विप्लवका उपत्यका व्युरो इन्चार्ज माइला लामा जेल चलान

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका व्युरो इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई कारागार चलान गरेको छ ।

ललितपुर जिल्ला अदालतमा मंगलवार भएको थुनछेकको बहसपछि अदालतले थप अनुसन्धान आवश्यक रहेको भन्दै पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

४ नम्बर ईजलासमा भएको बहस पैरवी खाजा समय भन्दा अगाडि नै सकिएको थियो तर आदेश भने राति करिब पौने ८ बजे मात्रै आएको थियो ।

बन्दीका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता खिमानन्द अधिकारी, अधिवक्ता नारायण प्रसाद तिवारीलगायतले बहस गरेका थिए ।

बहसपैरवी पछि न्यायधिस मदनकुमार धामिको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतको आदेश लगत्तै नेता लामालाई नख्खु कारागार पठाइएको छ ।

इन्चार्ज लामामाथि बम विस्फोट गराई ज्यानमार्ने उद्योग, कर्तव्य ज्यान, संगठित अपराध र राज्यविरुद्धको तथा हातहतियार खरखजना सम्बन्धि दुई वटा मुद्धा अभियोग लगाईएको छ ।

शनिवार राति साढे १२ बजे काठमाडौंको काडाँकारीबाट गिरफ्तार नेता लामालाई ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विस्फोटको घटनासँग जोडेर मुद्धा चलाईएको छ ।

आइतवार र सोमवार दुई दिन बयान लिएपछि आज थुनछेकको बहस भएको थियो । बहसका क्रममा नेता लामाले इन्कारी बयान दिएका थिए । नेता लामाले नख्खु विस्टोटको घटनामा आफ्नो कुनै संलग्नता नभएको र सो समयमा आफु उपत्यकामा नै नरहेको बताएका थिए ।

तत्कालिन दसवर्षे जनयुद्धको थालनी हुनुभन्दा केही वर्ष अघिदेखि नै त्यसको तयारी, प्रचारप्रसार, जनचेतना र संगठन निर्माण–सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निभाएका माइला लामा जनयुद्धको थालनीदेखि ‘अन्त्य’ सम्म विभिन्न भूमिकामा रहेर सक्रिय रहेका छन् । जनयुद्धकै क्रममा उहाँको आँखाको दृष्टि र कानको श्रवणशक्ति गुमेको थियो ।

जनवादी कलाकार समेत रहेका लामा पहिलो संविधासभा निर्वाचनमा काठमाडौं– ९ मा चुनाव भिडेर झिनो मतान्तरले पराजित भएका थिए ।
कार्यकर्तामाझ अत्यन्तै कुशल, भरोसापूर्ण र अभिभावकत्वपूर्ण नेतृत्वका रुपमा स्थापित नेता लामा दोस्रो संविधानसभा निर्वाचनमा भने निर्वाचन बहिस्कारमा सक्रिय बने ।

source: Postpati

कमेन्ट गर्नुहोस्

error: Content is protected !!