झलनाथको खुलासा- सरकारको प्रतिकार संसदमा गर्ने

भक्तपुर,पुस १८ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सरकारको प्रतिकार संसदबाट गर्ने चेतावनी दिएका छन् । सोमबार बस्ने व्यवस्थापिका बैठकमा बलजफ्ती संविधान संशोधन विधेयक पेश गर्न खोजिए आफ्नो पार्टीले प्रतिकार गर्ने उनले बताए ।

प्रेस चौतारी भक्तपुरले सोमवार आयोजना गरेको अन्तक्रियामा बोल्दै उनले सरकारले पेल्न खोजे आफूले पनि प्रतिकार गरेर ठेल्ने प्रतिक्रिया दिए । उनले भने– ‘संसदमा जबर्जस्ती गरिए प्रतिकार हुन्छ ।हामीलाई पेल्न खोजियो भने ठेल्न बाध्य हुन्छौं ।’

खनालले प्रदेश नम्बर ५ को सीमाना हेरफेर विदेशीको निर्देशनमा भएको आरोप लगाए । ‘मधेस–पहाड अलग गर्ने एजेण्डा नेपालभित्र नभई बाहृय निर्देशनमा बनेको हो, हामी नेपालको संसदबाट विदेशीको एजेण्डा जबर्जस्ती पारित गर्न दिदैनौं,’ खनालले भने ।

खनालले पुस २२ गते एमालेसहित संविधान संसोधनको विपक्षमा रहेका दलहरुको प्रदर्शनले संविधान संशोधन बिरुद्ध जनमत प्रकट गर्ने बताए । उनले सो जनप्रदर्शन एमालेकोमात्र नभई देशभक्तहरुको भएकाले सबै सहभागी हुन आह्वान गरे ।

एमाले नेता खनालले माओवादी आफ्नै कारण पतनको दिशामा गएको भन्दै यही प्रकारले अघि बढ्ने हो भने अर्को चुनावसम्म बत्ती बालेर खोज्नुपर्ने टिप्पणी गरे ।

खनालले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने नियत विधेयकमा रहेको भन्दै नेपालका कुनै पनि समुदायको मातृ भाषा नभएको हिन्दी जबर्जस्ति लाद्न लागिएको बताए ।

कमेन्ट गर्नुहोस्