च्या ल्होसारमा रमेका गुरुङहरुको नालिबेली

गुरूङहरू खासगरी अन्नपूर्ण हिमशृङ्खलाको दक्षिणी काँठका मूल बासिन्दाहरू हुन् । शेर्पाहरूका अनुसार हिमालयमा यती र म्हिती नामक हिममानवहरू बस्दछन्। अहिले यतीको व्यापक रूपमा प्रचार–प्रसार भएको छ तर म्हितीको बारेमा भने धेरै चर्चा परिचर्चा पाइँदैन । हिमालयको माथिल्लो भागमा बस्ने बाँदरजस्तै जीवलाई यती भन्दछ । हिमालयको तल्लो भागमा बस्ने र मानिससँग मिल्दोजुल्दो हिममानवलाई म्हिती भनिन्छ । म्हितीचाहिँ हिमालयको तल–तल चौंरी गोठतिर पनि आउँछ भन्ने विश्वास छ । वास्तवमा यती र आधुनिक मानवबीचको अवस्थाको हिममानव म्हिती हो । योगी नरहरिनाथले पनि मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा हिममानव भेटेको वर्णन गर्नुभएको छ ।

गुरूङहरूमा म्हि (मान्छे) हराए हिमालमा जानू, पे (शास्त्र) हराए सिकलेस जानू भन्ने कहावत छ । यसबाट मानिसको सृष्टि हिमालमा भएको हो । त्यसकारण मानिसको बीउ हिमालमा पाइन्छ भन्ने गुरूङहरूको विश्वास रहेको बुझिन्छ । यस आधारमा अघि जुन बेलामा स क्येजि (धर्तीको सृष्टि भयो), मु क्येजि (आकाशको सृष्टि भयो), त्यही बेलामा सई तोजि (धर्तीले थापेर), मुई उजि (आकाशले छोपेर), म्हि क्येजि (मानिसको सृष्टि भयो), त्यस अवसरमा गण्डकीप्रदेशको अन्नपूर्ण हिमशृङ्खलामा सृष्टि भएका धर्तीपुत्रहरू र कालान्तरमा कैलाश मानसरोवरबाट सबुतोंक्ह्याल्स (जुम्लाको सिँजा), डोल्पाको थेबैक्वे (तिबृकोट), मुस्ताङको ठिनिक्ह्याल्स र मनाङको कोल हुँदै साबिक लमजुङ र हाल कास्कीको क्होलसोंप्रेट्हों आइपुगेका यी दुई समुदायको समन्वयबाट वर्तमान गुरूङ समाजको सृजना भएको छ ।

tamu1

यस जगत्मा जीवको सृष्टि भएका आदिम स्थलहरूमा नेपालको कालीगण्डकी क्षेत्र प्रसिद्ध छ । अघि समुद्र उत्तरतिर थियो । समुद्रको गर्भबाट जमिनको भाग माथि उठेपछि जमिनको होचो भाग दखिनतिर समुद्र बन्यो र उँचो भाग उत्तरतिर हिमाल बन्यो । अहिले कालीगण्डकीको मुहान दामोदरकुण्डमा शालिग्राम पाइन्छन । ती शालिग्रामहरू अघि समुद्रको गर्भमा रहेका विभिन्न जीवहरूका जीवाष्म हुन् । यस्ता जीवाष्महरू संसारमा अन्यत्र पाइएका छैनन् ।

कालान्तरमा कैलाश मानसरोवरबाट सबुतोंक्ह्याल्स (जुम्लाको सिँजा), डोल्पाको थेबैक्वे (तिबृकोट), मुस्ताङको ठिनिक्ह्याल्स र मनाङको कोल हुँदै साबिक लमजुङ र हाल कास्कीको क्होलसोंप्रेट्हों आइपुगेका यी दुई समुदायको समन्वयबाट वर्तमान गुरूङ समाजको सृजना भएको छ ।

मुस्ताङकै बाह्रगाउँ क्षेत्रका काकनिङ्बा, ते र समरका ढुंगे गुफाहरूमा नवपाषाणयुग (ई.पू. ७०००–ई.पू.५०००) भन्दा अघिका प्रागैतिहासिक मानिसले खोपेका विभिन्न पशुपक्षीका आकृतिहरू पाइएका छन् (पोहले, २००३ : १५३ : १–१४) । यसैगरी, मुस्ताङको तल्लो भाग टुकुचेनेर चोखो पानीमा आदिम मानिसका गुफा चिहान पाइएको छ । यस गुफा चिहानलाई ईसापूर्व १२०० देखि ईसापूर्व ७०० वर्ष ताकाको मानिएको छ (तिवारी, १९८५ : ८५ : १–१२) ।

