Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कविता: ‘परदेशको कुनाबाट’

 

 

ओम प्रसाद फुयाँल

om prasad phuyal

अलि पर छ
मनले पुज्ने मेरो भगवान
उ त्यो लमतन्न सुतेको
कन्चनजंगाले क्षितिजलाई छोएर
हाँसेको हिमाल सँगसँगै ।

गुराँस, डाँफे अनि मुनाल छमछमी
नाचेको आवाज सुन त
लस्करै भारी बोकी हिडेका खच्चरको
घाटीमा झुन्डाइएको टिन–टिन आवाज सुन त
सेतो फुलेको दाह्री, कपाल लिएर
मुसुक्क हाँस्दै छन् सेर्पा बूढा
सायद आज खच्चर तिर्खाएको छैन होला ।

इतिहासले ठगेको मेरो भाग्य रेखा
कोर्नु अघि नै
खै के गरेछन बाजेहरुले
यो धमिलो आँखा,
रोएको मनले
सधै सगरमाथाको काख सम्झिरहन्छु म
पशुपतिको आशीर्वाद
अनि स्वयम्भूको आँखा
तसर्थ अचेल सुगौली सन्धिले
पोलिरेहेछ
छटपटी मन शान्ति खोज्दै
परदेशको एउटा कुनाबाट
मैले पुज्ने भगवान चिहाइरहेछु
कन्चनजंगाले क्षितिजसँग
लुकामारी खेलेको दिशातिर !

कमेन्ट गर्नुहोस्

%d bloggers like this: