अचानक घरभित्रै जिप छिरेपछि….

पर्वतः कुश्मा नगरपालिका–९ कटुवाचौपारीको साइकलचोकका बासिन्दा सधैंजस्तै बजारको मुख्य चोकमा गफिइरहेका थिए । हरेक दिनजसो सानातिना घटना भइरहने कटुवाचौपारीमा तिनै घटनाका विषय चिया गफमा मसला बन्थे ।

गफिइरहेका स्थानीयको बीचमा एक्कासी ठूलो आवाज सुनियो । ‘आवाज ०७२ को भुइँचालोले घर भत्किएजस्तै थियो,’ स्थानीय मधु पौडेलले भने, ‘म हरेक दिन पसलको बाहिरपट्टि हुन्थें । आज बाँच्न लेखेको रैछ । वारिपट्टि थिएँ ।’

साइकलचोक मुख्य बजारको बीचमा ग३च ४३ नम्बरको महिन्द्रा जिप घरभित्रै छिर्दा भित्र बसिरहेकी सीता लम्साल बेहोस भइन् । तत्काल अस्पताल पुर्‍याइएकी उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिपका कारण अरू ठूलो मानवीय क्षति भने हुन पाएन ।

बजारमा लहरै लागेका अस्थायी छाप्राभित्र एउटा सटरभित्र जिप छिर्दा चारवटा छाप्रामा क्षति पुगेको छ । क्षति नजिकैका मधु पौडेलको स्टेसनरी, सम्झना परियारको सिलाइकटाइ, दीपा कँडेलको फलफूल तथा किराना पसलको छानो भत्किएको छ । लम्सालको पसलभित्रै छिरेको जिपले पसलभित्रका सरसामान नष्ट गरेको छ ।

स्थानीय ढाकाराम गौतम (सन्देश) ले चलाएको जिप अनियन्त्रित भई पसलभित्र छिरेको हो । चन्द्रतारा पोल्ट्री फर्मका सञ्चालक गौतम सिकारु भएको र चालक हुँदाहुँदै आफैंले चलाउनु गम्भीर लापरबाही भएको स्थानीयको आरोप छ । ‘यत्रो बस्ती भएको ठाउँमा सिक्नु नै महामूर्खता हो,’ वडाध्यक्ष कृष्ण शर्मा लामिछानेले भने, ‘लाइसेन्स नभएकालाई सवारी चलाउन कडाइँ गर्नुपर्छ ।’

स्थानीय प्रत्यक्षदर्शीका अनुसार बिहान करिब आठ बजे जिप लिएर साइकलचोक पुग्दा चालकले नै हाँकेका थिए । प्रत्यक्षदर्शी एवं सुवेदी होटलकी सञ्चालक राधा सुवेदीका अनुसार खाजा खाएपछि गौतम आफैंले जिप चलाएका थिए । अघिल्तिर रोकिराखेको अर्को जिप छलेर अगाडि बढ्न खोज्दा एक्कासि पसलभित्र छिरेको गौतमले बताए । ‘मैले चलाएर अगाडि बढ्न खोज्दै थिएँ,’ उनले भने, ‘मोड्नै सकिनँ । एक्कासि भित्र छिर्‍यो ।’ गौतम नेकपाका जिल्ला नेतासमेत हुन् । उनले भूलवश भएको गल्ती स्वीकार्दै घाइतेको उपचार र क्षतिपूर्ति दिने बताए । कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!