रोल्पा, पुस १४ । माओवादीको जनयुद्ध बामे सर्दै थियो । उमेर २२ वर्ष । त्यही मेसोमा श्रीमान् गङ्गाराम पुन वर्ग संघर्ष भनेर एकाएक भूमिगत पस्ने निर्णयमा पुगे । प्रसशस्त्र युद्धका सुरुआतीका ती दिन । प्रहरीको आँखा छलेर बच्दै गङ्गाराम घर आउने जाने चलिरहेको थियो । जसले गर्दा उनलाई श्रीमान विहीनताको अनुभूति भएन ।
२०५८ साल मङ्सिर ११ गते सरकारले सङ्कटकालको घोषणा गर्यो तब, सुरु भए धनमायाका दुःखका दिन । श्रीमान्सँग भेट हुने त कहाँ हो कहाँ आफू र साना छोराछोरीसमेत असुरक्षित भएको महसुस हुँदै गयो । धनमायासँग पनि एउटै मात्र विकल्प भयो भूमिगत हुनु । श्रीमानको कार्यक्षेत्र प्यूठान आफू भने रोल्पामै । शान्ति सम्झौता हुनुभन्दा करिब दुई वर्ष पहिले सेनाको घेराबन्दीमा परी श्रीमान् गङ्गारामको निधन भयो । धनमायाका जीवनमा एउटा वर्ग संघर्षलाई माया गर्ने वर्गीय पक्षधरहरुको साइनो त थियो, तर, जीवनसाथीका लागि सधैं उनी एक्लै भइन् ।
माओवादी सशस्त्र युद्धताका रोल्पामा मात्रै पति गुमाएका ३ सय ६८ जना एकल महिला तथ्याकंले देखाएको छ । धनमाया त्यसको प्रतिनिधि पात्र हुन धवाङ–२ रोल्पाकी धनमाया पुन । २२ वर्षकै कलिलो उमेरमा देश बदल्न हिँडेका गङ्गारामले न देश बदलिएको देख्न पाए न त आफ्नो परिवार नै बदल्न सके । श्रीमानको सेनाद्वारा हत्या भएपछि साना छोराछोरीको संरक्षणमा जुटेकी धनमाया देवर तुकमान पुनको समेत युद्धमै मृत्यु हुँदा थप पीडित भइन् । उनले हार नखाएर कर्तव्य पूरा गरिरहिन् । पार्टीको गाउँस्तरीय कार्यकर्ताका साथै घरको गृहिणीको समेत भूमिका निर्वाह गर्दै गइन् । “सङ्घर्षका बीचमा बाँच्न सक्नु जिन्दगीकै फरक अनुभूति रहेछ” अचेल साथीभाइसँग अनुभव बाँड्दै धनमायाले भन्छिन् ।
स्थानीय शान्ति समिति रोल्पाको तथ्याङ्कअनुसार रोल्पामा २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ को बीचमा सशस्त्र युद्धबाट प्रभावित वा पीडित हुने महिलाको सङ्ख्या बढि भएको देखाएको छ । त्यस्तै अपहरणमा परेका २ सय ४८ मध्ये ४२ जना महिला रहेको तथ्याकंमा उल्लेख छ ।
यसैगरी विस्थापित ३ सय ४१ घरधुरीमध्ये ६ सय ५५ जना महिला छन् । सशस्त्र युद्धमा देशमै सबैभन्दा बढी मृत्यु हुनेको सूचीमा रोल्पा पर्दछ । रोल्पामा एक हजार आठजनाको मृत्यु भएको थियो जसमध्ये १ सय १८ जना महिला रहेका थिए ।
यसैगरी हालसम्म बेपत्ता रहेका ५३ जनामध्ये सातजना महिला छन् । टुहुरा १ सय ८३ बालबालिकामध्ये ८७ जना बालिका छन् । सशस्त्रयुद्धमा अपाङ्ग हुने ६ सय ४६ मध्ये १ सय १५ जना महिला रहेका छन् । कार्यदलले सूचीकृत गरेर राहत पाउन योग्य एकल महिलाको सङ्ख्या रोल्पामा ३६८ जना रहेको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ ।
