श्रीलंका र न्यूजिल्यान्डबीच भइरहेकाे खेल वर्षाका कारण राेकियाे

काठमाडौं, आइसीसी विश्व टेस्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगिता अन्तर्गत श्रीलंका र न्यूजिल्यान्डबीच भइरहेकाे खेला वर्षाका कारण राेकिएकाे छ ।

न्यूजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दैै खराब मौसमका कारण खेल रोकिनुपूर्व ६८ ओभर खेल्दै ५ विकेटको नोक्सानीमा २०३ रन बनाएको छ । रोस टेलरले अविजित रहँदै ८६ रन जोडेका छन् । हेन्री निकोलस ४२ रन बनाएर ‘आउट’ भए ।

पाँचओटै विकेट श्रीलंकाका २५ वर्षे बलर अकिला दनञ्जयले लिएका हुन् ।

यसअघि, इंग्ल्यान्ड र अष्ट्रेलियाले च्याम्पियनसिपअन्तर्गत्को पहिलो खेल खेलेका थिए । सो खेलमा अष्ट्रेलिया विजयी भएको थियो ।

दुवैबीचको ‘एसेज’ शृंखलाअन्तर्गत्को दोस्रो खेल बुधबारैदेखि लर्ड्समा सुरु हुनुपर्ने भएपनि वर्षाले गर्दा खेल हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले टेस्ट खेल्ने ९ टिमबीच प्रतियोगिता आयोजना गरेको हो ।

इंग्ल्यान्ड र अष्ट्रेलिया तथा श्रीलंका र न्यूजिल्यान्डसँगै भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले भाग लिने सो च्याम्पियनसिपको लिग चरणका शीर्ष दुई टिमले उपाधिका लागि सन् २०२१ को जुन महिनामा इंग्ल्यान्डमा फाइनल खेल खेल्नेछन् ।

दुई वर्षको अवधिमा २७ शृंखला हुनेछन् । सबै टिमले ६/६ ओटा शृंखला खेल्नेछन् । यसमा तीन घरेलु मैदानमा र तीन विदेशी मैदानमा हुनेछन् ।

एक शृंखलामा कम्तीमा दुई र बढीमा पाँचओटासम्म टेस्ट खेल खेलिनेछन् । अंकका आधारमा शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।

फाइनल खेल बराबरी वा ‘टाइ’ भएमा लिग चरणको अंकका आधारमा विजेता घोषित गरिने आइसीसीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!