उपल्लो मुस्ताङमा अमपाल (ई.१४४०) र उनका वंशजको शासन चल्नुभन्दा अघि ईस्वी सातौं शताब्दीताका नै मुस्ताङको बाह्रगाउँ क्षेत्रमा सेरिब नामक राज्य विकसित थियो । उक्त सेरिब राज्यको सम्बन्ध कैलाश पर्वतदेखि पश्चिममा अवस्थित बोन भूमि शाङ शुङसँग रहेको थियो । चिनियाँ स्रोतअनुसार तिब्बतको दक्षिण–पश्चिममा तिब्बतभन्दा न्यानो ठाउँमा ज्कष्(ीष् नामक राज्य विकसित थियो । त्यहीलाई नै प्राचीन सेरिब राज्य मानिएको छ (ज्याक्सन, १९७८ : ६ : ३ : १९८–१९९) । सेरिब राज्यका बासिन्दाहरू से कहलाउँथे (ज्याक्सन, त्यही : २१२) । यसैगरी, सेरिब राज्यका बासिन्दाहरू सेक्ये (से भाषा) बोल्थे । अहिले पनि बाह्रगाउँको ते इलाकाका बासिन्दाहरू सेक्ये (से भाषा) बोल्छन । माथि उल्लेखित काकनिङबाको ढुंगे गुफाका ती कलाकृतिहरूलाई से भाषा र से संस्कृतिसँग सम्बन्धित मानेका छन (पोहले, २००३ : १५३ : ४) ।

से जाति र सेक्ये (से भाषा) सँग गुरूङ जाति र भाषाको नजिकको सम्बन्ध रहेको छ (सयमन, १९८२ : १–२) । गुरूङको प्राचीन कथा पेमा गुरूङलाई से भनिएको छ, जस्तै, सोबुसे (सोगिँ घराना) र कुबुसे (कुगिँ घराना) यसका ज्वलन्त उदाहरण हुन् । अघि कुनै बेला गुरूङहरूलाई गुरूङसे भनिन्थ्यो । अहिले गुरूङसेको से अक्षर लोप भइसकेको छ तर गुरूङ महिलालाई भने अहिलेसम्म पनि गुरूङसेनी नै भनिआएको छ । प्है क्युई, चों क्युई, लो क्युई र तमू क्युई गरी भाषाको यस विकास क्रमबाट वर्तमान गुरूङ भाषाको विकास भएको छ । गुरूङहरूको यही चों क्युईहरूको भाषा नै सेक्ये हो । कास्की जिल्लामा मादी नदीको उद्गमस्थल चन्दा अलिकति तलतिर दाहिने पट्टिको पाखोमा प्राचीन गुरूङ सभ्यता र संस्कृतिले युक्त सिकलेस नामक एउटा गुरूङ गाउँ अवस्थित छ । सिकलेसलाई गुरूङ भाषामा चिली भनिन्छ । उपरोक्त चिलि शब्दको बीचमा समानता पाइन्छ । अर्को कुरा गण्डकीप्रदेशको दखिनी हिमाली काँठलाई शेष भनिन्छ । त्यसकारण गुरूङहरूलाई शेषान्त पनि भनेको पाइन्छ । यो शेष शब्द संस्कृत भाषाको शेष (बाँकी) शब्दसँग नभएर प्राचीन सेरिब राज्यको से जाति र से भाषासँग यसको सम्बन्ध रहेको छ ।

गुरूङ वंशावलीमा रागस्य राजा र भ्यागस्य राजाको उल्लेख छ (गुरूङ, २०३४ : २) । यी रागस्य र भ्यागस्य व्यक्तिको नाम नभएर घले राजा र शाही राजा भनेजस्तै जातिगत नाम हुन् । यी रागस्य र भ्यागस्यहरू नै यहाँका भूमिपुत्रहरू हुन् । गुरूङ भाषाका प्रायः सबैजसो शब्दका माउ शब्दहरू तिब्बती भाषामा पाइन्छन, तर तिब्बती भाषामा माउ शब्द नभएका छुट्टै शब्दहरू पनि गुरूङ भाषामा पाइन्छन । यसरी तिब्बती भाषामा माउ शब्द नभएका मौलिक शब्दहरू यहाँका भूमिपुत्रहरूका भाषा हुन् । रागस्यलाई नेपालीमा राकसे भनेको पाइन्छ । अघि कास्कीका राजा राकसे गुरूङले आक्रमण गर्दा पर्वत, मल्लाज, माझफाँटका घर्तीहरूले त्यहाँको पोखरीमा आफ्ना भाँडाकुँडाहरू लुकाएको वर्णन पाइन्छ (श्री ५ को सरकार, २०३१ : ३ : ४४५) ।

मुस्ताङको गुफा सभ्यता र संस्कृति मनाङको सब्जेप्ह्रन्गगुफा, क्होलसोंप्रेट्होंको च्ह्यम्स्यो उ (झुमागुफा), कास्की, सिकलेसको ह्राम्स्योगुफा, घ्याम्राङको ओडारगुफा र लमजुङ, पसँगउँको छेदगों गुफासम्म आइपुगेको छ । यसरी अन्नपूर्ण हिमशृङ्खलाको दखिनी पाटाका बस्तीहरू प्राचीन सेरिब राज्यको सीमान्त प्रदेशका रूपमा रहेको बुझिन्छ । नेपालमा अहिलेसम्म ठूलो ढुंगे संस्कृतिको बारेमा अध्ययन अनुसन्धान भए गरेको पाइएको छैन । गुरूङहरूको आदिम थलो साबिक लमजुङ र हाल कास्कीको क्होलसोंप्रेट्होंमा ठूलो ढुंगे संस्कृतिको राम्रो नमुना पाइन्छ । यहाँको सभाघरको आँगनमा क्होल राज्यको त्हो (मौलो) को रूपमा ८ फिट ६ इन्च अग्लो प्राकृतिक ढुंगा गाडिएको छ । यस मौलो ढुंगाको तलपट्टिको गहिराइ थाहा पाउन सकिएको छैन । क्होलमा उत्खनन गर्दा धेरै तलसम्म खन्दा पनि फेद फेला पार्न नसकेकोले खन्न छोडेको हो भनिन्छ । यसबाट यो ढुंगा कम्तीमा पनि १५–१६ फिट अग्लो हुनुपर्छ ।

नेपालमा अहिलेसम्म ठूलो ढुंगे संस्कृतिको बारेमा अध्ययन अनुसन्धान भए गरेको पाइएको छैन । गुरूङहरूको आदिम थलो साबिक लमजुङ र हाल कास्कीको क्होलसोंप्रेट्होंमा ठूलो ढुंगे संस्कृतिको राम्रो नमुना पाइन्छ ।

यसैगरी, क्होलको बस्तीको सिरानमा १०–१२ फिट उचाइ भएका तीनवटा ढुंगालाई तीनचुले आकारमा गाडेर त्यसमाथि १५ फिट गोलाइ भएको गोलो ढुंगा राखिएको छ । उक्त गोलो ढुंगालाई घनले हानेर गोलाइ मिलाइएको छ । क्होल राज्यको जोखना हेर्नका लागि तान्त्रिक विधिले यो ढुंगा स्थापना गरिएको हो । क्होलमा पछिल्लोपटक बस्ती बस्नुभन्दा अघिका रैथाने भूमिपुत्रहरूले यो म्हुद युम (जोखना हेर्ने ढुंगा) स्थापना गरेको बुझिन्छ । क्होल राज्यको यो म्हुद युम (जोखना हेर्ने ढुंगा) बाट नेपालमा पनि ठूलो ढुंगे संस्कृतिको विकास भएको पुष्टि हुन्छ ।

कास्की जिल्लामा ताङतिङदेखि माथि नामर्जुङको डाँडामा ढुंगाको घेरो लगाएर स–साना ढुंगाहरू थुपारी राखेको छ । यहाँ ढुंगाले ढुंगा ब्याउँछ र बर्सेनि ढुंगा थपिँदै जान्छ भन्ने विश्वास छ । वास्तवमा नामर्जुङडाँडाको यो ढुंगाको थुप्रो पुरानो ढुंगेयुगका मानिसका ढुंगाका हतियारका भण्डार हो । यसैगरी, लमजुङ, पसँगउँको छेद्गोंगुफामा पनि स–साना ढुंगाहरू थुपारेर राखेको छ । यी ढुंगाहरू पनि पुरानो ढुंगेयुगका मानिसका हतियार हुन् । अतः पसँगउँको छेद्गोंगुफा पुरानो ढुंगेयुगका मानिसले बसोबास गरेको गुफा हो भन्ने बुझिन्छ । पुरानो ढुंगेयुगका मानिसले प्राकृतिक ढुंगालाई नै आफ्नो हतियारका रूपमा प्रयोग गर्थे भने नयाँ ढुंगेयुगका मानिसले ढुंगालाई राम्ररी घोटेर बन्चरो बनाई आफ्नो हतियारका रूपमा प्रयोग गर्थे । यो कुरा यस सन्दर्भमा स्मरणीय छ । त्यसकारण ठूलो ढुंगे संस्कृतिका निर्माता एवम् त्यस संस्कृतिका अनुयायी गुरूङहरू नेपालका भूमिपुत्र हुन् भन्ने प्रमाणित हुन्छ ।

अर्को राम्रो नमुना कास्कीको सिकलेस गाउ“मा पाइन्छ । सात सय सिकलेसको सभा बस्ने सभाटोलमा दुईटा क्ह्रों युम (तालुकीढुंगा) स्थापना गरिएका छन् । यी दुईटा ढुंगालाई चैंयुम भनिन्छ । यसैगरी, सभाच्होमा गारो लगाएर त्यसमाथि ढुंगाका एघारवटा छप्पनीहरू राखिएका छन् । यी एघारवटा ढुंगाका छप्पनीहरूलाई छैंयु “म भन्छ । भूमे पुज्ने बेलामा उपरोक्त एघारवटा छप्पनीमध्ये नवौं छप्पनीलाई चोखोपानी र गाईको गोबरले लिपपोत गर्नुपर्छ । घोक हाल्ने म्हिनले नुहाइधुवाइ, चोखीनीति गरेर चोखो लँगौटी मात्र लगाउनुपर्छ । लगौंटी बाहेक अरु लुगा लगाउन हुँदैन । त्यसपछि पहिलो ढुंगाबाट टेक्दै गई नवौं ढुंगामा पातीको मुन्टा राखेर ढोग गरी त्यसमाथि टेकेर उभिनुपर्छ । उक्त ढुंगालाई पनि रेखा कोरेर दुई भाग बनाएको छ र रेखा बाहिर डिलतिरको भागमा टेकेर उभिई घोक हाल्नुपर्छ ।

