हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

 

काठमाडौं । आज २०८० साल चैत १६ गते शुक्रबार सन् २०२४ मार्च २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा…

गरिमा बैंकको सीईओमा माधव प्रसाद उपाध्याय

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् ।  बैंकको बुधबार बसेको सञ्चालक समितिको ३०४ औं बैठकले उपाध्यायलाई ४ वर्षको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  यसअघि उनी बैंकमै नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनको सीईओको कार्यकाल वैशाख १ देखि लागू हुने गरिमा विकास बैंक सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद बस्यालले जानकारी दिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन्। उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन÷प्राध्यापन पेशामा संलग्न थिए । यो विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएपछि उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई बिहीबारदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ । गरिमा विकास बैंक छोटो समयमा स्थापित विकास बैंकको रुपमा रहेको छ ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत १५ गते बिहीबार सन् २०२४ मार्च २८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ ।युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

१०.८३ अंकले घट्यो नेप्से

काठमाडौं ।मंगलबार १०.१४ अंकले बढेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज फेरी घटेको छ ।आज बुधबार नेप्से १०.८३ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.५३ प्रतिशतले घटेर २०३०.८६ विन्दुमा कायम भएको छ। बुधबार २ अर्ब २३ करोड ५४ लाख ८६ हजार रुपैयाँ बराबरको ६० लाख ४७ हजार २१ किक्ता शेयर ४४ हजार २४९ पटक किनबेच भएको छ । बुधबार ३१० वटा कम्पनीको शेयर किनबेच हुँदा ५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स पनि २.१७ अंकले घटेको छ । फोल्ट इन्डेक्स ०.९१ अंकले घटेको छ भने सेन्सेटिभ फोल्ट इन्डेक्स ०.७३ अंकाले घटेको छ । १३ वटा समुह अन्तरगत एक समुहको शेयर बढेको छ भने १२ समहुको शेयर घटेको छ । आज सर्वोत्तम सिमेन्टको शेयरमा १० प्रतिशतले बढेर सकारात्म सर्किट लागेको छ ।

असिना पानीले ४ करोड बराबरको इँटामा क्षति

परासी । बेमौसमी असिना र पानीका कारण नवलपरासीमा ४ करोड बराबरको इँटामा क्षति पुगेको छ। सोमबार राति परेको असिना पानीका कारण काँचो इँटामा क्षति पुगेको हो।  जिल्लामा रहेका १७ उद्योगमध्ये हालः ११ वटामात्र सञ्चालनमा रहेका छन्। नेपाल इँटा उद्योग महासंघका केन्द्रीय सदस्य एंव हरिकृष्ण इँटा उद्योग रामग्रामका सञ्चालक कृष्ण नारायण श्रेष्ठले आर्थिक मन्दीका कारण ६ वटा उद्योग सञ्चालन हुन नसकेर बन्द भएको जानकारी दिए । उनले अहिले सञ्चालनमा रहेका उद्योगमा तयार गर्न राखिएका करिब १ करोड २० लाख बढी काँचो इँटामा क्षति पुर्‍याएको बताए ।  उनका अनुसार प्रति काँचो इँटा तयार गर्न ३ देखि ४ रुपैयाँ लाग्ने गरेको छ। जिल्लामा वार्षिक ४ करोड इँटाको माग रहेको उनले जानकारी दिए । उनले भने  ‘पहिला ८ देखि ९ करोड इँटाको माग हुने गरेको थियो । आर्थिकमन्दीका कारण अहिले ५० प्रतिशत माग घटेको छ ।’

