महानगरको सक्रियतामा ठुला आयोजना निर्माण सम्भव भएका छन् : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निमाणका आयोजना अघि बढेको बताएकी छिन्। नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उनले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गरिन्। 

पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको विस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धनलगायत धेरै काम अवनरतको पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको प्रमुख दाहालको भनाई छ । 

'नारायणगढ बुटवल सडकखण्ड शिलान्यास भईसक्दा पुलचोक गोन्द्राङ सडकको विस्तरको काम भएको थिएन, संघीय बजेट भएपनि महानगरले नेतृत्व लिएको प्रष्ट पारिन् । विमानस्थल विस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले विस्तारको काम सुरु भएको छ,' उनले भनिन्। 

'रंगशाला अलपत्र बनेको थियो, अथक मिहिनेतपछि अहिले टेण्डरको काम अघि बढेको छ, भ्रमण वर्ष आयोजना गरि देशमै ठुलो सन्देश प्रवाह गर्न सफल भयौ', उनले भनिन -'काम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छ' उनले भनिन् 'काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ। यो छुट्टाउने काम जनता हो। जनता जनार्दन हुन्छन्।' भरतपुरको आफ्नो ७ वर्षे कार्यकालमा धेरै काम भई सकेको र बाँकी ३ वर्ष पनि धेरै काम गर्न सकिने प्रमुख दाहालको धाराणा थियो। 

जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ। २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए। 

सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए। त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए । त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो।

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ। चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या साढे पाँच लाखको हारहारीमा पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि चैत महिनासम्म रोजगारीका लागि पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् ।  चालु आवको नौ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । विभागका अनुसार चालु आवको नौ महिनामा पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि एक लाख ३७ हजार ९८१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ ।  अघिल्लो महिनासम्म नेपाली श्रमिकको तेस्रो श्रम गन्तव्य रहेको साउदी अरब चैत महिनामा तथ्याङ्क हेर्दा दोस्रो स्थानमा छ । यस अवधिमा साउदी अरबका लागि एक लाख पाँच हजार ५७० वजन श्रम स्वीकृति लिएका छन् । अघिल्लो महिनासम्म दोस्रो श्रम गन्तव्य देश रहेको कतार चैत महिनाको तथ्याङ्कले तेस्रो श्रम गन्तव्य बनेको छ । अछिल्ला दुई वर्ष नेपालीको पहिलो श्रम गन्तव्य बनेको देश मलेसिया चौथो श्रम गन्तव्यमा मलेसिया परेको छ । यस्तै यस अवधिमा दक्षिण कोरियाका लागि १० हजार २०९ जनाले श्रम स्वीकृति लिएका छन्।  विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको सुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गतका दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य देश बन्न सफल भएको उहाँको भनाइ छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले गत महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको आठ महिना (फागुन महिना) सम्म नौ खर्ब ६१ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । गत वर्ष सो अवधिमा सात खर्ब ९४ अर्ब रुपियाँ विप्रेषण भित्रिएको थियो । विप्रेषण भित्रिने दरमा २१ प्रतिशतले वृद्धि भएको हो ।   

भरतपुर महानगरद्धारा विपद् सामग्री हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनका लागि विपद् सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री आज भरतपुर महानगरपालिकामा एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले सम्बन्धित संस्थालाई हस्तान्तरण गरिन्। नेपाली सेना नयाँ सवुज गण, सशस्त्र प्रहरी बल आँपटारी, नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नारायणी नमुना मावि, गौरीगञ्ज लाइन स्कुल टोल विकास संस्था, वडा कार्यालय १, २४ र २७ लाई विपद् सामग्री हस्तान्तरण गरिएको हो । सम्बन्धित निकायहरुले विपद् व्यवस्थापनका सामग्री अत्यन्त जरुरी भएको भनि माग गरेपछि महानगरपालिको निर्णयपछि विपद् सामग्री वितरण गरिएको प्रमुख दाहालले जानकारी दिइन्। वन्यजन्तु, आगलागी, नदी डुबान र स्वास्थ्य सम्बन्धी विभिन्न २६ वटा विपद्का सामग्री प्रदान गरिएको हो । जसमा खोज तथा उद्दार सामग्रीहरु रहेका छन् । ९ लाख बराबरको समाग्री महानगरपालिकाले हस्तान्तरण गरेको हो ।यी सामग्रीको हस्तान्तरणले समुदायस्तरबाट पनि विपद् व्यवास्थापनमा सहयोग पुग्ने अपेक्षा महानगरको छ ।

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।आज २०८१ साल वैशाख ११ गते मंगलबार सन् २०२४ अप्रिल २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया सफा छ । विभागले दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ । देशका बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया मौसम सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  लुम्बिनी प्रदेशलगायत कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागका अनुसार आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

