काठमाडौं, पुस १७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आधा घण्टा भित्रैमा चालक अनुमति पत्र (लाइसेन्स) लिन सकिने बताएका छन् ।
आइतबार स्वयम्भुको ठूलो भर्याङमा यातायात कार्यालय उदघाटन गर्दै उनले यातायात क्षेत्रको सबै समस्या समाधान गरेकोले लाइन नबसी आधाघण्टामा लाइसेन्स पाउन सकिने व्यवस्था गरिएको जानकारी दिए । उनले भने– ‘यातायात क्षेत्रमा सुधारको काम थालनी भइसकेको छ । अब आधा घण्टाभन्दा बढी कार्यालयमा लाइन बस्नुपर्ने वातावरण बन्दैन ।’
देशभरका यातायात कार्यालयमा अनलाइन आवेदन फारमको व्यवस्था मिलाइने भन्दै मन्त्री लेखकले दर्ता र नविकरणको काम पनि अब अनलाइनमार्फत् नै गर्ने घोषणा गरे ।
उनले अनलाइनबाट आवेदन लिन सुरु गरिसकेको र काठमाडौंमा यातायातका थप कार्यालय खुल्ने प्रक्रियामा रहेको जानकारी दिए । अनलाइन प्रणालीमा काम सुरु भएपछि सेवाग्राहीले कर्मचारीलाई रिझाएर काम गराउनुपर्ने बाध्यता हट्ने मन्त्री लेखकको विश्वास छ ।
‘अब यातायात कार्यालयमा आउँदा सेवाग्राहीले कर्मचारीलाई खुसी बनाइरहनु पर्दैन ।’ सेवाग्राहीलाई रिजाउन खोज्ने कर्मचारी भएमा सरकारले कारबाही गर्ने मन्त्री लेखले बताए ।,