लक्ष्मी परियारका हत्यारालाई कारवाही हुन्छ–प्रधानमन्त्री

काठमाडौँ,पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लक्ष्मी परियारको हत्यारालाई कुनैपनि हालतमा कारवाही हुने बताएका छन् । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिले आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा भइरहेको जातीय भेदभाव तथा छुवाछूत घटनामा संलग्न दोषीमाथि कारबाही गरेरै छोड्ने प्रतिवद्धता जनाए ।

याे पनि पढ्नुस  दुर्ज कुमारले ‘हुन्छ’ भन्नुस भने, ...अनि मज्जाले हाँसे प्रचण्ड !

प्रधानमन्त्री ‘प्रचण्ड’ ले दलित समदायले प्राप्त गरेका उपलब्धि कमजोर हुँदै गएका कारण पनि दिन प्रतिदिन छुवाछूतका घटना बढ्दै गएको बताए । उनले विभेदका विरूद्ध दलित समुदायबीचको एकता अहिलेको अपरिहार्य आवश्यकता रहेको पनि बताए ।

लक्ष्मीका हत्यारालाई हदैसम्मको कानुनी कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, मलमूत्र खुवाएको घटनामा मिलापत्र गराउने प्रहरीलाई कारबाही गर्नुपर्ने, झुठा मुद्दामा फसाउने नियतका साथ हिरासतमा राखिएका लक्ष्मी परियारका श्रीमानको तत्काल रिहाइ गर्नुपर्ने र काभ्रे सानोबाङ्थलीका दलित परिवारको सुरक्षा गर्नुपर्ने लगायतका माग गर्दै समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

याे पनि पढ्नुस  मधेशी मोर्चा बालुवाटारमा, नयाँ मोर्चाबन्दीको रणनीति तयार हुने

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक डम्बर विश्वकर्माले आजको २१औँ शताब्दीमा समेत मान्छेले मान्छेलाई छुवाछूतको आडमा विभेद गर्दै हत्या गर्दासमेत सरकारले दोषीमाथि कारबाही गर्न नसकेको गुनासो गर्नुभयो ।

सांसद तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जीतु गौतम, नेपाल दलित सङ्घकी महासचिव लक्ष्मी परियार, नेपाल दलित मुक्तिमोर्चाका अध्यक्ष तिलक परियार र दलित नागरिक समाजका अगुवा पदम सुन्दास लगायतले छुवाछूतको घटनामा संलग्न दाषीमाथि कारबाही नगरेको खण्डमा आफूहरू तत्काल देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए । रासस

कमेन्ट गर्नुहोस्