सनातन धर्म के हो ? यसबारे केही कुरा

‘सत्यम शिवम सुन्दरम !’ यो पथ सनातन हो। समस्त देवता तथा मनुष्यहरू यही मार्गबाट पैदा भएका हुन् र उनीहरूले यसै मार्गबाट प्रगति गरेका हुन्। हे मनुष्यहरू तपाईंहरू स्वयं उत्पन्न हुने आधाररूपा आफ्नी मातालाई विनष्ट नगर्नुहोस्।’- (ऋग्वेद-३-१८-१)

सनातनको अर्थ हो जुन शाश्वत छ र सधैंका सत्य छ। जुन कुराहरूको शाश्वत महत्व छ त्यही सनातन हो भनिएको छ। जस्तै सत्य सनातन छ। ईश्वर नै सत्य हो, आत्मा नै सत्य हो, मोक्ष नै सत्य हो र यस सत्यको मार्गलाई देखाउने धर्म नै सनातन धर्म पनि सत्य हो। यो यस्तो सत्य हो जुन अनादि कालबाट चल्दै आइरहेको छ र यसको कहिल्यै पनि अन्त हुँदैन त्यही नै सनातन वा शाश्वत हो। जसको न प्रारम्भ छ र जसको न अन्त छ त्यस सत्यलाई नै सनातन भनिन्छ। यही सनातन धर्मको सत्य हो।

त्यसैले वैदिक वा हिन्दू धर्मलाई सनातन धर्म भनिन्छ किनभने, यही एक मात्र धर्म हो जुन ईश्वर, आत्मा र मोक्षलाई तत्व र ध्यानबाट जान्ने मार्ग वा बाटो देखाउँछ। मोक्षको अवधारणा वा कन्सेप्ट यसै धर्मको देन हो। एकनिष्ठता, ध्यान, मौन र तप सहित यम-नियमको अभ्यास र जागरण नै मोक्षका मार्ग हुन् अन्य कुनै मोक्षका मार्ग छैन। मोक्षबाट नै आत्मज्ञान र ईश्वरको ज्ञान हुनेछ। यही सनातन धर्मको सत्य हो।

सनातन धर्मका मूल तत्व सत्य, अहिंसा, दया, क्षमा, दान, जप, तप, यम-नियम आदि हुन् जसको शाश्वत महत्व छ। अन्य प्रमुख धर्महरूको उदय पूर्व नै वेदमा यी सिद्धान्तहरूको प्रतिपादन भइसकेको थियो।

।।ॐ।।असतो मा सदगमय, तमसो मा ज्योर्तिगमय, मृत्योर्मा अमृतं गमय।।- वृहदारण्य उपनिषद

भावार्थ : अर्थात हे ईश्वर मलाई असत्यबाट सत्यतिर लैजानुहोस्, अन्धकारबाट प्रकाशतिर लैजानुहोस्। मृत्युबाट अमरतातिर लेजानुहोस्।

जुन मानिसहरू त्यस परम तत्व परब्रह्म परमेश्वरलाई मान्दैनन् वास्तवमा तिनीहरू असत्यको दलदलमा भासिन्छन्। तिनीहरू असत्यबाट मृत्युकालमा अनन्त अन्धकारमा जाकिन्छन्। उनीहरूको जीवनको गाथा भ्रम र भटकावको गाथा सिद्ध हुनेछ। उनीहरू कहिल्यै अमृत्व वा अमरत्व प्राप्त गर्न सक्दैनन्। मृत्यु आउनुभन्दा पहिले नै सनातन धर्मको सत्य मार्गमा आउनुमा नै मानव मात्रको भलाइ छ। अन्यथा अनन्त योनीहरूमा भौंतारिएपछि प्रलयकालको अन्धकारमा परिरहनु पर्दछ।

।।ॐ।। पूर्णमद: पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।।- ईश उपनिषद