यसैगरी, सिकलेसको गाउँमाथि वनभित्र सात सय सिकलेसको ट्होंथेब (भूमेथान) छ । उक्त भूमेथानमा ढुंगाका सोह्रवटा छप्पनीहरू ओछयाएर राखिएका छन् । भूमेथानमा ओछ्याइएका सोह्रवटा छप्पनी ढुंगामध्ये नौवटा छप्पनी ढुंगामा सिकलेस नौ तालुकका नौजना तालुकदार मुखियाहरू बस्छन् । अरू चारवटा छप्पनी ढुंगामा सिकलेसको मुख्य चार टोलका चारजना म्हिन (कारबारीकाजी) हरू बस्छन् । एउटा छप्पनी ढुंगामा भूमेका पुजारी सिकलेस गैह्रीटोलको स्युरिधुँटुँल्ह्येबृँ बस्छ । एउटा छप्पनी ढुंगामा स्यरो (भूमेपूजामा भोग दिएको भेडाको सर्वांगको एक–एक टुक्रा मासु) र एउटा छप्पनी ढुंगामा ल्ह्येबृँको प्यौं (दस्तुरअनुसारको अन्न) राख्छ । सिकलेसको यस भूमेपूजामा भूमिपुत्र एवम् आदिवासीहरूका गणपूरक संख्याको मान्यतालाई कायम राखिएको छ ।

अरू चारवटा छप्पनी ढुंगामा सिकलेसको मुख्य चार टोलका चारजना म्हिन (कारबारीकाजी) हरू बस्छन् । एउटा छप्पनी ढुंगामा भूमेका पुजारी सिकलेस गैह्रीटोलको स्युरिधुँटुँल्ह्येबृँ बस्छ ।

लमजुङको पसँगउँ, भुजुङ र क्होएरों (तल्लो घनपोखरा) मा पनि यस्ता तालुकी ढुंगाहरू स्थापना गरिएका छन् । यस सन्दर्भमा लमजुङ, भुजुङको थुम्पो ढुंगा बडो संवेदनशील र मार्मिक छ । अघि भुजुङका कुँगि घरानाका पोम र प्हज्यु तथा प्ल्हिगिँ घरानाका ङिजि लामछानेले आफ्नो गाउँको शान्ति, सुरक्षा र विकास निर्माणका निमित्त एक हुनका लागि आचा वाचा बाँधेर त्यसको स्मृतिका लागि दुइटा ढुंगा खापेर राखेका थिए, जुन ढुंगा प्हजों युम्पोको नामबाट प्रसिद्ध छ । भुजुङको यस युम्पो ढुंगाले नेपालमा राम्रो नमुना प्रस्तुत गर्छ । यसका अतिरिक्त भुजुङको यस युम्पो ढुंगाले केवल त्यस बेलाका पोम, प्हज्यु र ङिजि लमेलाई मात्र नभई अहिले र जहिले पनि समस्त गुरूङहरूलाई आफ्नो सामाजिक सुसंगठन एवम् सांस्कृतिक संरक्षण, सम्बर्द्धन तथा विकासका लागि एकताबद्ध हुन अभिप्रेरित गर्दै राम्रो सन्देश दिइरहेको छ ।

मुस्ताङको ठिनी (क्ह्याल्सोम्पो) सँग गुरूङहरूको ऐतिहासिक सम्बन्ध गाँसिएको छ । ठि (राजगद्दी) भएको ने (स्थान) भएको हुँदा क्ह्याल्सोम्पोलाई ठिने भनेको र कालान्तरमा ठिनेबाट ठिनि भएको हो । ठिनि (क्ह्याल्सोपो) लाई गुरूङहरू ठिनिक्ह्याल्स भन्छन । गुरूङको वंशावलीमा सबुतोंक्ह्याल्स (जुम्ला, सिँजा) का घले राजा सतिक्ह्यालका कान्छा छोरा ललिक्ह्यालले क्ह्याल्सोम्पो (ठिनिक्यह्याल्स) मा आई रजाइँ गरेको उल्लेख छ (गुरूङ, २०३४ : ७) । ठिनिक्ह्याल्ससँग नोचन खोर्लो ह्रिमरछेको पनि सम्बन्ध रहेको छ । ठिनिक्ह्याल्समा अजिमो–प्हजिमो नामक भूत उत्पन्न भएर उपद्रो मचाउँदा नोचन खोर्लो ह्रिमरछेले उक्त अजिमो–प्हजिमोलाई मारी ठिनिक्ह्याल्समा शान्ति र सुव्यवस्था कायम गरेर उनी त्यहाँका राजा भएको उल्लेख नोचन खोर्लो ह्रिमरछेको पे (कथा) मा पाइन्छ । नोचन खोर्लो ह्रिमरछेको पे (कथा) मा उनीसँग माथिबाट आउने पहिरो र तलबाट आउने हुरीलाई छेक्न सक्ने सामर्थ्य भएको उल्लेख छ । ठिनिक्ह्याल्समा माथिबाट नीलगिरिको हिमपहिरो आउँछ । तलतिर सेपक्कै लगाएर कालीगण्डकी बगेको छ । त्यहाँ बिहान ७ः३० बजेदेखि साँझ ६ बजेसम्म उत्तरतिरबाट लगातार ठूलो हुरी चल्छ । यसरी नोचन खोर्लो ह्रिमरछेको पे (कथा) मा उल्लेखित उनको शक्ति, सामर्थ्य र ठिनिक्ह्याल्सको भौगोलिक अवस्थितिमा समानता पाइन्छ ।

अघि तिब्बतमा न्यठि चन्पो, ल्ह थोथोरि न्यनचन, नमरि स्रोङचन, स्रोङचनगम्पो, ठिरोङ दे चन, ठिदे स्रोङचन आदि चन उपाधिधारी प्रतापी राजाहरू थिए (स्नेलग्रोव र रिचार्डशन, २००३ः २३, २६, २७, ५०, ५२) । चन्पो अथवा चनको अर्थ अधिकारयुक्त एकमात्र राजा हुन्छ (स्नेलग्रोव र रिचार्डशन, त्यही, ५८)। मंगोलियन भाषामा राजालाई शानयु वा शान भनेको पाइन्छ (सांकृत्यायन, २०४२ : ८१) । यसबाट मंगोलियन भाषाको शानयु वा शान शब्द र तिब्बती भाषाको चन्पो वा चन शब्दका बीच सामन्जस्यता रहेको पाइन्छ । राजालाई जनाउने त्यही चन्पो वा चन शब्दलाई गुरूङहरूले पनि अपनाएर आफ्ना राजाको नोचन खोर्लो ह्रिमरछे नाम राखेका हुन् ।

कुनै पनि ठाउँको भूमिपुत्र र आदिवासी हुनका लागि त्यस ठाउँको भूमिसँग तिनिहरूको सम्बन्ध रहेको हुनुपर्छ र उनीहरूको भाषा, धर्म, संस्कृति र भेषभूषामा आदिमपना हुनुपर्छ । गुरूङहरूको भाषा, धर्म, संस्कृति र भेषभूषाले उनीहरू गण्डकी प्रदेशका भूमिपुत्र र आदिवासी हुन् भन्ने प्रमाणित गर्छ । गुरूङका पज्यु, ल्ह्येबृँ र लम (लामा) गरी तीन वर्गका पुरोहित छन् । पज्यु–झाँक्री, ल्ह्येबृँ– बोन र लम (लामा) चाहिँ बौद्धमार्गी हुन् । झाँक्रीको सम्बन्ध प्रकृतिसँग रहेको हुन्छ । गुरूङका लम (लामा) र ल्ह्येबृँले आफ्नो शिरमा पञ्चबुद्धका चित्रको मुकुट लगाउँछन । मानिसले देवीदेवताको स्वरूप बुझेर विभिन्न प्रकारका रंगहरू थाहा पाएर चित्र लेख्न जानेपछि चित्रकलाको विकास भएको हो । पज्युले भने आफ्नो शिरमा दायाँपट्टि डाँफेको भालेको दायाँपट्टिकै प्वाँख र बायाँपट्टि डाँफेको भालेको बायाँपट्टिकै प्वाँखको मुकुट लगाउँछ । पज्युको ह्राल्बो (चुच्चेटोपी)को टुप्पामा मोहोडातिर फर्काएर घोरलको एक जोडा सिङ जडान गरेको हुन्छ । त्यसमा कस्तूरी, बाघ र बनेलको दाह्रा झुन्ड्याएको हुन्छ । कौडी पनि जडेको हुन्छ । कस्तूरीको दाह्रालाई बाना भन्छ । लम (लामा) ले तलतिर फलामको तीनपाटे चुच्चो परेको र माथितिर पित्तलको वज्र भएको वज्रकिल (त्होर्जेफुर्ब) लाई आफ्नो मुख्य आयुधका रूपमा लिन्छन ।

ल्ह्येबृँले काठको चरालाई आयुधको रूपमा लिन्छन । मानिसले धातुलाई चिनेर त्यसलाई विशेष आकृतिमा ढाल्न सक्ने प्रविधि विकास गरेपछि धातुको सम्मिश्रण गरेर वज्रकिल बनाउन जानेको हो । त्यसैगरी, काठमा विभिन्न रूपको आकृति बनाउन जान्ने सीप र कलाको विकास भएपछि काठको चरा बनाउन जानिएको हो । पज्युले तलपट्टि चोसो परेको फलामको ढुंग्रोमा दुम्सीको काँडा हालेर त्यसलाई आफ्नो तन्त्र साधनाको मुख्य उपकरणका रूपमा प्रयोग गर्छन् । अतः पज्युको दुम्सीको काँडा ल्ह्येबृँको काठको चरा र लामाको धातुको वज्रकिलभन्दा आदिम र प्रकृतिसँग सम्बन्धित छ ।