युद्धताका श्रीमती गुमाएका पुरुषमध्ये अधिकांशले अर्को विवाह गरिसकेका छन् । पुनर्विवाहपश्चात् पुरुष नयाँ जीवनको सुरुवात भएको अनुभूति गरिरहेका छन् । तर श्रीमान् गुमाएका महिलामध्ये अधिकांशले पुनर्विवाह गरेका छैनन् । “एकाधले दोस्रो विवाह गरेका होलान्, नत्र अधिकांशले विवाह गरेका छैनन” मानव अधिकारकर्मी खेम बुढामगरले रासससँग बताए। “पुरुष प्रधान सोंचका कारण पुरुषले तत्कालै विवाह गरिहाल्ने र महिलाले मृतक श्रीमानकै नाममा बाँकी जीवन एक्लै जीउने देखिएको” बुढामगरले बताए ।
“उनीहरुमाथि लैङ्गिक हिंसा र घरेलु हिंसा, घरायसी सम्पूर्ण कार्यबोझ त छँदैछ त्यसमाथि आर्थिक बोझसमेत थपिएको छ । सरकारले दिने भनेको राहत पनि एकमुष्ट नदिएका कारण उनीहरुले ठोस काम नगरी घरायसी खर्च गर्दा कुनै रुपान्तरण गर्न नसकेको” बुढाको भनाइ छ । “एकल महिलालाई हेर्ने कुदृष्टि अझै विद्यमान रहनुका साथै अहिलेसम्म न्याय पाउन नसक्नु द्वन्द्वपीडित महिलाको मुख्य समस्या” देखिएको उनको आँकलन छ ।
“द्वन्द्वकाल वा अन्य अवस्थामा एकल भएका महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्था एउटै रहेको मानव अधिकारका लागि एकल महिलाकी अध्यक्ष तुलसा आचार्यकोे भनाई छ । “आर्थिक अवस्था कमजोर भएका तथा कसैको आश्रयमा बस्नुपर्ने अवस्था रहेका एकल महिलाले नारकीय जीवन बिताउनुपरेको” – उहाँको भनाइ छ । “द्वन्द्वका समयमा एकल भएका र अन्य एकल महिला भनेर कित्ता काट गर्नुको साटो उनीहरुको संरक्षणमा एक हुनुपर्ने” महिला अगुवा पुष्पा श्रेष्ठको तर्क छ । “एकल महिलालाई दिने सामाजिक सुरक्षा भत्ता कम भएको भन्दै श्रीमान् गुमाएका एकल महिलाका साथै अन्य कारणले एकल भएका महिलालाई पनि राज्यले सामाजिक सुरक्षा भत्ता दिनुपर्ने” उनको माग गरे ।
बन्दुक बोक्न र हलो जोत्न पनि पछाडि नपरेका रोल्पाली महिलाको अवस्था निकै दयनीय रहेको महिला मानव अधिकारकर्मी तीर्था आचार्यले बताइन । “सशस्त्र युद्धको समयमा बलात्कृत भई जन्मिएका बालबालिका अहिले नागरिकता बनाउने उमेरमा पुगेका छन् । बाबु किटान हुन नसक्दा अहिले उनीहरुको भविष्यसमेत अन्धकार भएको” उनले भनिन । अपाङ्ग भएका महिलालाई कसैले न्याय दिन नचाहेको उनले बताइन ।
“माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा महिलामाथि सरकार र विद्रोही दुवै पक्षबाट यातना र यौनजन्य हिंसा भएको” द्वन्द्व प्रभावित श्रीकुमारी रोकाको भनाइ छ । श्रीमान् गुमाएका, छोरा गुमाएका र आफैँ यातना भोगेका महिलालाई अरु महिलाभन्दा थप पीडा भएको छ । “राजनीतिक पहुँच भएका एकाध महिलाको अवस्थामा अनपेक्षित परिवर्तन आएको देखिए पनि समग्र द्वन्द्वपीडित रोल्पाली महिलाको अवस्था दयनीय हुँदै गएको” उनको भनाई छ ।
“सशस्त्र द्वन्द्वमा श्रीमान् गुमाएका एकल महिलालाई हालसम्म रु पाँच लाख राहत दिइसकिएको” प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । “द्वन्द्वपीडित परिवारलाई छात्रवृत्ति, घाइते अपाङ्गलाई जीवन निर्वाह भत्ता आदि नामबाट राहत वितरण गरिएको” शर्माको भनाई छ । रोल्पामा जातीय र लैङ्गिक हिसाबले विभेद कम भए पनि आर्थिक अवस्था कमजोर भएका कारण एकल महिलामा यो समस्या हुन सक्ने प्रजिअ शर्मा बताए ।