भावार्थ : सत्य दुर्इ धातुहरू मिलेर बनेको छ सत् र तत्। सत् को अर्थ यो र तत् को अर्थ त्यो । दुबै नै सत्य हुन्। अहं ब्रह्मास्मी र तत्वमसि। अर्थात म नै ब्रह्म हुँ र तिमी नै ब्रह्म हौ। यो सम्पूर्ण जगत ब्रह्ममय छ। ब्रह्म पूर्ण छ। यो जगत् पनि पूर्ण छ। पूर्ण जगतको उत्पत्ति पूर्ण ब्रह्मबाट भएको हो। पूर्ण ब्रह्मबाट पूर्ण जगतको उत्पत्ति हुँदा पनि ब्रह्मको पूर्णतामा कुनै न्यूनता आउँदैन। त्यो शेष रूपमा पनि पूर्ण नै रहन्छ । यही सनातन सत्य हो।

जुन तत्व सदा, सर्वदा, निर्लेप, निरञ्जन, निर्विकार र सदैव स्वरूपमा अवस्थित रहन्छ त्यसलाई सनातन वा शाश्वत सत्य भनिन्छ। वेदको ब्रह्म र गीताको स्थितप्रज्ञ नै शाश्वत सत्य हुन्। जड, प्राण, मन, आत्मा र ब्रह्म शाश्वत सत्यका श्रेणीमा आउँछन्। सृष्टि तथा ईश्वर (ब्रह्म) अनादि, अनन्त, सनातन र सर्वविभु छन्।

जड पाँच तत्वबाट दृश्यमान छ- आकाश, वायु, जल, अग्नि र पृथ्वी। यी सबै शाश्वत सत्यका श्रेणीमा आउँछन्। यिनीहरू आफ्नो रूप बदलिरहन्छन् किन्तु समाप्त हुँदैनन्। प्राणका पनि आफ्ना अवस्थाहरू छन्: प्राण, अपान, समान र यम। त्यसै गरी आत्माका अवस्थाहरू यस प्रकार छन् : जाग्रत, स्वप्न, सुसुप्ति र तुर्या। ज्ञानी मानिसहरू ब्रह्मलाई निर्गुण र सगुण भन्दछन्।

उक्त सारा भेद तबसम्म विद्यमान रहन्छन् जबसम्म आत्माले मोक्ष प्राप्त गर्दैन। यही सनातन धर्मको सत्य हो।
ब्रह्म महाआकाश हो भने आत्मा घटाकाश हो ।आत्माको मोक्ष परायण हुन जानु नै ब्रह्ममा लीन हुन जानु हो । त्यसैले के भनिन्छ भने ब्रह्म सत्य हो जगत मिथ्या हो यही सनातन सत्य हो। र यस शाश्वत सत्यलाई जान्ने वा मान्नेहरू नै सनातनी कहलाउँछन्।

हिन्दुत्व : एकातिर इरानी अर्थात पारस्य देशका पारसीहरूको धर्म पुस्तक ‘अवेस्ता’ मा ‘हिन्दू’ र ‘आर्य’ शब्दको उल्लेख भएको पाइन्छ भने अर्कातिर अन्य इतिहासकारहरूको मान्यता के छ भने चिनियाँ यात्री हुएन सांगको समयमा हिन्दू शब्दको उत्पत्ति ‍इन्दुबाट भएको हो। इन्दु शब्द चन्द्रमाको पर्यायवाची शब्द हो।

भारतीय ज्योतिषीय गणनाको आधार चन्द्रमास नै हो। अत: चीनका मानिसहरू भारतीयहरूलाई ‘इन्तु’ या ‘हिन्दू’ भन्न थाले। केही विद्वानहरू के भन्छन् भने हिमालयबाट हिन्दू शब्दको उत्पत्ति भएको हो। हिन्दू कुश पर्वत यसको उदाहरण हो। हिन्दू शब्द कुनै अपभ्रंश शब्द होइन अन्यथा सिन्धु नदीलाई पनि हिन्दू नदी नै भनिन्थ्यो।

आर्यत्व : आर्य समाजका मानिसहरू यसलाई आर्य धर्म भन्दछन्, जबकि आर्य कुनै जाति वा धर्म विशेषको नाम नभएर यसको अर्थ त केवल श्रेष्ठ नै मानिन्छ। अर्थात जुन मन, वचन र कर्मले श्रेष्ठ छ त्यही नै आर्य हो। बौद्ध धर्मका चार आर्य सत्यको अर्थ चार श्रेष्ठ सत्य नै हुन आउँछ। बुद्धले के भनेका छन् भने उक्त श्रेष्ठ तथा शाश्वत सत्यलाई जानेर आष्टांगिक मार्गको अनुसरण गर्नु नै ‘एस धम्मो सनंतनो’ अर्थात यही हो सनातन धर्म हो।

