विश्वकप फुटबलः अमेरिका फाइनलमा प्रवेश

एजेन्सी । अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा अमरिकाले इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गरेका थिए । अमेरिकाले १०औं मिनेटमा क्रिस्टियन प्रेसको गोलबाट अग्रता लिएको थियो । तर, अमेरिकाको अग्रता लामो समय टिकेन । १९औं मिनेटमा इङ्ल्यान्डकी इलेन ह्वाइटले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । उनले बेथानी मिडको पासमा गोल गरेकी थिइन् । ३१औं मिनेटमा एलेक्स मोगार्नले गोल गर्दै अमेरिकालाई २–१ को अग्रता दिलाइन् ।

दोस्रो हाफमा पनि दुवै टोलीले लगातार गोल गर्ने मौका बनाए पनि गोल हुन सकेन । इङ्ल्यान्डले ६७औं मिनेटमा गरेको गोललाई भिएआरको सहायतामा अफसाइड दिईएको थियो । त्यसपछि इङ्ल्यान्डले ८४औं मिनेटमा पेनाल्टीको अवसर खेर फालेको थियो । इङ्ल्यान्डकी स्टेफनी होउटन पेनाल्टीमा चुकिन् । उनको प्रहारलाई अमेरिकी गोलरक्षक अलयासा नेइहरले बचाएकी थिईन् ।

अमेरिकाकी विकीले डिबक्स भित्र विपक्षी खेलाडीलाई लडाएपछि इङ्ल्यान्डले पेनाल्टी पाएको थियो । खेल सकिन पाँच मिनेट बाँकी छँदा मिली ब्राइट रातो कार्ड खादै बाहिरिएपछि इङ्ल्यान्ड १० खेलाडीमा समेटियो । त्यसपछि कमजोर बनेको इङ्ल्यान्डमाथि हावी भएको अमेरिका फाइनलमा पुग्न सफल भयो । उपाधिका लागि अमेरिकाले नेदरल्यान्डस् र स्वीडेनबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहिबार बिहान हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!