रूसी सेनाका परिवार दुतावास नजिकै सामूहिक अनशनमा

काठमाडौं। अनशनरत रूसी सेनामा कार्यरत नेपालीका आफन्तहरुले रुसको दूतावास नजिकै सामूहिक अनशन बसेका छन् । रुसमा रहेका नागरिकको जीवन रक्षाको माग गर्दै परिवार र आफन्तहरुले सोमबार बालुवाटारस्थित रुसको राजदूतावास नजिकै सामूहिक अनसन बसेका हुन् । परिवारहरुले दूतावासअघि अनशन बस्‍न खोजे पनि रोक लगाइए पछी उनीहरु दूतावासको नजिकै बसेका छन् । अनसन बसेकाहरुले रुसी सेनामा गएका सबै नेपालीको अवस्था सार्वजनिक, रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता, रूसी सेनामा भर्ती भएकाहरु र युक्रेनको कब्जामा रहेकाहरुको सकुशल उद्धारको माग राख्दै प्लेकार्ड प्रदशन पनि गरेका छन् ।

केपीजीलाई विश्वास गर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति विश्वास रहेको बताएका छन्। नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै एकता र सहमतिबाट मात्रै देशमा ठूला राजनीतिक परिवर्तन भएको बताए। उनले भने, ‘क्याबिनेट बैठक लम्बिएपछि म समयमा आउन पाइन, यहाँ जुन भिडियो क्लिप प्रस्तुत भयो सबै त मैले हेर्न पाइनँ।त्यो समीक्षात्मक रिपोर्ट हेरे । मलाई त्यहाँ बस्दै गर्दा कमरेड केपी ओलीले त्यस्तो नकारात्मक टिप्पणी माओवादीको बारेमा खासै गरिएको छैन भन्नुभयो म केपीजीलाई विश्वास गर्न चाहन्छु ।’

एमालेलाई देउवाको प्रश्नः मदनको हत्यारा खोज्न कसले रोकेको छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमालेलाई चुनौति दिएका छन् । उनले भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई गाली गर्नमात्र लागेको टिप्पणी समेत गरे । नेकपा एमालेको आयोजनामा जारी हीरक महोत्सव कार्यक्रममा विशेष सम्बोधन गर्न गोदावरीमा उपस्थित भएका पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफू मदन भण्डारीको बारेमा राम्रै बोल्नेगरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै झोक्किन पुगे ।  देउवाले भने, ‘गाली गरेपछि जवाफ त दिनुपर्‍यो, मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ?’  पछि ड्राइभर पनि मारिएको भन्दै उनले मदन भण्डारीलाई आफूले राम्रो नेताका रूपमा चिन्ने बताए ।  उनले प्रश्न गरे ‘मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ?’ उनले मदनको हत्यारा पत्ता लगाउन कांग्रेसले नरोकेको भन्दै प्रश्न गरे,  ‘कांग्रेसले रोकेको हो ? खोइ पत्ता लागेको हो ? मलाई विरोध र गाली गरेर केही हुँदैन । तपाईहरुले पत्ता लगाउनुपर्‍यो ।’

गण्डकीको मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट सर्वोच्च अदालतमा न्यायाधीश सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । सभामुखको समेत समर्थन लिएर एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएको र यो संविधान विपरीत हुने भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले २९ चैतमा सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले खगराज नेतृत्वको सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि यो मुद्दामा विपक्षीहरुसँग ७ वैशाखभित्र लिखित जवाफ माग्दै सर्वोच्चले १० वैशाखदेखि नियमित सुनुवाइ गर्ने आदेश दिएको थियो । सोही अनुसार सोमबारदेखि यो मुद्दामा सुनुवाइ सुरु भएको हो । चैत २५ गते एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दल र माओवादी संसदीय दलको नेताको समर्थन पेश गरेका थिए । माओवादी संसदीय दलमा हाल सभामुख रहेका धितालको समेत गणना गरिएको र यो संविधान विपरीत हुने कांग्रेसको दावी छ ।