लामाको ढ्यांग्रो दुवैतिर मोरेको दुईपाखे हुन्छ । ल्ह्येबृँ र पज्युको ढ्यांग्रो एकातिर मात्र मोरेको एकपाखे हुन्छ । एकपाखे ढ्यांग्रोबाट नै दुईपाखे ढ्यांग्रोको विकास भएको हो । ल्ह्येबृँको ढ्याङ्गो ठूलोखालको र पज्युको ढ्यांग्रो सानो हुन्छ । सानो खालको ढ्यांग्रोबाट ठूलो ढ्यांग्रोको विकास भएको हो । पज्युले चैंगि (खोटसल्लो) को काठको घेरामा घोरलको छाला र बेतको तनाले मोरेको ढ्यांग्रोलाई कुकुरडाइनेको गजाले बजाउँछ । लामागुरु र ल्ह्येबृँगुरु आफूले झ्याली बजाउँछ र अरू सहायकहरूले ढ्यांग्रो बजाउँछन, तर पज्युगुरु आफैंले ढ्यांग्रो बजाउँछ र झ्यालीचाहिँ अरू सहायकहरूले बजाउँछन । मानिसले धातु चिनेर त्यसलाई विशेष आकृतिमा ढाल्न जानेपछि झ्यालीको विकास भएको हो ।

त्यसमा पनि गुरूङ समुदायमा झ्याली बनाउन सक्ने प्रविधिको विकास भएको छैन । काठमाडौं, पोखरा र तानसेनका बाँडाको पसलमा गुरूङहरूले झ्याली किन्ने हो तर एकपाखे ढ्यांग्रो भने आफैंले बनाउन सक्छ । पज्युले ढ्यांग्रो बजाउँदा सबैभन्दा पहिले भूतको ढ्यांग्रोको ताल बजाउनुपर्छ । पज्युको ढोलमा मुजुरा हालेर खरी लगाउन पनि हुँदैन र सादाखालको हुन्छ । ढोलमा मुजुरा हालेर खरी लगाउने प्रविधि पनि पछि विकास भएको हो । पज्युमा दुम्सीको काँडाले बान हान्ने र रिट्ठाको गेडाले बान फर्काउने तान्त्रिक विधान छ । यसैगरी, भेद फर्काउनका लागि पज्युले धनेश चराको टाउको प्रयोग गर्छ । यसरी पज्युको भेषभूषा र साजबाजमा हिमालको डाँफेको प्वाँख र कस्तूरीको दाह्रा, उच्च पहाडी भागको चैंगि (खोटसल्लो) र घोरल, मध्य पहाडी भागको दुम्सीको काँडा, बेंसीको बेत र रिट्ठाको गेडा तथा मधेसको धनेश चराको टाउकाको साथै समुद्रको कौडीसमेत उपयोग गरेको पाइन्छ ।

पज्युको परिचयले पनि उनको शास्त्र यही हिमाली क्षेत्रमा विकास भएको पुष्टि गर्छ । पज्युले आफ्नो परिचय यसरी दिन्छन–
लों गुरु (दक्षिणको गुरु अर्थात् चेपाङ गुरु र थारु गुरुको कूटज्ञान पनि मैले साधेको छु), च्ह्यों गुरु (उत्तरको गुरु अर्थात् भोटे लामा गुरुको सद्ज्ञान पनि मैले साधेको छु) तर ङ गुरु (मेरो गुरु) थाँदर मों (हिमाल, पहाड, खोला, छहरा, भीर र वन पाखाको प्राकृतिक स्रोत र शक्तिको) ल्हिलाया ङ क्हेम्ज्यो (मैले स्वरूप धारण गरेको छु) । लमजुङ हिमालको फेदीको पग्रेंडाँडा पज्युको प्रमुख साधनास्थल हो । अतः पज्युलाई पग्रें पज्यु भन्छ । कोकलिम्हार्सों (म्याग्दीको रूप्से छहरा) लाई मान्छेको सातो लाने र मरेको मान्छेको टाउको खाने भूतको राजा बस्ने ठाउँ मान्छ । अतः पज्युको शास्त्र एवम् संस्कृतिले नेपालको जल, जमिन र जंगलसँग भूमिपुत्र गुरूङहरूको अन्तरसम्बन्ध रहेको वास्तविकतालाई राम्ररी स्पष्ट पार्छ ।

डाँफेचरन (उच्च हिमालीक्षेत्रको खर्क खर्चरी) र माछाचरन (बेंसीको पहेंली धान झुल्ने खेत) गुरूङहरूको जैविक विविधता हो । श्रीपञ्चमीदेखि आकाशमा कर्याङकुरुङ चरा भूमध्यरेखा पार गरेर उत्तरतिर लाग्छन, धर्तीमा न्याउली चरी कराउन थाल्छ र सर्पले कुरबाट टाउको बाहिर निकालेर आफ्नो दुइटा जिब्रो फट्कार्न थाल्छ । अतः श्रीपञ्चमीदेखि गुरूङहरूको ताओम (उँभौली) सुरु हुन्छ । यसैगरी, नागपञ्चमीदेखि आकाशमा कर्याङकुरुङ चरा उत्तरी ध्रुवबाट दखिनतिर फर्कन थाल्छन र धर्तीमा झ्याउँकीरी कराउन थाल्छ । त्यसकारण नागपञ्चमीदेखि गुरूङहरूको माप्हुम (उँधौली) सुरु हुन्छ । फागुन १२ देखि सगर गर्जन्छ र त्यसको थर्कोले धर्ती कमलाउन थाल्छ । धर्ती कमलाएपछि जमिन खेतीयोग्य हुन्छ र खेतबारीमा जोतचास गर्न थालिन्छ । जेठमा बाढी हुन थालेपछि माछाहरू शिर ठाडो गरेर ठाडो खोलातिर पस्छन ।

