आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले समितिको निर्देशनलाई अध्ययन गरेर सकारात्मक निष्कर्षमा पुग्ने बताए । प्रचण्डले भने, ‘समितिले एक ढंगले निर्देशन गर्‍यो । सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्रीजी आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं ।’

यस्तै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्षले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताए । उनले भने, ‘मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।’ सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले थपे, ‘जति गृहकार्य भएर विधेयक आउनु पथ्र्यो, केही कमी रहेको देखियो । पक्कै पनि सरकार पार्टी यसमा सतर्क भएको छ ।’ आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने प्रचण्डले बताए ।

सरकारको नेतृत्वको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा यो विषय नयाँ नभएको प्रतिक्रिया उनले दिए । प्रचण्डले भने, ‘मिडियामा बढी नै नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ । यो कुरा पुरानै हो । हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौं त्यहीअनुसार अघि बढ्छौँ ।”

अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा टुङ्गो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुङ्गो लाग्ने बताए ।

कमेन्ट गर्नुहोस्