रामहरि कार्की
काठमाडाै, पुस १६ । साताको अन्तिम दिन बजार परिसूचक नेप्सेमा भारी अंकले बढेको छ । साताको सुरुको दिनदेखि अोरालो लागेको सेयर बजारमा बिहिबार भने भारी अंकले बृद्धि भएको हो । बिहीबार कारोबार भएका सबै सूचक(बैङ्क,होटल,बीमा जलविद्युत र अन्य) हरियो भई नेप्से ३० दशमलव २८ अंकले बढेर १४४३ दशमलव ३८ को उचाईमा पुग्यो ।
बिहीबार कारोबारमा आएका १२६ कम्पनीका १० लाख ५६ हजार शेयर खरिद बिक्रीबाट ५६ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।
जसमा धितोपत्र बोर्डबाट एफपोओ निष्काशनको अनुमति पाएको नेपाल लाइफ इन्स्योरेन्सको मात्रै ५ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
अन्य बढी कारोबार भएका कम्पनीहरुमा नेपाल टेलिकम, बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, एनबी इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, सिद्धार्थ बैंक रहेका छन् ।
बिहीबारको कारोबारमा एभरेष्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स (नेपाल), प्रेड़ेन्शियल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, कञ्चन डेभलपमेन्ट बैंक, नागरिक लगानी कोषका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।
त्यस्तै गुमाउनेमा ललितपुर फाइनान्स, वेस्टर्न डेभलपमेन्ट बैंक, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त विकास बैंक, नयाँ नेपाल लघुवित्तका लगानीकर्ताहरु रहेका छन् ।
यस साताको पहिलो कारोबार, सोमबार बजार पुँजीकरण १६ खर्ब ४ अर्ब रुपैयाँ रहेकोमा साताको अन्तिम दिन यो रकम बढेर १६ खर्ब १५ अर्ब ७५ करोड पुगेको छ ।
४ दिनको कारोबारमा सोमबार र मंगलबार बजार घटेपनि बुधबार ५ तथा बिहीबार ३० अंकले बढेको छ । साताभर नेप्से ३२ दशमलव ०३ अंकले घटेपनि बजार पुँजीकरण भने ११ अर्ब रुपैयाँले बढेको छ ।
यसरी बुधवार र बिहीबार नेप्से बढ्नुको मुख्य कारण लगानीकर्ताहरूले १२ सुत्रीय माग राखी अान्दोलनमा उत्रिएपछि कृतिम रुपमा घटाइएको सेयर बजार उकालो लागेको हो । लगानीकर्ताहरुले दुईदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोबोर्ड घेराउ गरेका थिए ।
पछिल्लो समय बजारमा अत्याधिक मात्रामा ब्रोकरहरुले चलखेल गरेको पाइन्छ ।