भदौ १२ देखि डाँफे चरनमा हिमालको चिसो सिरेटो चल्न थाल्छ र भेडीको मुली माउले दखिनतिर टाउको फर्काउँछ । भेडीको माउले दखिनतिर टाउको फर्काएको देखेपछि भेडी गोठालाले एक कान्ला तल गोठ सार्नुपर्छ । यसैगरी, भदौ १२ देखि खण्डवृष्टि भएर खोलाको पानी घट्न थालेपछि माछाहरू टाउको उँधो गरेर ठूलो खोलातिर लाग्छन । गुरूङहरूले बेंसीबाट गोठ लेकतिर लगेपछि चैतमा उँभौली पूजा र असोजमा बडादसैं भन्दा पहिले उँधौली पूजा गर्छन् । पुस १५ गतेदेखि पृथ्वीको उत्तरी गोलार्द्धमा सूर्यको किरण सोझो पर्न थाल्छ । अतः पुस १५ गतेदेखि रात लामो हुनेक्रम अन्त्य भएर दिन लामो हुनेक्रम सुरु हुन्छ । वर्ष भनेको सूर्यको प्रत्यक्ष गति हो । त्यसकारण दिन लामा हुँदै जाने पुस १५ गते गुरूङहरू ल्होछार (नयाँ वर्ष) मनाउँछन । यसरी गुरूङहरूको जीवनचक्र प्रकृतिको समयचक्रमा आधारित छ । यसरी प्रकृतिको समयचक्रसँग आफ्नो जीवनचक्र आश्रित हुनु भूमिपुत्रहरूको सांस्कृतिक विशेषता हो ।

फागुन १२ देखि सगर गर्जन्छ र त्यसको थर्कोले धर्ती कमलाउन थाल्छ । धर्ती कमलाएपछि जमिन खेतीयोग्य हुन्छ र खेतबारीमा जोतचास गर्न थालिन्छ । जेठमा बाढी हुन थालेपछि माछाहरू शिर ठाडो गरेर ठाडो खोलातिर पस्छन ।

मेसोपोटामियामा ई.पू. ३००० ताका विकसित सुमेरियन, बेबिलोनियन र असिरियन सभ्यता र संस्कृतिमा देवतालाई बलि दिएको भेडाको मुटु, कलेजोमा जोखना हेरेर शकुन–अपशकुन बताउने चलन थियो (सिन्हा र प्रसाद, १९७६ : ३५, ७०) । नेपालमा जुम्लाको सिँजादराको जंगलमा वि.सं. २००६ सम्म वनमान्छेले मृग मारेर त्यसको मुटु–कलेजोमा जोखना हेरेको घटना पाइन्छ (जोशी, २०२८ : ९) । गुरूङहरूमा देवीदेवता र पितृलाई बलि दिएको पशुपक्षीको मुटु, कलेजोमा जोखना हेरेर शकुन–अपशकुन बताउने परम्परा अहिले पनि जीवन्त अवस्थामा रहेको छ । गुरूङ समुदायमा विद्यमान पशुपक्षीको मुटु, कलेजोमा जोखना हेरेर शकुन–अपशकुन बताउने यस परम्पराले गुरूङ संस्कृतिको आदिमपनाको नमुना प्रस्तुत गर्छ ।
अथर्वपरिशिष्टमा आएको नेपालको उल्लेखलाई पछिल्लोकालमा थपिएको क्षेपक मानिएको छ । त्यसकारण कौटिल्यको अर्थशास्त्रमा उल्लेखित नेपालको उल्लेखलाई नै सर्वप्राचीन र आधिकारिक मानिएको छ । कौटिल्यको अर्थशास्त्रमा ऊनी कम्बलको सन्दर्भमा नेपालको उल्लेख आएको छ, जस्तै –
अष्टप्लौतिसंघात्या कृष्णा भिंगिसी
वर्षवारणमपसारक इती नैपालकम् ।।
(आठपाटा जोडेर बनाएको, कालो वर्णको, वर्षाद्को पानी छल्ने, भिंगिसी र (एकै पाटाको) अपसारक
नामक ऊनी कम्बल नेपालमा बनेका हुन् (शर्मा र अर्याल, २०२४ : १३१, १३९) ।

