वार्नरको शतकमा अष्ट्रेलियाद्वारा पाकिस्तानलाई विशाल लक्ष्य

काठमाडौं, जेठ २९ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई ३०८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन बनायो ।

उसका लागि ओपनर डेभिड वार्नरले १०७ रन बनाए । उनले ११ चौका र एक छक्काको मद्दतमा १११ बलमा १०७ रन बनाएका हुन् । यस्तै, कप्तान आरोन फिन्चले ८४ बलमा ८२ रनको योगदान दिए ।

पहिलो विकेटका लागि उनी र वार्नरबीच १४६ रनको साझेदारी भएको थियो । यस्तै, शन र्मास २३, ग्लेन म्याक्सवेल, एलेक्स केरी २०–२०, उश्मान ख्वाजा १८, स्टिभ स्मिथ १० रनमा आउट भए ।

पाकिस्तानका मोहम्मद आमिरले घातक बलिङ गरे । उनले १० ओभरमा २ मेडनसहित ३० रन दिएर महत्वपूर्ण ५ विकेट लिए । यस्तै शाहिन शाह अफ्रिदीले २, हसन अलि, वाहब रियाज र मोहम्मद अफिजले एक–एक विकेट हात पारे । पाकिस्तानले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्