प्रचण्ड भन्छन्, ‘ढिलोचाँडो विप्लव जी हाम्रै पार्टीमा आउनुहुन्छ’

चितवन, असार १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिएका छन् ।

भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा काङ्ग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले भने, ‘हामीले नचाहे पनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ, प्रधानमन्त्री केपी ओली, शेरबहादुरजी र मेरोबीचमा लगातार छलफल भइरहेको छ ।’ अध्यक्ष प्रचण्डले थपे, ‘हामी एक्लै हिड्न सक्ने अवस्थामा छैनौँ, शान्ति पक्रियामा मिलेर गर्यौ, संविधान मिलेर ल्यायौँ, हामी एउटै डुंगामा यसरी चढेका छौँ, त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनुबाहेक केही होइन ।’

अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द समूहको नेकपाका नेता ढिलो चाँडो आफ्नै पार्टीमा आउनेमा विश्वास व्यक्त गर्दै भने, ‘जसरी साथी फर्किरहनु भएको छ त्यसरी नै विप्लवजी आउनु हुन्छ ।’ शान्ति सम्झौतापछि दुई वर्षसम्म चन्द आफ्नो सचिवालयको मुख्य सचिवको रुपमा रहेर काम गरेको स्मरण गर्दै उनले चन्दमा केही असन्तुष्टि भने त्यतिबेला पनि देखिएको बताए ।

उनले पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रंगशालाको काम रोकिन नदिने विश्वास दिलाए । ‘महानगरलाई नमूना बनाउन सुझाव दिँदै भ्रष्टाचाररहित महानगर बनाउनुपर्छ’, भने । यहाँको विकास समग्र देशसँग जोडिने भएकाले सोहिअनुसार काम गर्न उनको आग्रह थियो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घ, प्रदेश र स्थानीय तीनै तहको समन्वय हुन सके समृद्धि हासिल गर्न सहज हुने बताए । कार्यक्रममा सङ्घीय सांसद कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीलगायतले महानगरेको विकासमा सबैलाई एक हुन आग्रह गर्नुभयो ।

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन् । महानगरले ल्याएको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि आर्थिक वर्ष २०७६÷७७ का लागि रू तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार बजेट विनियोजन गरेको छ । कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् । महानगरमा उत्कृष्ठ काम गर्ने वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!