जाखोर तालमा गुरुयोजना अनुसार काम सुरु

धनगढी, असार ४ । धनगढी उपमहानगरपालिका ७ मा रहेको जाखोर तालमा गुरु योजनाअनुसारको पूर्वाधार निर्माण कार्य सुरु भएको छ ।

धार्मिक तथा पर्यटकीय स्थल जाखोर ताल क्षेत्रको विकासका लागि धनगढी उप–महानगरपालिको गुरुयोजना परामर्शदाता रेडियो प्रालि काठमाडौंको तयार गरेर गत चैतमा हस्तान्तरण गरेको थियो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले गुरुयोजना अनुसार निर्माण पूर्वाधार निर्माण कार्य सुरु भइसकेको बताए । नगर प्रमुख वडले जाखोर तालमा निर्माण हुने सबै पूर्वाधार गुरुयोजनामा टेकेर निर्माण हुने बताए । जाखोर तालको पूर्वाधार निर्माणका लागि झण्डै साढे ५ करोडको टेन्डरमार्फत काम सुरु भएको उप–महानगरपालिकाका डिभिजन इञ्जिनियर दिजराज भट्टले बताए ।

गुरुयोजना अनुसार निर्माण गरिने सबै संरचना तयार हुन करिब २४ करोड रुपैयाँ आवश्यक पर्ने इञ्जिनियर भट्टले जानकारी दिए । अहिले तालको वरिपरिको ट्रयाक निर्माण भैरहेको छ ।
गुरुयोजनामा जाखोर ताल परिसरमा मन्दिर नजिक धर्मशाला, चिल्ड्रेन पार्क, पार्किङ स्थल, संस्कृति देखाउन सङ्ग्रहालय प्रस्ताव गरिएको छ ।

यसैगरी, दुईवटा प्रवेशद्वार, जाखोर र मुरफट्टी तालको बीचमा पिकनिक स्थल, मेला स्थल प्रस्ताव गरिएको छ । जाखोर तालको साँघुरो ठाउँमा झोलुङ्गे पुल, तालको उत्तरतर्फ शिवको मूर्ति परिकल्पना गरिएको छ । यसैगरी, जाखोर ताल, मुरफट्टा र मुरफट्टी ताललाई जोडेर पदमार्ग बनाउने, त्यसको छेउमा साइकल ट्रयाक पनि रहने जनाइएको छ । पदमार्गको एक ठाउँमा भाले कुखुराको मात्रै मूर्ति रहने छ ।

जाखोर र मुरफट्टा तालमा पर्यटकका लागि डुङ्गा सञ्चालन गर्न सक्ने जनाइएको छ । यसैगरी, मुरफट्टी तालमा गोही र कछुवा पाल्न सकिने बताइएको छ । प्रस्ताव गरिएको १४ वटा संरचना निर्माणका लागि भ्याटबाहेक १५ करोड ७७ लाख चार हजार ८६१ रुपैयाँ बजेट आवश्यक हुने परामर्शदाता किशोर थापाले बताए । उनका अनुसार धर्मशाला र संग्रहालय निर्माणका लागि थप दुई करोड रुपैयाँ आवश्यक पर्न सक्छ । सबै गरेर करिब २४ करोड रुपैयाँ आवश्यक पर्ने छ ।

धनगढी बजारबाट ४.२ किलोमिटर टाढा रहेको जाखोर ताल आसपासमा १४९ हेक्टर क्षेत्रफलमा सर्भे गरिएको छ । आन्तरिक पर्यकटको जमघट भइरहने जाखोर तालको कुल क्षेत्रफल १२.४५ हेक्टर, मुरफट्टा ताल २.५१ हेक्टर र मुरफट्टी तालको क्षेत्रफल १.३२ हेक्टर रहेको छ । जैविक विविधतायुक्त भएकाले जाखोर ताल परिसरमा आन्तरिक पर्यटकहरुको भीडभाड हुने गर्दछ । बिदाको दिनमा पिकनिक खानेदेखि घुम्ने युवायुवती, कर्मचारी पनि जाखोर तालमा पुग्ने गरेका छन् । दिनमै सयको हाराहारीमा मान्छेहरु जाखोर तालमा घुम्न आउने गरेको धनगढी उपमहानगरपालिका वडा नं.७ का अध्यक्ष सीताराम राना बताउँछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!