आउँदैछ निकै कडा चिकित्सक आचारसंहिताः दर्ता खारेजीदेखि ५ लाख जरिवानासम्म

पुस १६,  नेपाल मेडिकल काउन्सिलले प्रस्तावित नयाँ आचार संहितामा दोषि ठहरिएका चिकित्सकलाई सचेत गर्ने, बिरामी जाँच्न नपाउने, निलम्बन गर्ने, दर्ता खारेज गर्नेदेखि लिएर पाँच लाख रुपैयाँसम्म दण्ड जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालयबाट अनुमोदन भएपछि यो लागु हुनेछ ।

सन् २००२ मा बनाइएको आचार संहिता अव्यावहारिक भएपछि नयाँ बनाउन लागिएको हो । काउन्सिलका इथिकल कमिटि अध्यक्ष डा। सतिश देवका अनुसार चिकित्सकको संख्या अत्यधिक वृद्घिका साथै व्यावसायिक आचारसम्बन्धी समस्या बढेकाले समयानुकूल आचार संहिता निर्माण गर्न लागिएको बताए । डेढ दशकअघि करिब तीन हजार पाँच सय चिकित्सक थिए, हाल १८ हजार पाच सय भन्दा बढी पुगिसकेका छन् ।

डा। देवका अनुसार संहिताले चिकित्सा अभ्यासलाइ नियम, कानुनको अधिनमा राख्दै, पेशाको स्तर निर्धारण गर्न सघाउने छ । संहिताअनुसार उपचार प्रकृयालगायत वारे चिकित्सकले बिरामीलाई सबै जानकारी राम्ररी बुझ्ने गरी दिनुपर्ने हुन्छ । सरकारले तोकेको सेवा शुल्कभन्दा बढी चिकित्सकले लिन पाउने छैनन् । चिकित्सकले बिरामीलाइ बढी पनि घटी पनि औषधि लेख्न पाउने छैनन् । अनावश्यक एन्टिबायोटिक लगायत नचाहिने महंगो औषधिहरु प्रस्तावित गर्ने चिकित्सकलाई कानुनी दायरामा ल्याइनेछ ।

विना लाइसेन्स काम गर्ने विदेशी चिकित्सकलाई सशक्त छानबिनसागै कारवाही गरिनेछ । औषधि कम्पनी र चिकित्सकको सम्बन्धलाइ पारदर्शी बनाइनेछ । अब चिकित्सकले शैक्षिक कारण बाहेक विदेश घुम्न वा कुनै सभा सम्मेलनमा जाँदा औषधि कम्पनीको लगानी नभएको खुलस्त पार्नु पर्नेछ । मेडिकल काउन्सिलको लाइसेन्स परिक्षामा अनुत्तिर्ण हुने स्नातक र स्नातकोत्तर दुवै तहका चिकित्सकले चिकित्सा सेवा संञ्चालन गर्न पाउने छैनन् ।
कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: