“लाहुरेको छोरा”

उसले –
सुनेको छ, बुझेको छ
पढेको छ बाउ बाजेको बहादुरी
सत्रु सामु कहिल्यै नझुक्ने,
बरु ज्यानको बाजी थाप्ने
“बहादुर गोर्खाली”
अरुले यसो भन्दा –
छाती फुल्छ गर्बले उसको ।
लाहुरेको छोरा उ
आलिसन महल छ उसँग
महलभित्र नोकर चाकर छन्
बाउ बाजेको बहादुरीको तक्माहरु छन्
मान्छेहरु –
इर्स्या गर्छन् उसको महल हेरेर
जिब्रो टोक्छन् बाउबाजेको बिरताको गाथा सुनेर
छक्क पर्छन्  ऐश आरामको जिन्दगी देखेर ।
लाहुरेको छोरा उ
बाउ बाजेको बहादुरी मात्र
पढेको, सुनेको र बुझेको
एकदिन-
झुक्किएर उसले
नेपालको ईतिहास पल्टायो
नेपालभित्रको भुगोल
र भुगोल भित्रको भुमी पुत्रहरुको कथा पढ्यो
बाइसे-चौबिसे राज्य
र ति राज्यहरु गुमिदाका ईतिहास पढ्यो
अनी पढ्यो ति गुमाइएका राज्यका
रैतीहरुको जिन्दगीको कथा ।
जती पढ्यो-
बढ्दै गयो कौतुहलता
जब,
आफु को हुँ ?
लाहुरे को  हो ?
बहादुरीको पगरी के हो ?
बुझ्यो उसले
भारी लाग्यो उसलाई बहादुरीको पगरी
र गिज्याए झै लाग्यो
“बहादुर गोर्खाली” भन्ने शब्दले ।
यथार्थमा –
अलिकति पैसाको लागि कुनै मालिकलाई
करारमा बेचिएको गुलाम
शिवाय केही होइन रहेछ “लाहुरे”
अनि मालिकको लागि बगाएको
त्यो गुलामको पसिना र रगतको मुल्य
शिवाय केही होइन रहेछ “बहादुरीको पगरी” ।
सोच्दैछ उ –
के लाउरे मात्रै हुने त  अझै नि हामीहरु ?
के लाहुरे मात्रै बनाउने त अझै नि भावी सन्ततिलाई ?
लाहुरेको छोरा उ
खाली भित्तालाई हेरेर
एककोहोरो टोलाईरहेछ  आज  ।
शायद,
त्यो खाली भित्तामा
उ आफ्नो पुर्खाहरुको
बेचिएको जवानी खोज्दैछ
लुटिएको ईतिहास खोज्दैछ
फोक्ल्याण्ड र कार्गिलमा बगेको
रगतको मुल्य खोज्दैछ  ।
शायद,
त्यो खाली भित्तामा उ
आफ्नो नाम खोज्दैछ
आफ्नो तस्बिर खोस्दैछ
आफ्नो मुस्कान खोज्दैछ
आफ्नो सन्ततिको भबिस्य खोज्दैछ ।
शायद,
त्यो खाली भित्तामा उ
खोज्दैछ आफ्नो देशको मानचित्र
र त्यो मानचित्र भित्र खोज्दैछ आँफैलाई ।
                  सुन्दर गुरुङ
                  छिनामखु -8, काङ्काङ, भोजपुर
                 हाल : बहराईन ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  कविता : सधैं तेरो रहँदैन वैशको झड्का