म्याग्दी, पुस १४ । म्याग्दीको बेनी नगरपालिका–४ खबरा पिपलडाँडाकी ८२ वर्षीया बेसाहारा इन्द्रकली भण्डारीलाई राससबाट प्रेषित समाचारले आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएको छ ।
राससमा ‘८२ वर्षीया बेसहारा भण्डारीको बिजोग, न खाने अन्न, ओढ्ने कपडा’ शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रसारण भएपछि देश विदेशबाट सहयोग जुटेको बताएको छ ।
अनलाइनमा राससको समाचार पढेर बेनपा–३ बिमिराबोट घर भई हाल अमेरिकामा रहेका मिलन थापाले आफ्नी आमा पम्फा थापामार्फत नगद रु १० हजार सहयोग गर्नुभएको छ ।
यसैगरी बेनपा–३ ज्यामरुककोटको परिवर्तनशील आमा समूहले पाँच हजार र बेनपा–४ का यामबहादुर खड्काले रु एक हजार सहयोग गरेको छ । त्यस्तै गौश्वाराका भीम सापकोटाले बिएस ओभरसिज काठमाडौँबाट रु १२ हजार बराबरको लत्ताकपडा र खाद्यान्न, दानबहादुर थापा (हाल कतार) ले आफ्नो जन्मदिनको अवसरमा रु तीन हजार बराबरको खाद्यान्न र नगद सहयोग गरेको छ ।
ती सहयोग रकम, खाद्यान्न र लत्ताकपडासहित स्थानीय समाजसेवी धु्रव सागर शर्माले पीडित इन्द्रकली भण्डारीलाई हस्तान्तरण गरेको छ ।
लोग्नेले सम्पत्ति बेचेर सकेपछि घरवारविहीन बनेकी भण्डारीलार्ई खाने, अन्न र ओढ्ने कपडा नहुँदा अर्काको घरमा भोकभोकै जाडोले कठ्याङ्ग्रिदै दिन र रात कटाउनुपर्ने बाध्यता थियो ।
वृद्धा भण्डारीले आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।