महसुल नबुझाउनेको बिजुली लाईन काट्न थालेपछि रकम असुली बढ्दै

चितवन, पुस १४ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा रु ९७ लाख २५ हजार ६४७ बक्यौता रकम उठाएको छ ।

कार्यालयले लामो समयदेखि महसुल नबुझाउनेको ग्राहकको लाइन काट्न थालेपछि बक्यौता रकम असुली गरेको हो । लाइन काटिएका ग्राहकमध्ये ५०६ जना ग्राहकले बक्यौता रकम बुझाएको कार्यालयले जनाएको छ ।

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार कार्यालयले पछिल्लो समयमा सरकारी कार्यालयप्रति पनि बक्यौता उठाउनका लागि लाइन काट्न थालेको छ । जसमध्ये कार्यालयले अहिलेसम्म जिल्ला शिक्षा कार्यालय, जिल्ला अदालत, जिल्ला जनस्वास्थ्य कार्यालय, डिभिजन सडक कार्यालयको निवास, नापी कार्यालयलगायतको लाइन काटेर बक्यौता असुल गरेको छ । अन्य बक्यौता रकम बढी रहेका कार्यालयको पनि लाइन काट्ने प्रक्रिया भइरहेको उहाँले बताउनुभयो ।

याे पनि पढ्नुस  ...चौका, छक्का हान्यो

कार्यालयको सडक बत्तीसहित रु २६ करोड बराबरको बक्यौता रकम रहेको छ । जसमध्ये रु नौ करोड ग्राहकको रहेको छ । ग्राहकमध्ये सबैभन्दा धेरै एसके इलेक्ट्रिकको रु तीन लाख ५१ हजार ४६१, सुलभ प्लास्ट्रिकको रु दुई लाख ७९ हजार ५४९ र चितवन कोल्ड स्टोरको रु दुई लाख ६३ हजार २९७ रहेको कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  भरतपुरमा सिटीहल निर्माण प्रक्रिया अन्तिमचरण : प्रमुख रेणु

लामो समयसम्म बक्यौता नतिर्ने चार सय ३५ ग्राहकलाई वितरण केन्द्रले कालोसूचीका लागि क्षेत्रीय कार्यालयमा पठाउने तयारी थालेको इन्जिनियर पौडेलले बताउनुभयो । उहाँका अनुसार विद्युत् माग गर्ने ग्राहकको चाप पनि कार्यालयमा बढी रहेको छ । मङ्सिर महिनामा मात्रै विद्युत्को माग गर्दै एक हजार १०५ जनाले निवेदन दिएका छन् । रासस

कमेन्ट गर्नुहोस्