अत्यावश्यक नपरी घरबाहिर ननिस्किन इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इरानले गरेको आक्रमणलाई लक्षित गर्दै अतिआवश्यक नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएको उल्लेख गरेको छ । 

 'आगामी सोमबार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठुलो स्तरको सभा-भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकारलागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछ,' सूचनामा भनिएको छ ।

कुनै समस्या परेमा दूतावासका  कुमारबहादुर श्रेष्ठ, द्वितीय सचिव (0528289300) र सञ्जयकुमार साह, सहचारी (054-5582077) लाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ । 

रुसी सेना र युक्रेनी नियन्त्रणमा रहेका नेपालीलाई फिर्ता ल्याउन क्रियाशील छौं :  परराष्ट्रमन्त्री

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा संलग्न भई युक्रेनमा बन्दी बनाइएका नेपालीलाई स्वदेश फर्काउन सरकार क्रियाशील रहेको बताएका छन्।प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सरकारले रुसी सेनामा रहेका र युक्रेनमा बन्दी बनाइएकालाई नेपाल फर्काउन क्रियाशीलता बढाएको बताएका छन्। आफूले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रुसी विदेशमन्त्रीसँग कुराकानी गरेको र नेपालका लागि रुसी राजदूतसँग पटकपटक छलफल गरेको श्रेष्ठले बताए। 'युक्रेनमा बन्दी भएका युद्धबन्दीका बारेमा यस मन्त्रालयले पहिला नै नामहरू सार्वजनिक गरिसकेको छ।हिजोमात्र रुसी सेनामा कार्यरत रहेको अवस्थामा युक्रेनमा बन्दी बनाइएकामध्ये पाँच जनाको नाम र फोटो फेरि सार्वजनिक भएको छ,' उनले भने, 'नेपाल सरकारको निरन्तर कूटनीतिक प्रयासपछि यो सम्भव भएको छ ।मन्त्रालय यथाशीघ्र उहाँहरूलाई नेपाल फर्काउनका लागि उच्च प्राथमिकताका साथ क्रियाशील छ।' रुस सरकारले त्यहाँको सेनामा भर्ना भई मृत्यु भएका नेपाली परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको र अहिले पनि त्यहाँ कार्यरत रहेका नेपालीलाई फिर्ता पठाउन तयार भएको श्रेष्ठले जानकारी दिए ।मन्त्री श्रेष्ठले भने- 'रुसी विदेश मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्कन चाहनेलाई करार रद्द गर्न आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ।त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ। यस बारेमा रुसमा रहेको नेपाली दूतावासले निरन्तर फलोअप गरिरहेको छ।' रुस र युक्रेनको बीचमा जारी युद्धमा रुसको पक्षबाट सेनामा रहेका नेपालीका समस्या समाधान गर्न सरकार तयार रहेको र क्रियाशील भइरहेको श्रेष्ठले बताए ।

एनआरएनएको साधारणसभा सम्पन्न, मनोरेलसहित ३ वटा सम्झौता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । ‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित सुरु भएको साधारणसभा काठमाडौँमा सम्पन्न भएको हो ।  ४२ देशका प्रतिनिधि सहभागी रहेको साधारणसभाको उद्घाटन संघका संरक्षक डा. शेष घलेले गरेका थिए । घलेले नेपालको लागि अझै धेरै गर्न बाँकी रहेको भन्दै सबै गैरआवासीय नेपालीहरु एकजुट हुनुपर्ने बताए । केही समस्या देखिएपनि नेपाल र नेपालीको लागि आफूहरुभित्रैबाट दित्तचित्तले लागेको बताउँदै घलेले नागरिकता लगायतका विषयमा अझै संघर्ष जारी रहेको बताए ।  “हामीले नेपालको लागि अझै गर्न धेरै बाँकी छ । लगानीलगायतका विषयमा सजिलोको लागि हामीले नागरिकताको विषय उठाउँदै आएका थियौँ, सरकारले नागरिकता प्रदान गरे पनि गैरआवसीय नागरिकताले केही अप्ठ्यारा फुकाउन सकेको छैन” घलेले भने । उनले नागरिकतालाई कागजको खोस्टोमा सिमित बनाउन नहुने समेत बताए ।  संघका आईसीसी अध्यक्ष विनोद कुँवरले संस्थाको उद्देश्य पूरा गर्न विधिमा चलाउनुपर्ने बताए । उनले १० औं महाधिवेशनमा विधिलाई धोती लगाउनेहरुकै कारण संघमा विवाद उत्पन्न भएको बताए ।  “हामीले संस्थालाई विधिमा लैजाउ भनेका थियौं, केही साथीहरुले विधिभन्दा पनि मनखुशी संघलाई चलाउन खोज्दा समस्या पैदा भएको हो । हामी अझैपनि विधिवत रुपमा संघलाई अगाडि बढाऔं भनिरहेका छौं” कुँवरले भने । उनले त्यसैको लागि आफूहरुले महाधिवेशन रोकेर बार्षिक साधारणसभा गरेको बताए ।  आफूहरुले आवाज उठाएको २० बर्षपछि नागरिकता प्राप्ति भएको तर त्यसमा समित अधिकार तोकिएकोले समस्या समाधान नभएको बताए । आफूहरुलाई लगानीको वातावरण नबनेको भन्दै कुँवरले भने, “हामीहरुलाई स्वागत चाहिँदैन, देशको समृद्धिको लागि विदेशमा कमाएका पैसा नेपालमै लगानी गर्ने वातावरण बनाइदिनुुस् भनेका छौं । दिनदिनै युवा पलायन भइरहेको भन्दै त्यसलाई रोक्न पनि हामी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्छौं, त्यसको लागि वातावरण चाहिएको हो ।” कार्यक्रममा उपाध्यक्ष थर्क सेनले संघभित्र रहेका विधि नमान्ने र पदलोभीहरुका कारण १० औं महाधिवेशनमा विवाद उत्पन्न भएको बताए । उनले आफूहरुले संघको विधान र विधि मानेकोले मुलधार भएको बताए । अर्को उपाध्यक्ष भूमा लिम्बु, पूर्वउपाध्यक्ष सोनाम लामालगायतले संघलाई विधिमा चलाउनुपर्नेमा जोड दिएका थिए ।  साधारणसभाको बन्दशत्रमा एनसीसी, आरसी, महासचिव, कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरिएको थियो ।  साधारणसभाले महासचिव जानकी गुरुङले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पारित गरेको छ ।  त्यसैगरी साधारणसभामा मनोरेलसहित तीनवटा महत्वपूर्ण सम्झौता समेत भएका छन् । काठमाडौँका तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने, भूकम्पबाट क्षति भएको जाजरकोटको भेरी नगरपालिका र पश्चिम रुकुमको आठबीस नगरिपालिकाको पुनर्निर्माण गर्ने सम्झौता पनि भएका छन् ।  पर्यटक प्रवद्र्धनको लागि तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने सम्बन्धी सम्झौतामा नगर प्रमुख कृष्णहरी महर्जन र नेपाल मनोरेल कम्पनीको प्रमुख कार्यकारी अधिकृत संगिता कार्कीले हस्ताक्षर गरेका छन् ।  संघका अध्यक्ष विनोद कुँवर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र कोरियान नागरिक जिहोङ सुन रोहबरमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।  त्यसैगरी भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सम्बन्धी सम्झौतामा संघको तर्फबाट संरक्षक शेष घले, अध्यक्ष विनोद कुँवर र भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गरेका छन् ।  त्यस्तै, कोरियन कस्मेटिक (एनके) नेपालमै उत्पादनको लागि पनि सम्झौता भएको छ ।  साधारणसभामा भूकम्पमा खट्ने र सहयोग गर्ने संघका प्रतिनिधि तथा एनसीसीलाई सम्मान समेत गरिएको थियो । 

युक्रेनले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनले गत शुक्रबार पाँच नेपाली र तीन अन्य देशका गरी आठ रूसी युद्धबन्दी सार्वजनिक गरेको छ । युद्धबन्दी सार्वजनिक गर्दै युक्रेनले ग्लोबल साउथ र विश्वका अन्य गरिब मुलुकहरूलाई रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिक जोगाउन समेत आग्रह गरेको छ । युक्रेनले पाँच नेपाली, क्युबा, सोमालिया र सीएरा लियोनका एक–एकजना युद्धबन्दीलाई युक्रेनले सार्वजनिक गरेको हो । युक्रेनको युद्धबन्दी उपचार समन्वय मुख्यालयका प्रतिनिधि पेट्रो यात्सेन्कोले रूसमा आफ्ना नागरिक जानबाट रोक्न सजक हुन आवश्यक रहेको बताए । उनले गरिब देशहरूलाई आफ्ना नागरिक रूसी सेनामा भर्ती हुनबाट रोक्न आग्रह गरेका छन् । उनले भनेका छन्, “न्यून स्तरको आय भएका देशका नागरिकलाई रूसले भर्ती गरिरहेको छ । त्यसलाई रोक्न अझै कडा कदम चाल्न आवश्यक छ ।” गत हप्ता भारतले रूसमा नागरिक पठाउन सक्रिय ठूलो गिरोह पत्ता लगाएको बताएको थियो । नेपालले गत डिसेम्बरमा मस्कोलाई आफ्ना नागरिक रूसी सेनामा भर्ना नगर्न र त्यहाँ कार्यरत नेपाली सैनिकलाई फिर्ता पठाउन आग्रह गरेको थियो ।

