वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज (बिहीबार) बिहान निधन भएको छ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी आफ्नै निवास काठमाडौंको कालिकास्थान ल्याइएको थियो।

निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेदः केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति प्रकाशित छन्। उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ। उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गौरीधारामा भएको थियो।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन्। उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

पत्रकार कनकमणि दीक्षितले ट्वीट गर्दै मदनमणिको निधन भएको जनाएका छन्। उनको पार्थिक शरीर अहिले निवासमै राखिएको छ।

लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे।

दीक्षितका प्रकाशित केही कृतिहरू
१. माधवी (उपन्यास, वि.सं. २०३९)
२. चरैवेति (निबन्ध संग्रह, २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्यो रु (कथा संग्रह, वि.सं.२०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान
१३. ऋग्वेदः केही प्रमुख सूक्त (२०६५ वि.सं)

उनले समीक्षा साप्ताहिकको सम्पादक भएर काम गरे भने उनका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित छन्। नेपालखबरबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!