काठमाडौँ, पुष १५। उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकको औद्योगिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरी त्यसलाई अझ उत्पे्ररित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल ऊनीफेल्ट उत्पादक तथा निर्यात सङ्घको आठौँ वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उनले देशको औद्योगिक विकास र उन्नयन गर्नु सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।
मन्त्री जोशीले भने– “औद्योगिक विकासको हिसाबले हामी धेरै पछाडि पर्यौं, अब राजनीतिलाई दोष दिएर हुँदैन, द्वन्द्वग्रस्त विश्वका कैयौँ देशले औद्योगिक विकास गरेका छन्, हामी पनि त्यसबाट पाठ सिकौँ र अगाडी बढौं,” भन्दै औद्योगिक विकासका लागि निजी क्षेत्रले ठोस प्रस्ताव र योजना ल्याउनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकको आर्थिक समृद्धिका लागि महासङ्घले सधैँ सरकारसँग सहकार्य गरिरहेको बताउँदै उद्योगधन्दा फस्टाउने वातावरण बनाउन सरकार सशक्त ढङ्गले लाग्नुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक विकासका कुरा धेरै गर्ने तर काम कम गर्ने परीपाटीको अन्त्य हुनुपर्ने आवश्यकता औल्याए ।
सङ्घका अध्यक्ष नरेशलाल श्रेष्ठले चालु आवका आठ महिनामा रु एक अर्ब २७ करोडको फेल्टजन्य सामग्रीको निर्यात भएको जानकारी दिए ।
ऊनलाई साबुन पानीमा जमाएर आकर्षक आकार दिने फेल्टबाट गलैँचा, जुत्ता, झोला र खेलौनालगायत सामग्री उत्पादन गरिन्छ । हाल नेपालमा सय भन्दाबढी फेल्ट उद्योग सञ्चालनमा छन् । रासस