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीहरुको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक ५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन्। नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरे। मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनको भनाई छ। हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ। शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर स्थानीय प्रहरीले अनुसन्धान थालेको समाचारमा जनाइएको छ।

जनप्रगतिशिल मन्च युरोपको महाधिबेशन बार्सिलोनामा हुँदै

काठमाडौं । यहि मार्च १७ र १८ गते स्पेनको बार्सिलोनामा हुने नेपाली जनप्रगतिशिल मन्च युरोपको ५ औ महाधिबेशनको तयारी तिब्र पारिएको छ ।  नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) युरोपको ५ औँ महाधिवेशनका लागि युरोपका विभिन्न देशमा तयारी भैरहेको छ ।  एनपीपीएफ युरोप कमिटीको १५ औँ पूर्ण बैठकले मार्च १७ र १८ गते स्पेनको बार्सिलोनामा ५ औ महाधिबेशनको गर्ने निर्णय गरेको थियो  । यो अधिवेशनले एनपीपीएफ युरोपको नयाँ नेतृत्व निर्वाचित गर्नेछ । अधिवेशनमा युरोपका डेढ दर्जनभन्दा बढी देशबाट एनपीपीएफका प्रतिनिधीहरु सहभागी हुनेछन् । भेलामा विचार र नीतिमाथि तथा परदेशमा नेपालीहरुले भोगेका समस्या बारेमा पनि छलफल गर्ने बताइएको छ । अधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठन भएको छ ।  सन् २००५ मा एनपीपीएफ युरोपको स्थापना भएको थियो । युरोपका डेढ दर्जन बढी देशमा एनपीपीएफका राष्ट्रिय समिति सक्रिय छन् ।

नेपाली जनप्रगतिशील मंच माल्टाको अध्यक्षमा विनय चयन

काठमाडौं । नेपाली जनप्रगतिशील मंच माल्टाको अध्यक्षमा कान्छाराम बुढाथोकी विनय चयन भएका छन् ।  मंचको प्रथम अधिवेशनले विनयलाई अध्यक्षमा चयन गरेको हो । माल्टामा मञ्चको पहिलो पटक अधिबेशन भएको थियो । माल्टामा रहेका नेपालीहरु संगठित हुने उद्देश्य सहित मञ्चको गठन गरेको बताइएको छ ।  नवनिर्वाचित अध्यक्ष विनयले माल्टामा रहेका नेपालीहरुको हकहितका लागि मञ्चले काम गर्ने बताए । 

शान्ति सेनामा नेपालको योगदान सर्वाधिक  : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युनाइटेड स्टेट्स इन्डो प्यासिफिक कमाण्डरका एड्मिरल जोन सी एक्विलिनोले शिष्टाचार भेट गरे । सोमबार राष्ट्रपति भवनमा भएको उक्त भेटमा राष्ट्रपतिले नेपाल र संयुक्त राज्य अमेरिका बित कूटनैतिक सम्बन्ध स्थापना भए पश्चात दुई देशबिच मैत्रीपूर्ण र सौहाद्र्रपूर्ण सम्बन्ध सही आएकोमा खुशी व्यक्त गरे । साथै उनले विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकको रुपमा रहेको कुराले गौरवान्वित भएको बताउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा विज्ञप्तिमा उल्लेख छ ।

