पहिरोले सडक अवरुद्ध हुँदा २८ लाख रुपैयाँ बराबरको गोलभेंडा बिग्रियो

पाँचथर, साउन ५ । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पहिराले राजमार्ग बन्द हुँदा २८ लाख रुपैयाँबराबरको गोलभेंडा बिग्रिएको छ ।

मेची राजमार्गको फिदिम इलाम सडकखण्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा पर्ने पाङ्ग्रेभीरमा पहिरो गएपछि राजमार्ग बन्द हुँदा उत्पादित गोलभेंडा बजारसम्म पुर्‍याउन नसकिएपछि बिग्रिएको हो । पाँचथरको नागी, अमरपुर र थर्पुदेखि तराई लैजान २२ वटा पिकअपमा राखिएको गोलभेंडा कुहिएर नष्ट भएको ब्यापारी नवराज उप्रतीले बताए । बुधबार लोड भएका २२ वटा पिकअप ५ दिनदेखि बाटैमा रोकिएका छन् । कुहिएको गोलभेंडा सडकमै फालिएको छ ।

यस्तै झापाबाट पाँचथर र ताप्लेजुङसम्म फलफूल लिएर आएका गाडी रोकिएपछि आँप र केरा बिग्रिने अवस्थामा पुगेकोे फिदिमका फलफूल ब्यापारी बताउँछन् । यसैबीच फिदिममा पेट्रोलियम पदार्थको समेत अभाव भएको छ ।

स्टक राखिएको पेट्रोल सकिएको र डिजेलसमेत सकिन लागेका कारण समस्या भएको किरण सप्लायर्स फिदिमका प्रोपाइटर धनबहादुर राईले बताए । राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटो खोल्ने प्रयास भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!