मोरङ, पुस १९ । माछापालनका लागि मोरङका युवा कृषकहरु बढी आकर्षित भएको देखिएको छ ।
सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ ।
मोरङ केराबारी–९ देवीझोडाकी आशा लिम्बूले पनि भर्खरै माछा पोखरी खन्नुभएको छ ।
धान खेती गर्दै आएकी उनले आफ्नो जग्गामा धान उत्पादन कम हुने र वनको छेउमा खेत भएकाले वन्यजन्तुले समेत बाली नोक्सान गर्ने हुँदा समस्या झेल्दै आएको थियो तर माछापालनमा नाफा पनि हुने र सरकारले अनुदान पनि दिने भएपछि उनले व्यावसायिक माछापालन सुुरु गरेको छ ।
केराबारीकै मञ्जु कार्कीले पनि यसै वर्षदेखि माछापालन सुरु गरे । आम्दानी पनि हुने अनि उब्जाउ नहुने जमिनमा पोखरी खनेर माछापालनमा उनी लागेको बताए । सरकारले माछापालन कार्यक्रम अन्तर्गत अनुदान दिएपछि किसान अहिले माछापालनमा तानिएका हुन् ।
धानभन्दा दोब्बर आम्दानी हुने भएकाले माछापालन सुरु गरेको मञ्जुले जानकारी दिए ।
सरकारले मोरङ जिल्लामा धान, माछा र तरकारी उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ जसअन्तर्गत जिल्लामा माछा मिसन कार्यक्रम सञ्चालन गरेर यसवर्ष ९६ हेक्टर क्षेत्रफलमा पोखरी विस्तार गर्ने लक्ष्यअनुसार किसानलाई अनुदानमा पोखरी खन्ने कामले तीव्रता पाएको जिल्ला कृषि विकास कार्यालय मोरङको भनाइ छ ।
कार्यालयका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलका अनुसार तीन वर्षभन्दा अघिदेखि नै यो मिसन सुरु भएपनि यस वर्षदेखि भने बृहत्रुपमा यो कार्यक्रम लागू गरिएको जानकारी दिए ।
एक हेक्टरभन्दा माथिका पोखरी खन्ने कृषकलाई पहिलो प्राथमिकतामा राखिएको छ । सरकारले प्रतिहेक्टर तीनलाख अनुदान प्रदान गर्ने, माछा मिसनमा भाग लिने कृषकलाई बोरिङ, भुरामाछाको ढुवानीलगायतमा समेत अनुदान प्रदान गर्दै आएको छ ।