गैरआवासीय नेपाली नागरिकताको फाईदा र चुनौति विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं ।  ऐन, कानुन र कार्यविधि समयमा संशोधन नहुँदा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा समस्या रहेको सरोकारवालाहरुले बताएका छन् । एनआरएनए स्कटल्याण्ड राज्य परिषदले आइतवार आयोजना गरेको एनआरएन नागरिकताका फाइदा र चुनौति विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त विचार व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डा. हेमराज शर्माले विदेशमा ८ प्रकारका नेपालीहरु रहेको बताउँदै विद्यमान नागरिकता सम्बन्धी संवैधानिक प्रावधानले सबै नेपालीलाई नसमेटेको स्पष्ट पारे । उनले गैरआवासीय नेपाली नागरिकता वितरण भए पनि आवश्यक ऐन कानुन संशोधन हुन नसक्दा नागरिकताको बारेमा दुविधा देखिएको जनाए । उनले गैरआवासीय नेपाली ऐन, संशोधन भएपछि मात्र एनआरएन नागरिकताको अधिकार र कर्तव्यका बारेमा कानुनी व्यवस्था हुने जानकारी गराए । मुलुकी देवानी संहिता, संविधानको धारा २९१, राहादनी सम्बन्धी ऐन, मतदानको व्यवस्था, राष्ट्रिय परिचयपत्र लगायतका विषयसँग जोडिएका ऐन कानून सांशोधन नभएसम्म गैरआवासीय नेपाली नागरिकता पूर्ण रुपमा लागू नहुने उनको भनाइ थियो ।  उनले गैरआवासीय नेपालीहरुको सम्पतिको सुरक्षाको लागि एनआरएन सम्बन्धी ऐनमा विशेष व्यवस्था गरिएको जानकारी दिए । डा.शर्माले भने, ‘प्रस्तावित संशोधित ऐनमा विदेशी नागरिकता लिएपछि पनि नेपाली नागरिकताको प्रयोग गरेर जोडेको सम्पति दुई वर्षभित्र स्वघोषणा गरेपछि कानुनी हुने गरी व्यवस्था गर्न लागिएको छ ।’ कार्यक्रममा नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनालले नेपालको संविधान अनुरुप एनआरएन नागरिकता वितरण सुरु भएता पूर्णरुपमा कानुनी व्यवस्था नहुँदा कार्यान्वयनमा अप्ठ्यारो रहेको बताए । उनले आवश्यक कार्यविधिहरु बनेर आइनसेकाले नेपाली दुतावासले नागरिकताको लागि सिफारिश दिन नसकेको जानकारी गराए ।  उनले सरकारको तर्फबाट प्रष्ट निर्देशन आएपछि दुतावासमार्फत एनआरएन नागरिकताको आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता जनाए ।   उनले नेपालका केही ऐन, कार्यविधि, नियमावली संशोधनको प्रकृयामा रहेको बारे जानकारी दिए । उनले सबै कानुनी प्रकृया पुरा भएपछि एनआरएन नागरिकता प्राप्त गरेकाहरुले पनि भिसा लिएर जानुपर्ने बाध्यता स्वतः अन्त्य हुने  बताए । एनआरएनए उपाध्यक्ष रामशरण सिमखडाले एनआरएन नागरिकताले आर्थिक, सांस्कृत र सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने बताए। उनले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नको लागि आवश्यक प्रकृयाको बारेमा जानकारी गराए । गैरआवासीय नेपाली नागरिकताको लागि संघका सम्पर्क व्यक्ति सरोज दाहालले गैरआवासीय नेपालीको नागरिकताको बारेमा जनचासो बढेको बताए । उनले गैरआवासीय नेपालीहरुको नागरिकता लगायतका मुद्दामा नेपालका राजनीतिक दलहरुको साझा धारणा रहेको बताए ।  कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङ, गैरआवासीय नेपाली संघको भूपूगोर्खा सम्बन्धी कार्यदलका संयोजक चन्द्र गुरुङ, काउन्सलर जीत रानाभाट, एनआरएनए यूकेका निवर्तमान उपाध्यक्ष मोहन कार्की लगायतले गैरआवासीय नेपाली नागरिकताको बारेमा जिज्ञासा राखेका थिए ।  गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष दिवाकर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनिष खत्रीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम रामप्रसाद कंडेलले सञ्चालन गरेका थिए ।  