८ महिनामा साढे १ खर्ब लगानी प्रतिबद्धता

काठमाडौं । नेपाल सरकारलाई चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा साढे १ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ बराबेका कुल लगानी प्रतिबद्धता (प्रस्ताव) आएको हो । उद्योग विभागले फागुन महिनामा मात्र २ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको फागुनसम्म १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । जस अनुसार यस वर्ष लगानी प्रतिबद्धता गत वर्षको यसै अवधिको तुलनामा वृद्धि भएको छ ।  यस वर्ष फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धता २९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष फागुन मसान्तसम्म २७ अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो । विभागमा यस वर्ष फागुनसम्म स्वदेशी तथा विदेशी २५८ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ठूला उद्योगको संख्या ३२ छ । मझौला उद्योग २२ र साना उद्योगको दर्ता २०४ रहेको विभागले जानकारी दिएको छ । यस वर्ष दर्ता भएका स्वदेशी उद्योगले १८ हजार १५३ रोजगारी दिन सक्ने उद्योग विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, विदेशी लगानी तर्फ फागुनसम्म कुल २५३ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगले १३ हजार १६९ रोजगारी सिर्जना गर्न सक्नेछन् । वैदेशिक लगानी फागुन महिनामा मात्र ६ अर्ब ४७ करोड आएको विभागले जनाएको छ ।

राजस्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई जिम्मेवारी दिएको छ । अर्थ मन्त्रालयमा मंगलबार सरुवा भएका तिवारीलाई आन्तरिक राजस्व विभागमा पठाइएको हो । यसअघि उनी ठूला करदाता कार्यालयका प्रमुखको रुपमा काम गरिसकेका छन्। अहिले अर्थ मन्त्रालय आउनुअघि भने उनी वातावरण विभागका महानिर्देशकको रुपमा कार्यरत थिए।  आन्तरिक राजस्व विभागको महानिर्देशक भुपाल बराललाई सरकारले वातावरण विभागमा सरुवा गरेपछि विभागमा महानिर्देशक पद खाली थियो । त्यसैगरी अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई नियुक्त गरेको छ । मन्त्रालयले विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गर्दै निरौलाललाई भन्सार विभागमा पठाएको हो । तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालयमा ल्याइएको छ ।  अर्थ मन्त्रालयले सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएको छ । राजस्व व्यवस्थापन महाशाखा प्रमुख शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा लगिएको हो । यस्तै, धनीराम शर्मालाई राजश्व व्यवस्थापन महाशाखा प्रमुखका रुपमा सरुवा गरिएको छ । बजेट महाशाखाका उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा सरुवा गरिएको छ ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत १४ गते बुधबार सन् २०२४ मार्च २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

नेप्से १०.१४ अंकले बढ्यो

काठमाडौं । लगातार चार कारोबार दिन घटेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १०.१४ अंकले बढेको छ। बजार ०.४९ प्रतिशतले बढेर २०४१.७० विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १७.०१ अंकले घटेको थियो । गएका चार कारोबार दिन लगातार बजार ओरालो लागेको थियो । गत साताको मंगलबार ६.२४, बुधबार ३.३४, बिहीबार १५.३७ अंकले घटेको थियो। आज दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १६८ कम्पनीको सेयर मूल्य वृद्धि भयो । ६८ कम्पनीको सेयर मूल्य घट्यो । डोल्टी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँ १० पैसाले बढेर ४३० रुपैयाँ १० पैसा कायम भएको छ । नेप्सेमा सूचीकृत भएदेखि नै लगातार उकालो लाग्दै आएको सर्वोत्तम सिमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८१ रुपैयाँ ३० पैसाले वृद्धि भएर ८९५ रुपैयाँ १० पैसा कायम भएको छ । कारोबरमा आएका १३ मध्ये फाइनान्स, व्यापार र जीवन बिमा समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक वृद्धि उत्पादन तथा प्रशोधन समूहको भएको छ ।

अर्थमन्त्रीसँगको शिष्टाचार भेटमा एआईआईबीले भन्यो - 'नेपालमा लगानी हाम्रो उच्च प्राथमिकतामा छ'