यस प्रकार आर्य धर्मको अर्थ श्रेष्ठ समाजको धर्म नै हो भन्ने कुरा बुझिन आउँछ। प्राचीन भारतलाई आर्यावर्त पनि भनिन्थ्यो र यसको तात्पर्य श्रेष्ठ जनहरू निवास गर्ने भूमि हो।

सनातन मार्ग : विज्ञानले प्रत्येक वस्तु, विचार र तत्वको मूल्यांकन गर्ने सिलसिलामा धर्मका अनेक विश्वास र सिद्धान्त धराशायी हुन जान्छन्। विज्ञानले पनि सनातन सत्यलाई पत्ता लगाउने दिशामा सफल भएको छैन तर वेदान्तमा उल्लिखित जुन सनातन सत्यको महिमाको वर्णन गरिएको छ विज्ञान बिस्तारै-बिस्तारै धीमा गतिमा त्यस सत्यसँग सहमत भइरहेको देखिन्छ।

हाम्रा ऋषि-मुनिहरूले ध्यान र मोक्षको गहिरो अवस्थामा ब्रह्म, ब्रह्माण्ड र आत्माका रहस्यहरूलाई जानेर त्यसलाई स्पष्ट ढंगमा व्यक्त गरेका छन्। वेदमा नै सर्वप्रथम ब्रह्म र ब्रह्माण्डको रहस्यबाट पर्दा हटाएर ‘मोक्ष’को धारणालाई प्रतिपादित गरी तयसको महत्वमाथि प्रकाश पारिएको थियो। मोक्ष बिना आत्माको कुनै कोई गति छैन त्यसैले ऋषिहरूले मोक्षको मार्गलाई नै सनातन मार्ग मानेका छन्।

मोक्षको मार्ग : धर्म, अर्थ, काम, मोक्षमा मोक्ष अन्तिम लक्ष्य हो। यम, नियम, अभ्यास र जागरणबाट नै मोक्ष मार्ग पुष्ट हुने गर्छ। जन्म र मृत्यु मिथ्याष हुन्। जगत भ्रमपूर्ण छ। ब्रह्म र मोक्ष नै सत्य हुन्। मोक्षबाट नै ब्रह्म हुन सकिन्छ । यसका अलावा स्वयंको अस्तित्वलाई कायम राख्ने कुनै उपाय छैन। ब्रह्मप्रति नै समर्पित रहनेहरूलाई ब्राह्मण र ब्रह्मलाई जान्नेलाई ब्रह्मर्षि अनि ब्रह्मलाई बुझेर ब्रह्ममय हुन जानेहरूलाई नै ब्रह्मलीन भनिन्छ।

विरोधाभासी छैन सनातन धर्म :

सनातन धर्मको सत्यलाई जन्म दिनेहरू भनेका अलग-अलग कालखण्डका अनेक ऋषिमुनिहरू नै हुन्। उक्त ऋषिहरूलाई दृष्टा भनिन्छ। अर्थात जसले सत्यलाई जस्तो देखे, त्यस्तै भने। त्यसैले सबै ऋषिहरूका कुरामा एकरूपता पाइन्छ। जसले उक्त ऋषिहरूका कुरालाई बुझ्न सक्दैनन् तिनीहरू नै त्यसमा भेद गर्दछन्। भेद भाषाहरूमा हुन्छ, अनुवादकहरूमा हुन्छ, संस्कृतिहरूमा हुन्छ, परम्पराहरूमा हुन्छ, सिद्धान्तहरूमा हुन्छ, तर सत्यमा हुँदैन।

वेद भन्दछ ईश्वर अजन्मा छ। त्यसलाई जन्म लिनुपर्ने आवश्यकता छैन, त्यसैले कहिल्यै जन्म लिएको छैन र त्यसले कहिल्यै जन्म लिने छैन। ईश्वर त एक नै छ तर देवी-देवता वा भगवान अनेक छन्। त्याे एकलाई छोडेर उक्त अनेकका आधारमा नियम, पूजा, तीर्थ आदि कर्मकाण्डलाई सनातन धर्मका अंग मानिदैन। यही सनातन सत्य हो।

वेब दुनियाबाट

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!