‘मेरो कामलाई भावी पुस्ताले समेत स्मरण गर्नेछन्’ : प्रधानमन्त्री

काठमाडौं, मंसीर १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपांगहरुको सवालमा भावी पुस्ताले समेत स्मरण गर्न योग्य खाले काम गर्ने बताएका छन् ।

२५ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा बालुवाटारमा विभिन्न संगठनहरुद्वारा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामीले विश्वका विकसित भनिएका देशका संविधान पनि हेरेका छौं ।

हाम्रो संविधान अपाङ्गहरुको अधिकार र सहज जीवनयापनका लागि पूर्ण छैन । तर, अपाङ्गमैत्री छ । यसको सफल कार्यान्वयन गर्न सक्दा धेरै अधिकारहरु प्राप्त हुनेछन् ।’ नेपालको संविधान अपाङ्गमैत्री रहेको बताउँदै उनले भने, ‘संविधानले राष्ट्रिय सभामा अपाङ्गहरुको प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।

याे पनि पढ्नुस  प्रचण्ड र ओलीबीच भेटवार्ता, यस्ताे भयाे सहमति

अब हामीले स्थानीय तहदेखि नै नीति निर्माणमा अपाङ्गहरुको प्रतिनिधित्व गराउनेतिर बल गर्नुपर्छ । संविधानले जति व्यवस्था गरेको छ, अब कानुन बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने चुनौति हाम्रासामू छ । मैले अपाङ्गहरुका पक्षमा भावी पुस्ताले समेत स्मरण गर्ने गरी काम गर्न खोजेको छु ।’

याे पनि पढ्नुस  देश युवाहरुलाई नै जिम्मा लगाउने हो : प्रचण्ड (भिडियोसहित)

कार्यक्रममा प्रचण्डको नेतृत्वमा रहेको अपाङ्गता अधिकार सम्बन्धी डेक्सलाई तुरुन्तै सक्रिय पारेर काम अघि बढाउने बताए । अपाङ्गहरुको जीवन निर्वाह भत्ता ज्यादै न्यून भएको र यसलाई बढाउन आफूले पहल गर्ने पनि उनले बताए । निजामति र सरकारी सेवामा रहेका अपाङ्ग कर्मचारीहरुले स्वास्थ्यका कारण काम गर्न नसकेमा निश्चित मापदण्ड बनाएर पेन्सनको व्यवस्था गर्ने व्यवस्थाका लागि पनि उनले पहल गर्ने बताएका छन् ।

याे पनि पढ्नुस  इतिहासमा एमाले र माओवादी एकअर्काका पुरक थिए – प्रचण्ड

प्रधानमन्त्रीले संविधान कार्यान्वयन गरी निर्वाचनमा जानु सरकारको प्राथमिकता रहेको जानकारी दिँदै छिटै राजनीतिक दलहरुबीच सहमति जुट्ने बताए ।
कार्यक्रममा अपाङ्गका प्रतिनिधिहरुले संविधानमा अपाङ्ग अधिकारको सुनिश्चितता, सहज जीवन यापन, अपाङ्गमैत्री संरचना, रोजगारी लगायतका विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्