प्रमुख तीन दलको बैठक निष्कर्षविहीन, एमालेले छोडेन अडान

काठमाडौं, पुस १८ । संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्रीको अब्हानमा बसेको सोमबारको बैठक विना निष्कर्ष सकिएको छ । सोमबार विहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा एमालेले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नलिने अडान लिएपछि बैठकले कुनै निर्णय गर्न नसकेको हो ।
सभामुख ओनसरी घर्ती मगरले दलहरुलाई सहमतिका लागि दिएको समयसीमा आइतबार सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले छलफल बोलाएका थिए ।

याे पनि पढ्नुस  मधेशी मोर्चा बालुवाटारमा, नयाँ मोर्चाबन्दीको रणनीति तयार हुने

प्रमुख तीनदल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा छलफल भएको थियो ।
छलफलमा काँग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमालेबाट केपी ओली र बामदेव गौतम त्यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ थिए ।

बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको अडान यथावत् रहेको जानकारी दिँदै भने – “सरकारले संशोधनको प्रस्ताव फिर्ता लिनेबित्तिकै संसद् खुल्छ, मुलुक निर्वाचनतिर जान्छ र त्यो राम्रो हुन्छ ।”

याे पनि पढ्नुस  संशोधन प्रस्तावबारे बाबुरामको यस्तो धारणा

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिको प्रस्ताव अघि बढाउने सम्बन्धमा टुङ्गो लागिनसकेको बताउँदै सहमतिका लागि वार्ता जारी रहने जानकारी दिए।

एमाले उपाध्यक्ष वामदेव गौतमले सत्तापक्षबाट अवरोध भएको बताउँदै प्रस्ताव फिर्ता लिए वा स्थगन गरे एमालेले गरेको संसद अवरोध खुल्ने बताए ।

याे पनि पढ्नुस  अराजक बन्दै एमालेको अान्दोलन !

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गतिरोध अन्त्यका लागि सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको बताए । “हामी प्रतिपक्षीसँग मुठभेडको स्थिति सिर्जना नहोस् भन्ने चाहन्छौँ । अरु प्रक्रियाका बारेमा संसद्को स्थिति हेरेर सभामुखले सोच्नुहोला ।’’

बैठकपछि प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले सहमतिको प्रयास जारी रहेकाले छिट्टै निकास निस्कने बताए ।

कमेन्ट गर्नुहोस्