इपिएस परीक्षा तोकेकै समयमा हुन्छ : इपिएस शाखा

काठमाडौं । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले मानव संसाधन विभाग (एचआरडी) कोरियाले यसअघि तोेकेको समय माघ २१ गते (फेब्रुवरी) मा गर्ने तयारी भएको जनाएको छ । सो शाखाका निर्देशक मैयाँ कँडेलले परीक्षा तोकेकै समयमा परीक्षा सञ्चालन गर्ने गरी तयारी भएको जानकारी दिए । एचआरडी कोरियाले इपिएस शाखालाई माघ २१ गते (ब्रुअरी ४) मा सूचना जारी गर्ने गरी तयारी गर्न भनेको छ । उनका अनुसार पहिलो चरणमा ४७ हजारको परीक्षा लिन्छौँ । त्यो परीक्षाको नतिजा आएपछि व्रmमशः दोस्रो र तेस्रो चरणको परीक्षा सञ्चालन गरिने उनको भनाइ छ । इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् । दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुने शाखाले जनाएको छ ।

मौसमी कामदारलाई शोषण हुने गरेको भन्दै कारवाही गर्न माग

लण्डन । बेलायतमा मौसमी कामदारका रुपमा काम गर्ने विदेशी श्रमिकहरु भर्ना शुल्क लगायतका क्रममा चर्को आर्थिक शोषणमा परेको र उनीहरु बाध्यकारी श्रमको अवस्थामा फसेको भन्दै आप्रवासी श्रमिकको अधिकारको पक्षमा काम गर्दै आएका सामाजिक संघसंस्थाहरु, प्राज्ञिक संस्थाहरु तथा अनुसन्धान गर्ने संस्थाहरुले बेलायती सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल, बंगलादेश र बेलायतमा कार्यरत ति संस्थाहरुले मौसमी कामदार (सिजनल वर्कर) को रुपमा काम गर्न बेलायत जाने श्रमिकले भोग्दै आएको समस्या प्रति चासो देखाउँदै समस्या सम्वोधनको लागि ध्यानाकर्षण गराएका हुन् । ति संस्थाहरुले बेलायतका आप्रवासन मामिला मन्त्री रोवर्ट जेनरिकलाई पठाएको पत्रमा बेलायतमा मौसमी कामदारका रुपमा काम गर्न चाहने आप्रवासी श्रमिकहरुले हजारौं पाउण्ड भर्ना शुल्कका रुपमा बुझाएको उल्लेख छ । नेपालबाट मौसमी कामदारका रुपमा बेलायत जानेहरुसँग भर्ना शुल्कको नाममा भारी रकम उठाइएको यथार्थ रहेको उल्लेख गर्दै पत्रमा हाल नेपालबाट श्रमिक लिन बन्द गरिएपनि बंगलादेशबाट श्रमिक लिन सुरु गरिएको र यसरी एउटा मुलुकमा देखिएको समस्या केवल श्रमिक पठाउने मुलुक परिवर्तन गरेर मात्र हल नहुने ति संस्थाहरुको निश्कर्ष छ । बंगलादेशको तथ्याङ्क विभागका अनुसार एकजना बंगलादेशी नागरिकले विदेशमा रोजगारी प्राप्त गर्न ३२ सय पाउण्ड खर्च गर्ने गरेका छन् । दक्षिण एसियामा नै बंगलादेशी श्रमिक चर्को भर्ना शुल्क तिर्नु बाध्य हुने मध्येमा पर्दछन् । गन्तव्यमुलुकमा उपलव्ध रोजगारी भन्दा रोजगारीका