यस्ता कम्बलहरू नेपाल उपत्यकाबाहिरका पहाडका विविध भागमा निर्माण गरिएको मानिएको छ (ज्ञवाली, २०१९ : २८७) । वास्तवमा गुरूङ भाषामा बखु, प्हउलि वा लब्रु र नेपाली भाषामा घुमराडी भनिने कम्बल नै कौटिल्यको अर्थशास्त्रमा उल्लेखित भिंसिसी हो । नेपालका भूमिपुत्र आदिवासीहरूमा भेडापालन र ऊनी व्यवसायका लागि गुरूङहरू अग्रिम स्थानमा रहेका छन् । यसरी गुरूङहरूले ई.पू. चारौं शताब्दीदेखिको नेपालको ऊनी शिल्प र कलालाई जोगाएर राखेका छन् ।

गण्डकी प्रदेशमा सेन, खान र शाहवंशको राज्य स्थापना भएपछि अघिदेखि त्यहाँ विकसित मगर एवम् गुरूङ राज्यहरू त्यही ठकुरी राज्यहरूमा विलीन भए । लमजुङका ठकुरी राजा यशोब्रह्म शाहको समयदेखि गुरूङ समाजमा हिन्दू गोत्रले प्रवेश पायो । राज्यसत्ताको अख्तियारसँग सँगै गुरूङ समाजमा हिन्दू गोत्रले प्रवेश पाएको हो । त्यसबेलाको हिन्दु राज्य सत्ताले गुरूङहरूलाई जात नमासेर चाक चकुई माफ गरी पश्चिम नेपालका मतवाली क्षेत्री र ठकुरीसरह नमासिने चोखो मतवाली जातमा राखेर राज्यको शासनमा सरिक गराएका थिए । यसरी गुरूङहरू क्षेत्री र ठकुरीसरह खुँडा हान्ने जातमा दरिए । खस, मगर र गुरूङको संयोगबाट संरचना गरिएको सैन्यशक्ति नेपाल राष्ट्रको निर्माणका लागि अत्यन्तै बलशाली र सफलीभूत प्रमाणित भयो । लमजुङ चारनाल (पूर्व मस्र्याङ्दी, पश्चिम मादी, उत्तर उँभोखोला अर्थात् मर्स्याङ्दीको शिर र दखिन थानसिङकोटसम्मको इलाका) मा विसं १८७१ सम्म गुरूङहरूको सिर्तोबिर्ता कायम थियो (गुरूङ, २०३४ : २२) । नालसभा गुरूङ राज्य व्यवथाको मूल आधार र मुख्य विशेषता थियो । नालसभाको परम्पराले गुरूङहरूलाई गण जातिका रूपमा परिचित गराएको थियो (गुरूङ, २०६४ : ३५– ४०) । नेपालमा विसं २००७ को परिवर्तनपछि गुरूङहरूको नालसभाको परम्परा लोप भयो ।

गुरूङको ल्ह्येबृँले थासों फाल्दा मादी, मस्र्याङ्दी, काली, महाकाली, लिब्रों म्हार्सों प्ह्रुबै छ्यु हिम्बा भनेर आफ्नै गाउँठाउँका नदीनालाहरुको जललाई अभिमन्त्रित गरेर शुद्ध शान्ति गर्छन् । गुरूङको पज्यु र ल्ह्येबृँले मुस्ताङको लुब्राग गुम्बालाई आनो गुरुघर मान्छन । गुरूङका लामाहरूले तिब्बती भाषाको ग्रन्थ पढेर तदनुसारको कर्म गर्छन् तापनि गुरूङ लामाहरूले मनाङको नार गुम्बालाई आफ्नो गुरुघर मान्छन । यसरी गुरूङका पुरोहितहरूमा आफ्नो देशप्रतिको अपनत्व र राष्ट्रिय भावना रहेको छ ।
आफ्नो देशप्रतिको अपनत्व र राष्ट्रियताको भावना नै भूमिपुत्रहरूको चरित्र, आदर्श र मर्यादा हो । यसैगरी, गुरूङको घाटु नृत्यका हिमचुली, वरचुली, देवचुली र गंगाचुलीका चारवटा देवता छन् । हिमचुली र गंगाचुली कास्की जिल्लामा अन्नपूर्ण हिमशृंखलामा अवस्थित छन् । वरचुली र देवचुलीचाहिँ नवलपुरमाथि पाल्पा जिल्लाको महाभारत पर्वतशृंखलामा अवस्थित छन् ।

यसैगरी, घाटु नृत्यमा गण्डकी प्रदेशका विभिन्न कोट र घाटहरूमा अवस्थित देवताको पूजा गरिन्छ । अघि सामरिककालमा कोटका उमरा र घाटका माझीको महत्वपूर्ण दायित्व रहेको थियो । घाटुमा सप्तगण्डकीलाई सातै जमुना भनेको छ । यसरी गुरूङ संस्कृति नेपाली राष्ट्रियताको भावनाले ओतप्रोत रहेको छ । अतः यी ऐतिहासिक तथ्यहरू तथा सांस्कृतिक मूल्य, मान्यता, परम्परा एवम् नेपालको ढुंगा, माटो र हावापानीले गुरूङहरूलाई नेपालको भूमिपुत्र एवम् आदिवासीका रूपमा राम्ररी प्रमाणित गर्छ ।

कमेन्ट गर्नुहोस्