काठमाडौं, पुस १६ । अंग्रेजी नयाँ वर्षमा महामनगरीय प्रहरी परिसर काठमाडौंले नयाँ सुरक्षा योजना बनाएको छ । ‘न्यू इयर’ भन्दै मनाउन हिड्ने नेपालीहरुको सुरक्षाका लागि प्रहरीले नयाँ सुरक्षा योजना बनाएको हो ।
परिसरले ठूलो मात्रामा प्रहरी परिचालन गरिसकेको महानगरीय प्रहरी परिसरका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले जानकारी दिए । प्रहरीले मोबाइल गस्ती, सिआरभी, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालनदेखि सिसीटिभीमार्फत पनि गस्ती गरिने जनाएको छ ।
नयाँ वर्ष मनाउने क्रममा रक्सी खाएर झैझगडा गर्ने, चोरी तथा लुटपाट गर्नेमाथि कडा निगरानी बढाउने प्रहरीले तयारी गरेको छ ।
अंग्रजी नयाँ वर्षको दिन विशेष गरी ठमेल तथा दरबार मार्ग आसपासलाई लक्षित गरेर सुरक्षा योजना बनाएको भएपनि उपत्यकाका सबै स्थानमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको कार्कीले जानकारी दिए ।
यदि कसैले हुलदङ्गा गर्ने, झैझगडा गर्ने तथा महिलामाथि दुव्र्यबहार गर्ने गरेको पाइएमा प्रहरीले तत्काल पक्राउ गरेर हिरासतमा राख्ने कार्कीले बताए ।
नयाँ वर्षको दिन मापसे(मादक पदार्थ सेवन) गरेर गाडी चलाउनेलाई कडा कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी कार्यालयले विशेष तयारी गरेको छ । महाशाखाले पनि सादा पोशाकमा ठूलो मात्रामा प्रहरी परिचालन गरेर अनुगमन गर्ने जनाएको छ ।