लागि जान चाहने श्रमिक धेरै भएको अवस्थामा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण गलत नियत भएका भर्नाकर्ताहरु, रोजगारदाता तथा दलाल (विचौलिया) हरुले शोषण गर्ने र बढी शुल्क असुल्ने गरेको पत्रमा उल्लेख गरिएको छ । गन्तव्य मुलुककै कारण श्रमिक पठाउने मुलुकहरुमा अनैतिक प्रतिस्पर्धाको वातावरण तयार हुने ति संस्थाहरुको निश्कर्ष छ । आप्रवासी श्रमिकको सुरक्षाका सन्दर्भमा बेलायत सरकारले पछिल्लो समयमा गरेका कतिपय सकारात्मक नितिगत व्यवस्था गरेपनि श्रमिक भर्ना र उनीहरुलाई रोजगारीमा लगाउने विषयमा थप काम गर्नुपर्नेमा जोड दिइएको छ । श्रमिकको भर्ना शुल्क र लागत खर्च रोजगारदाताले नै व्यहोर्नु पर्ने अन्तराष्ट्रिय श्रम संगठनले पारीत गरिसकेको विषय रहेको स्मरण गराउँदै पत्रमा गन्तव्य मुलुकमा रहेका वा श्रमिक पठाउने मुलुकका भर्नाकर्ताले श्रमिकसँग कुनै शुल्क उठाउन नपाउने विषयलाई सुनिश्चित गर्न, कसैसँग त्यसरी रकम उठाइएमा क्षतिपूर्ति वापत रकम फिर्ता गर्ने कोष निर्माण गर्न ति संस्थाहरुले ध्यानाकर्षण गराएका छन् । फेयर स्क्वायर, वर्क राइट्स सेण्टर, ल एण्ड पोलिसी रिफर्म फर सोसल जस्टीस (ल्याप्सोज), नेपाल, रिफ्यूजि एण्ड माइग्रेटोरी मुभमेण्टस् रिसर्च बंगलादेश, ज्वाइन्ट काउन्सील फर द वेलफेयर अफ इमिग्रेण्ट्स, बेलायत, वर्क सपोर्ट सेण्टर, दर्हाम युनिभर्सिटी लगायतका संस्थाहरुले पठाएको सो पत्रमा बेलायतले श्रमिक पठाउने मुलुकसँग थप नजिक भएर काम गर्नुपर्ने भन्दै यसले हाल लाग्दै आएको लागत खर्च न्यूनिकरणमा सहयोग पुग्ने जनाइएको छ । मलेसिया र बंगलादेशबीच सन् २०१२ र २०१५ मा भएको कृषि श्रमिक पठाउने सम्वन्धि सम्झौतालाई उदाहरणका रुपमा लिन सकिने उल्लेख गरिएको छ । रोजगारदाता परिवर्तनका लागि लचकता अपनाउन, कुनै समस्या आइपरेमा न्याय प्राप्तीमा श्रमिकको सहज पहुँच स्थापित हुने व्यवस्था गर्न पत्रमा माग गरिएको छ । बेलायतको अर्थतन्त्र र समाजमा महत्वपूर्ण योगदान गरिरहेका मौसमी श्रमिकको भर्नाको विषयमा बेलायती सरकारले आवश्यक ध्यान दिनेछ भन्ने अपेक्षा ति संस्थाहरुले प्रकट गरेका छन् । यस वर्ष बेलायतले मौसमी कामदारका रुपमा ४५ हजार व्यक्तिका लागि भिसा उपलव्ध गराउने छ । तर बेलायतमा मौसमी कामदारका रुपमा काम गर्न आउन चाहनेहरुमाथि हुने गरेको शोषण यस अगाडी खाडीका मुलुकमा रोजगारीका लागि जानेहरु माथि हुँदै आएको शोषण जस्तै हुने भन्दै ति संघसंस्थाहरुले यसमा सजग रहन बेलायती सरकारलाई चेतावनी दिएका हुन् ।

गुद्वारमा लुकाएर एक करोड साढे आठ लाख बराबरको सुन ल्याउने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले विशेष सूचनाको आधारमा गुद्वारमा लुकाएर सुन ल्याउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ३८ वर्षीय शुभम् मेहरा हुन्। उनले सुन गुद्वारमा लुकाएर ल्याएको पाइएपछि विमानस्थलमा शौच गर्न लगाएर सुन निकालिएको हो । उनले एक हजार २६८ ग्राम सुन लुकाएर ल्याएका थिए। उक्त सुनको मूल्य रु. एक करोड आठ लाख ४९ हजार पर्छ । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनको गतिविधि शङ्कास्पद देखिएपछि विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो। हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र बेलनाकार बनाई ल्याइएको दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।

दुवईमा घरेलु कामदारको सुरक्षा अवस्था श्रममन्त्री श्रेष्ठद्वारा अवलोकन

अवुदावी। संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाहरुबाट जानकारी लिएका छन् । बुधवार दुवईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्था (तडवीर सेन्टर)मा भ्रमण गरी घरेलु कामदारको कार्यस्थल अवस्था, कानूनी व्यवस्था, पारिश्रमिक, विदा, सामाजिक सुरक्षा, हिंसामा पर्नसक्ने जोखिम तथा सुरक्षाको प्रत्याभूति लगायतबारे जानकारी लिएका हुन् । सो अवसरमा युएईका सरकारी अधिकारी तथा तडवीर सेन्टर सञ्चालकले युएईमा घरेलु कामदारको सुरक्षा प्रत्याभूति रहेको बताएका थिए । उनिहरुले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउनुपूर्व गर्नुपर्ने तयारी, घरेलु कामदारको अधिकार तथा सुरक्षाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । सरकारले २०७३ सालदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपनि अवैध बाटोबाट आउने क्रम रोकिएको छैन । हालै सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । कानूनी बाटोबाट कामदार पठाउँदा भन्दा गैरकानूनी बाटोबाट जाँदा जोखिम बढेकोले कामदारलाई सुरक्षित र वैधानिक तरिकाले काम गर्ने वातावरण मिलाउनुपर्ने आवाज पनि उठेको छ । मन्त्री श्रेष्ठले घरेलु कामदारका रुपमा जाने श्रमिकलाई सुरक्षाको प्रत्याभूति दिने र व्यवस्थित बनाउनेबारे सरोकारवलाहरुसँग छलफल गर्दै आएका छन् । मंगलवार नेपाल र युएई संयुक्त समितिको बैठकमा पनि यसबारे छलफल भएको थियो ।

मर्यादा भित्र रहन हिराचनलाई एनआरएनए अध्यक्ष पन्तको चेतावनी

लण्डन । आफ्नो कार्यक्षेत्र नाघेर गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समिति बिगठन गर्ने पूर्वअध्यक्ष देवमान हिराचनलाई संस्थागत मर्यादामा रहन चेतावनी दिइएको छ । हिराचनलाई संघका अध्यक्ष कुमार पन्तले मंगलवार एक पत्र लेख्दै सो चेतावनि दिएका हुन् । पत्रमा सहमति र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसिसिलाई अस्वीकार्य हुने उल्लेख गरिएको छ । पन्तले राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्चस्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउन निर्देशन दिएका छन् । पन्तले आइसिसिको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाइ सकेको जनाएका छन् । उनले अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाई सकेको अवस्थामा निर्वाचनको वातावरण मिलाउनको लागि अनुरोध समेत गरेका छन् । हिराचनले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित विघठित उच्च्स्तरीय समितिको निर्णय भन्दै ८ बुँदे पत्र जारी गरेका थिए । सो समितिमा संघका पूर्वअध्यक्ष शेष घले थिए । विवाद मिलाउन जिम्मा लिएका घलेद्धारा गठित कार्यदलको प्रतिवेदन आफु अनुकुल नभएको र उच्चस्तरीय समितिको महाधिवेशन विवाद मिलाउन जारी गरिएको पत्रलाई ८ औं राष्ट्रिय समितिले अस्वीकार गरे पछि घले सो समितिबाट पछि हटेका थिए । पत्रको पूर्णपाठ श्री देवमान हिराचन, संरक्षक, गैरआवासीय नेपाली संघ बोधार्थः श्री शिव प्रसाद पौडेल, अध्यक्ष, राष्ट्रिय समन्वय परिषद् जापान श्री अम्बिका जोशी, कार्यबाहक राजदुत, नेपाली राजदुतावास, टोकियो बिषयः राष्ट्रिय समन्वय परिषद् जापान भङ्ग गर्ने कथित बक्तव्य बारे ध्यानाकर्षण । महोदय, उपर्युक्त सम्बन्धमा तपाईले मिति २०२२ फेब्रुअरी १५ तारिखमा उच्चस्तरीय समितिको नाममा राष्ट्रिय समन्वय परिषद् (एनसिसि) जापान भङ्ग गरिएको भनी जारी बक्तव्य प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । एनसिसि जापानका सम्बन्ध उचित निकास निकाल्नका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसि) को ८१ आंै बैठकले निवर्तमान अध्यक्ष भवन भट्टलाई जिम्मेबारी दिएको र उहाँले सबै पक्षसँग परामर्श गर्ने क्रममा रहनु भएको तपाईलाई जानकारी छ । उहाँले यथाशिघ्र समाधान निकाल्नु हुनेमा हामी विस्वस्त छौ । उच्चस्तरीय समितिलाई एनसिसि जापानका सम्बन्धमा काम गर्ने कार्यक्षेत्र तोकिएको छैन । बक्तव्यमा हबला दिए जस्तो उच्चस्तरीय समितिमा एनसिसि जापान भङ्ग गर्ने बारे कुनै पनि छलफल र निर्णय नभएको तपाई स्वयं जानकार हुँदा हुदै यस्तो भ्रमपूर्ण बक्तव्य जारी गर्नु भएकोमा म आश्चर्य चकित भएको छु । आइसिसिको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाए सकेको छु र अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाई सकेको छ । अतः यस्ता गतिविधिहरु गरी निर्वाचनको वातावरण नधमिलाउनको लागि अनुरोध गर्दछु । उच्चस्तरीय समितिले आइसिसिलाई सुझाव दिन सक्छ तर यस समितिले परिषदको कार्यकारी अधिकार प्रयोग गर्न सक्दैन् । राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्च स्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउनुको लागि म अनुरोध गर्दछु । संरक्षकको हैसियतले तपाईले सबै पक्ष बिच सहमती र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसिसिलाई अस्वीकार्य छ । संरक्षकको मर्यादा भित्र रहेर यस्ता गतिविधि तुरुन्त बन्द गर्न म तपाईलाई सचेत गराउँछु । कुमार पन्त अध्यक्ष, गैरआवासीय नेपाली संघ २०२२ फेब्रुअरी १५