गुल्मीमा आगलागीबाट लाखौँको क्षति,इस्मामा मात्रै जले १५ भन्दा बढि घर गोठ जले

तम्घास । आगलागीबाट गुल्मीमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।विभिन्न ठाउँमा आगलागी हुँदा लाखौं रुपयाँको धनमालको क्षति भएको छ । गुल्मीको इस्मा गाउँपालिका –२ सिदुङ्खा, मैनडाँडा क्षेत्र आसपासमा भिषण आगलागी भइरहेको छ । प्रहरीका अनुसार उक्त आगलागीबाट हालसम्म निम्न व्यक्तिहरुको घर गोठ चौपाय क्षेती भएको छ । १.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने बसुन्धार कुवरको घर बङ्गालो पुर्णरुपमा जली क्षेति भएको,निजको बङ्गालोमा रहेको ८ बोका ,५ बाख्रा ,२ भैसि जली मृत्यु  २.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने चन्द्र बहादुर कुवरको घर, कुटानि पिसानि मिल, किराना पसल,बङ्गालो जली पुर्णरुपमा क्षेती भएको, ३.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने सुर्य बहादुर कुवरको घर बङ्गालो जली पुर्ण रुपमा क्षेती भएको, ४.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गन बहादुर कुवरको घर ,२ बङ्गालो १ भैसि,१ पाडो , ४ बाख्रा जली मृत्यु भएको  ५.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने ऋषि राम कुवरको घर जली पुर्ण रुपमा क्षेती भएको, ६.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने रमेश थापाको घर गोठ जली पुर्णरुपमा क्षेती भएको, ७.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने होम बहादुर मल्लको बङ्गालो जली पुर्ण रुपमा क्षेती भएको। ८.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने लिला बहादुर थापाको घर कटेरो जली पुर्णरुपमा क्षेती भएको , ९.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने टिका बहादुर रायामाझीको घर ,बङ्गालो ,१ बाख्रा जली मृत्यु भएको १०.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गोल बहादुर थापाको किराना पसल ,२ बङ्गालो  ११.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने धर्मराज थापाको घर, गोठ, कुटानि पिसानि मिल २ भैसि ,२ बाख्रा जली मृत्यु १२.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने ईन्द्र बहादुर थापाको किराना पसल ,३ गोठ जली क्षेती  १३.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने राम बहादुर थापाको घर,गोठ जली पुर्णरुपमा क्षेती भएको   १४.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गिता थापाको १ गोठ, १ भैसि जली मृत्यु  १५.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने सरिता मल्लको १ घर, १ बङ्गालो जली क्षेती  प्रहरीका अनुसार थप विवरण आउन बाँकी रहेको छ ।

एकैदिन प्रतितोला ११ सय रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । आज सोमबार सुन–चाँदीको मूल्य घटेको छ।आइतबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो। शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको भाउ प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।  आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १७ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटिने

काठमाडौं । वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटिने भएका छन् ।  निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित ढंगले सम्पन्न गर्न भन्दै उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।  आयोगले प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइएको जनाएको छ । उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् । यस्तै, बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने व्यवस्था गरिएको छ ।  उपनिर्वाचनमा परिचालन हुने जनशक्तिको नियुक्ति निर्वाचन अधिकृतको कार्यालयले गर्ने कानुनी व्यवस्था छ । 

शिक्षक महासंघको महाधिवेशन आज सुरु हुँदै

काठमाडौं। नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आज सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने घोषणा गरेको छ । महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे ।

सम्पर्कविहिन १६ प्रहरीबारे आयो यस्तो सूचना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्क विहीन भएका १६ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन सूचित गरेको छ।  सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म १६ जनालाई सम्पर्कमा आउन भएको हो।  सूचनामा आफूखुसी गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन भनिएको छ। अन्यथा सेवाबाट हटाएर कारवाही गरिने चेतावनी समेत प्रहरी प्रधान कार्यालयले दिएको छ। 

नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठ, उपाध्यक्षमा गंगालाल सिंगार निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल पौडी संघको ५औँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठको प्यानल विजयी भएको छ । शनिबार भएको अधिवेशबाट पौडीले नयाँ कार्यसमिति पाएको हो । यो सँगै पौडीमा अशोकरत्न बज्राचार्यको कार्यसमितिको ४२ वर्षदेखिको विरासत तोडिएको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा श्रेष्ठ निर्विरोध हुँदा वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, तीन उपाध्यक्षमा गंगालाल सिंगार,जुनाकुमारी कठायत र चित्रराज भट्ट निर्वाचित भएका हुन् । महासचिवमा ईश्वर कार्की, सचिवमा क्रमशः रञ्जन भट्टराई र गंगालाल गोले, कोषाध्यक्षमा दिलीप वैद्य, सहकोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ रहे । सदस्यता दीपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, उमेश प्रधान, डम्बरबहादुर तामाङ, भरत तामाङ, बिष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रूपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरीष गुरुङ रहेका छन् ।

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौँ । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । उनी इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् । हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ। साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिका विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ।  हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यस वर्ष वैशाख ११ देखि १३ गते सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ। कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह समेत सहभागी हुनेछन्। प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।