शिक्षक लाइसेन्स परीक्षाः मेसिनबाटै उत्तरपुस्तिका जाँच्ने आयोगको निर्णय

काठमाडौंः  शिक्षक सेवा आयोगले वस्तुगत खण्डको उत्तर पुस्तिका परीक्षणको काम मेसिनबाट गर्ने भएको छ। अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाबाट आयोगले पहिलोपटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको प्रयोग गर्ने भएको हो।

मेसिनबाट परीक्षण गरिने उत्तर पानालाई मोड्न वा कुच्याउनु हुँदैन। त्यस्तो पानाको उत्तर मेशिनले पढ्न नसक्ने हुँदा परीक्षार्थीले वस्तुगत प्रश्नमा उल्लेख गरेको प्रश्नको की वा सेट आफ्नो वस्तुगत उत्तर पानाको क, ख, ग वा घ मध्ये कुनै एकमा रहेको गोलाकार संकेतमा मसी भरेर चिन्ह लगाउनुपर्ने हुन्छ।

यस्तै उत्तर दिँदा पनि कुनै एक उत्तरमा उसैगरि मसी भर्नुपर्ने हुन्छ। वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक उत्तरको लागि २० प्रतिशत अँक कट्टा गरिने आयोगले जनाएको छ। परीक्षालाई चुस्त र परीक्षणमा त्रुटि कम गर्ने तथा लाग्ने समय बचत गरी छिटो नतिजा निकाल्न प्रविधिको प्रयोग गर्ने निर्णय गरेको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।

याे पनि पढ्नुस  शिक्षक लाइसेन्सको उत्तरपुस्तिका कम्प्युटर प्रणालीबाट परीक्षण गरिने

यसअघि नै शिक्षा मन्त्रालयले एमविविएस परीक्षाको कापी परीक्षण गर्नका लागि ल्याएको मेसिन खाली रहेकोले आयोगले त्यही मेसिनको प्रयोग गर्ने भएको हो। त्यसका लागि आवश्यक पर्ने प्रश्न तयारीको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ। यसको प्रयोगका बारेमा परीक्षार्थीलाई आवश्यक जानकारी गराइने उनले बताए।

‘यो प्रविधि संसारले प्रयोग गर्दै आएको प्रविधि हो, आयोगलाई पनि समय सापेक्ष रुपमा प्रविधिमैत्री बनाउने हाम्रो प्रयास हो, यसबाट परीक्षणको समय बचत हुने मात्रै होइन, परीक्षणमा हुने त्रुटि पनि घट्छ, विद्यार्थीलाई न्याय हुन्छ’ उनले भने, ‘नेपालमा पनि यस अघि लोकसेवा आयोग, एमविविएसको परीक्षाहरुमा मेसिनको प्रयोग हुँदै आएको छ।’

याे पनि पढ्नुस  खुशीको खबरः आवेदन फारम भर्दा गल्ती भए सच्च्याउने मौका

लाइसेन्सको परीक्षा असोज ९ गतेदेखि ११ गतेसम्म गर्ने गरी आयोगले मिति तय गरेको छ। प्राथमिकको ९ गते माध्यमिकको १० गते र निम्न माध्यमिकको ११ गते गर्ने र सबै परीक्षा बिहान ८ बजेबाट शुरु गर्ने गरी आयोगले मिति तय गरेको हो। गत असार २ गते परीक्षा मिति विना लाइसेन्सको विज्ञापन खोलिएको थियो। विज्ञापनको ५३ औं दिनमा बिहीबार बल्ल आयोगले परीक्षा मिति तय गरे पनि परीक्षा सञ्चालन हुने जिल्ला र केन्द्र भने अझै तय गरेको छैन।

भदौ १५ गते मात्रै केन्द्र सार्वजनिक गर्ने आयोगले जनाएको छ। तीन घण्टाको उक्त परीक्षा अवधिमा वस्तुगतका लागि ४० मिनेट निर्धारण गरिएको छ। उक्त समयअघि नै वस्तुगत प्रश्न हल गरी बुझाएमा विषयगत प्रश्न उपलब्ध गराउने आयोगले जनाएको छ। विषयगततर्फ शिक्षण कला सम्बन्धि खण्ड क र सामान्य पेशागत ज्ञान सम्बन्धि प्रश्न खण्ड ‘ख’मा आउने र यी दुई खण्डको उत्तर अलग अलग उत्तर पुस्तिकामा लेख्नुपर्ने छ।

याे पनि पढ्नुस  शिक्षक लाइसेन्सको उत्तरपुस्तिका कम्प्युटर प्रणालीबाट परीक्षण गरिने

कमेन्ट गर्नुहोस्

error: Content is protected !!