वेस्ट इन्डिज: विश्व क्रिकेटको एक मात्र बहुराष्ट्रिय टीम

क्रिकेटमा रुची राख्ने धेरैलाई वेस्टइन्डिज टीमको बारेमा थाहा हुने गर्दछ । यदि विश्व क्रिकेटका महान खेलाडीहरूको नाम लिने हो भने भिव रिचार्ड्स, ब्रायन लारा, शिवनारायण चन्द्रपाल, क्लाइभ लोयड, क्रिस गेल, कोर्टने वेल्स जस्ता थुप्रै नामहरू आउँछन् ।

तर दुई पटकसम्म विश्व विजेता बनिसकेको यस टीमले कुनै एक मात्र देशको प्रतिनिधित्व गर्दैन बरू यसमा थुप्रै ससाना स्वतन्त्र र उपनिवेश देशहरूको सहभागिता हुने गर्दछ भन्ने कुरा भने निकै कामलाई मात्र थाहा होला ।

विश्व क्रिकेटमा सहभागी हुने सबै जसो टीमहरूले देशको प्रतिनिधित्व गर्ने गर्दछन् तर वेस्ट इन्डिजका हकमा भने त्यसो छैन । वेस्टइन्डिज भन्नाले उत्तर एटलान्टिक महासागर र क्यारेबियन समुद्रका टापुहरूलाई जनाउँछ ।

कसरी रह्यो वेस्टइन्डिज नाम

यस क्षेत्रको नाम वेस्टइन्डिज रहनुका पछाडि पनि रोचक कथा रहेको छ । पन्ध्रौँ शताव्दीमा स्पेनी सम्राटको आज्ञाले भारतको खोजीमा निस्केका क्रिस्टोफर कोलम्बस संयोगवश नयाँ र थाहै नभएको देशमा पुग्छन् । खासमा भारत पुग्न उनले अफ्रिकाको फन्को मार्नु पर्ने हुन्थ्यो ।

यसका लागि उनले उत्तर एटलान्टिक महासागर दक्षिण एटलान्टिक महासागर हुँदै हिन्द महासागरबाट उत्तर आउनु पर्थ्यो । किन भने उक्त समय स्वेज नहर बनिनसकेकाले यो नै सबै भन्दा सहज समुद्री बाटो थियो । तर यात्रा उनले भने जस्तो भएन ।

त्यो बेला हावाको सहायताले उनका जहाजहरूलाई पूर्वको साटो पश्चिम हुत्याइदियो र उनी नयाँ ठाउँमा पुगे । उनले पाइला टेकेको टापू बहामास थियो भनिन्छ र त्यहाँबाट उनी दक्षिण अमेरिका हुँदै अमेरिकी महादेशहरूमा छिरे ।

भारत युरोपबाट पूर्वमा पर्दछ । कोलम्बसले आफूले भेटेको नयाँ ठाउँलाई पनि इन्डिया नै नाम दिए र कालान्तरमा त्यो क्षेत्र वेस्टइन्डिज भनेर चिनिन थाल्यो ।

हाल वेस्टइन्डिज क्षेत्रमा पर्ने देशहरू स्पेनिश र अंग्रेजी भाषाका आधारमा छुट्टिएका छन् । हाल अंग्रेजी बोलिने देशहरू विगतमा बेलायतका उपनिवेश रहेका थिए । उनीहरू नै वर्तमानमा वेस्टइन्डिज क्रिकेट टीमका सदस्य हुने गर्दछन् ।

वेस्टइन्डिजको क्रिकेट नियामक संस्था क्रिकेट वेस्टइन्डिज छ वटा क्रिकेट संघहरू मिलेर बनेको छ जसमा धरै जसो एक या बढी स्वतन्त्र देशहरूमा सक्रिय रहेका छन् ।

यिनमा बारबाडोस, जमैका, गुयेना, त्रिनिडाड एण्ड टोबागो जस्ता स्वतन्त्र देशहरूसँग आफ्नै क्रिकेट संघ रहेको छ जो क्रिकेट वेस्टइन्डिजको सदस्य हुने गर्दछ । त्यस्तै अन्य देशहरूसँग सामूहिक क्रिकेट संघ रहेका छन् । यी सबै टीमहरूबाट छनौट भएर वेस्टइन्डिजको टीम बनेको छ ।

झण्डा र राष्ट्रिय गान

आइसीसीले आयोजना गरेका प्रतियोगिता सुरु हुनुभन्दा पहिले प्रतिस्पर्धी टीमका झण्डा फहराउने र राष्ट्रिय गान गाइने चलन रहेको छ तर वेस्टइन्डिजको टीमले भने एकभन्दा बढी देशहरूलाई प्रतिनिधित्व गर्ने भएकाले यसको लागि भने फरक व्यवस्था छ ।

वेस्टइन्डिजको क्रिकेट टीमलाई प्रतिनिधित्व गर्ने बेग्लै झण्डा निर्माण गरिएको छ । यो झन्डामा कलेजी रंगको पृष्ठभूमिमा एउटा संकेत चिन्ह रहेको हुन्छ जसभित्र एउटा क्याबेज पामको रुख र क्रिकेट स्टम्पको चित्र कोरिएको हुन्छ ।

त्यस्तै राष्ट्रगानको सट्टामा वेस्टइन्डिजको क्रिकेट टीमले डेभिड रडरद्वारा रचिएको ‘ऱ्याली राउण्ड द वेस्टइन्डिज’ भन्ने गीत गाइने गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!