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ।नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गर्दै नेपाल उच्च प्राथमिकतामा रहेको बताएको हो।  भेटमा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।जवाफमा एआईआईबी निर्देशक आरएमपी रथनायके नेतृत्वको टोलीले नेपाल एआईआईबीको उच्च प्राथमिकतामा रहेको बताएको हो। निर्देशक रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गरे। उनले नेपाललाई एआईआईबीले प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइएको जानकारी गराए। ५० प्रतिशत पुँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआईआईबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न मन्त्री पुनले आग्रह गरेका थिए। यसका लागि धन्यवाद दिँदै निर्देशक रथनायेकेले बहुवर्षीय आयोजना छनोट गरी निजी क्षेत्रसँग सहकार्यका लागि इच्छुक रहेको बताए। छलफलका क्रममा मन्त्री पुनले आगामी वैशाखमा काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्तो समेत दिए। रथनायेकेले सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने जानकारी दिए। मन्त्री पुनले नेपालसहित मध्यम आर्थिक अवस्था भएका विकासोन्मुख मुलुकका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न टोलीसँग आग्रह गरेका छन्। एआईआईबीको ब्याजदर तुलनात्मक रूपमा महँगो भएकाले नेपालले अपेक्षाअनुसार ऋण लिन नसकेको मन्त्री पुनले बताए।नेपालमा पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेकाले सहुलियतपूर्ण ऋण जरुरी भएको मन्त्री पुनले बताए। सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउँदै अर्थमन्त्री पुनले आन्तरिक स्रोतको सीमितताका कारण बाह्य स्रोत जुटाउन आवश्यक रहेको धारणा राखे। मन्त्री पुनले पूर्वाधार विकाससहित जलविद्युत्, पर्यटन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न एआईआईबी टोलीलाई आग्रह गरे। जलविद्युत्‌का लागि क्षेत्रीय बजारको सुनिश्चितता भएकाले सो क्षेत्र लगानीका लागि आकर्षक रहेको पुनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको जानकारी दिँदै उनले बजारको समस्या नरहेको बताए। यस्तै बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता भएको र ४० मेगावाट बिजुली छिट्टै बंगलादेश निर्यात गर्न लागिएको जानकारी पनि मन्त्री पुनले गराए।  आगामी सन् २०२६ मा नेपालले सहस्राब्दी विकास लक्ष्य हासिल गर्नैपर्ने बताउँदै मन्त्री पुनले उक्त लक्ष्य छुन नेपालमा लगानी विविधीकरण गर्न आग्रह गरे।  यस्तै नेपालले विकास आयोजनामा जलवायु वित्तको परिचालन गर्ने सोच बनाइएकाले त्यसका लागि समेत सहयोग गर्न मन्त्री पुनले एआईआईबीलाई अनुरोध गरे।  देशभित्र र बाहिरका समेत निजी क्षेत्रलाई लगानीका लागि थप विश्वासको वातावरण निर्माण गर्न विद्यमान कानुनमा सुधार गर्दै लाने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए। एआईआईबीको दक्षिण कोरियाली कम्पनी प्रमुख लगानीकर्ता रहेको २ सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ४० मिलियन अमेरिकी डलर बराबरको लगानी छ। यस्तै लुम्बिनी र कर्णाली प्रदेशमा निर्माणाधीन केही विद्युत् प्रसारण लाइनमा पनि एआईआईबीले लगानी गरेको छ।

नेप्से परिसूचक १७.०१ अंकले घट्यो

काठमाडौं । यो साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक १७.०१ अंकले घटेको छ । आइतबार सार्वजनिक बिदाका कारण बजार बन्द थियो । नेप्से सोमबार ०.८३ प्रतिशतले घटेर २०३१.५५ को विन्दुमा झरेको छ । यस दिन ३०४ धितोपत्रका ७० लाख ६१ हजार १२ कित्ता सेयर दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँमा किनेबेच भयो । १३ उपसमूहमध्ये चारवटाको समूहगत सूचक बढेको छ । नौवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए।   “नेपाललाई अझै पनि ऋणमा अझै सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, तपाईहरू नीति निर्माता भएका नाताले यसमा पुनःविचार गर्न आग्रह गर्दछु ।” सरकार उच्च आर्थिक बृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र नीति पुँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको उल्लेख गरे। नेपालमा हाल एआइआइबीकाको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आग्रह गरे । “भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने र बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने गर्ने ऐतिहासिक सम्झौताहरू भएका छन्, यसले नेपालको ऊर्जा व्यापारमा मार्गप्रशस्त गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “ऊर्जा क्षेत्रमा लगानीका लागि राम्रो सम्झावना छ, हामीले आगामी महिना लगानी सम्मेलन गर्दैछौँ, त्यसमा एआइआइबीले उच्च तहमा प्रतिनिधित्व गर्दै नेपालका प्राथमिकताका क्षेत्रमा लगानीका लागि अनुकूल वातावरण निर्माणमा सहयोग गर्ने मैले विश्वास लिएको छु ।”  नेपालमा निजी तथा वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरे। उनले भने, “लगानीका लागि अब नेपालमा नयाँ हुन्छ, ढुक्क भएर लगानी गर्नुहोस् ।” भेटमा एआइआइबीका निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा निर्देशकहरू, उपाध्यक्ष एवं उच्च अधिकारीको सहभागीता रहेको थियो ।  सो अवसरमा प्रतिनिधिमण्डलका प्रमुख श्रीलङ्काका आरएमपी रथनायकेले नेपाल संस्थापक सदस्यको रुपमा बैंकले नेपाललाई प्राथमिकता राखेको र यहाँको विकासमा लगानी गर्न बैंक सकारात्मक रहेको बताए। 

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत १२ गते सोमबार सन् २०२४ मार्च २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर 

हेर्नुहोस् आजको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत ११ गते आइतबार सन् २०२४ मार्च २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा र बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो आजको विदेशी मुद्राको विनिमय दर 

विश्व बैंकका उपाध्यक्षलाई अर्थमन्त्रीको निम्तो

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गरेका छन् । बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग बिहीबार राति भएको भर्चुअल बैठकमा अर्थमन्त्री पुन अनन्तले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका थिए । औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएका हुन् ।जवाफमा रेजरले निमन्त्रणाका लागि धन्यवाद दिए । उनले नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताए ।  अर्थमन्त्रीले नेपालले वैदेशिक लगानीसहित निजी क्षेत्रको भूमिका र पुँजी परिचालनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । लगानी सम्मेलनका लागि आवश्यक कानूनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी उनले दिए ।  सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको भन्दै विश्व बैंकसहित विकास साझेदार बताउँदै उनले विश्व बैंकसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्‍वास व्यक्त गरे । तेश्रो लगानी सम्मेलन आगामी ०८१ वैशाख १६ र १७ गते काठमाडौँमा हुँदैछ ।

सहकारी पीडित र सरकारबीचको ८ बुँदे सहमतिमा के छ ?

काठमाडौं । सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमति भएको छ। बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र आन्दोलनरत सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिबीच माग सम्बोधन गर्ने विषयमा ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा समस्या देखिएका सहकारी संस्थाहरूको निरीक्षण अनुगमन एवं हिसाबजाँच गरिने छ। त्यसका लागि समिति गठन समेत गरिने उल्लेख छ।  सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम कसुर गर्ने सहकारीका संचालक, व्यवस्थापक र संलग्न कर्मचारीहरूलाई कानून बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने समेत सम्झौतामा उल्लेख छ। यस्तै, सहकारी क्षेष सुधार सुझाव कार्यदल, २०८० ले दिएका सुझावहरू तत्काल कार्यान्वयनमा लैजान बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण संरचनाहरू स्थापना गरी तत्काल काम अघि बढाउने उल्लेख छ। सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने समेत बताइएको छ।  यस्तो छ ८ बुँदे सहमति