युएईमा २ बर्ष भित्र ३ सय १८ जना नेपालीको मृत्यु ६ जनाको हत्या

युएई ।संयुक्त अरब इमिरेट्स युएईमा दुई बर्ष भित्र ३ सय १८ जना नेपालीको मृत्यु भएको छ। यहाँ स्थित नेपाली दूतावासले उपलब्ध गराएको तथ्यांक अनुसार २०२० जनवरी देखि डिसेम्बर भित्रमा १ सय ८६ जना नेपालीको मृत्यु भएको छ ।जसमा प्राकृतिक रूपमा ७९ जनाले ज्यान गुमाएका छन् भने ४४ जनाले आत्महत्या,२७ जना दुर्घटनामा,४ जनाको हत्या र कोरोना भाइरसको कारण ३२ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ। २०२१ को जनवरी देखि डिसेम्बर भित्र कुल १ सय २० जना नेपालीको मृत्यु भएको छ । जसअनुसार ६५ जनाको प्राकृतिक,२५ जनाको दुर्घटनामा र २८ जनाले आत्महत्या गरेका छन् भने १ जनाको हत्या र अर्को एक जना साउदी बोर्डर हत्या पछी शव लाई गाडिएको अबस्थामा प्राप्त भएको तथ्यांकमा उल्लेख छ। २०२२ को जनवरी महिनामा मात्रै १२ जना नेपालीले ज्यान गुमाएका छन् जसमा दुई जना भिजिट भिषामा युएई आएका समेत रहेको दूतावास स्रोतले जानकारी दिएको छ। मृत्यु भएका मध्य को को कुन कुन जिल्लाका हुन भन्न बारे भने दूतावासले खुलाएको छैन ।

काभ्रेकि मनिषा घिमिरे युएईमा सर्बोत्कृस्ट नर्सको उपाधी द्वारा सम्मानित

युएई । युनाइटेड अरब ईमिरेट्स (युएई) मा कार्यरत नेपाली नर्स बर्षको सर्बोत्कृस्ट नर्सले उपाधीले सम्मानित भएकी छिन । रस अल खैमहको शेख खालिफा हस्पिटलमा कार्यरत नर्स मनिषा घिमिरेलाई अल तामायुज मेडिकल हेल्थ केयर कम्पनीले नगद पुरस्कार सहित ‘वनर्स इम्प्लोयी अफ द यिअर अवार्ड’ले सम्मानित गरेको हो । फिलिपिन्स, भारत, क्यामरून, घना लगायत १९ देशका ३०० भन्दा बढी नर्स कार्यरत उक्त कम्पनीमा जम्मा ५ जना नेपाली नर्स कार्यरत छन् । ‘हामी नेपालीहरु आफ्नो काममा ईमान्दार हुन्छौं भन्ने प्रमानित गरेको छु, अवार्डले सम्मानित हुँदा खुशी लागेको छ’ घिमिरेले भनिन् । काममा निपूर्ण र इमान्दार भन्दै कम्पनीले घिमिरेको उच्च मुल्याङ्कन गरेको छ । काभ्रेपलन्चोक घर भएकी घिमिरे ६ बर्ष देखि युएईमा कार्यरत छिन् । हाल युएईमा १० हजार भन्दा बढी नर्सहरु कार्यरत रहेको अनुमान गरिएको छ भने करिब ५० हजार भन्दा बढी महिला कामदार रहेको अनुमान छ ।