बिराटनगर, पुस ११ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक स्केटबोर्ड खेलको प्रदर्शनी भएको छ । सोमबार बिराटनगरको सहिद रंगशालामा नेपाल स्केटिंग तथा स्केटबोर्डिंग सङ्घद्वारा स्केटवोर्ड खेल आयोजना भएको हो ।
उक्त खेलमा सातजना खेलाडीहरु सन्दिप शाह ठकुरी, गीता तामाङ, मिलन शाह ठकुरी, मनोज पाण्डे, राकेश मगर, अनिश देउला र राजु नेपालीले प्रदर्शन गरेका थिए ।
गतवर्ष मात्रै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको यस संघले नेपालमा स्केटबोर्ड खेलसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु स्केटबोर्ड खेलको आयोजना, रेफ्री कोर्स, सोलिडारिटी कोर्स, सभासमारोहहरू आयोजना गर्दै आइरहेको छ ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक खेलमा स्केटबोर्ड खेललाई समावेश गरेपछी नेपालले पनि स्केटबोर्ड खेलमा ओलम्पिकमा सहभागिताका लागि आवश्यक तयारी गरिरहेको संघका अध्यक्ष अच्युत खनालले जानकारी गराए । ओलम्पिक खेलमा सहभागिता सम्बन्धमा नेपाल ओलम्पिक कमिटीसँग कुरा भैरहेको खनालले जानकारी दिए ।