संसद खुलाउन एमाले सहमत, २४ गते संशोधन विधेयक टेबल हुने !

काठमाडौं, पुस १९ । एक महिनाभन्दा बढी समयदेखि जारी रहेको संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत भएका छन् ।

मंगलबार सभामुखले बोलाएको शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद सुचारु गर्ने विषयमा सहमति भएको छ । दलहरुबीच सहमति भएपछि मंगलबार एक बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी २४ गतेसम्मका लागि स्थगित गरिएको छ।

विपक्षीको विरोधसभापछि २४ गते बस्ने संसद बैठक सुचारु गर्ने विषयमा दलहरुबीच सहमति भएको हो। योसँगै सरकारले गत मंसिर १४ गते राति संसदमा दर्ता गराएको संशोधन प्रस्ताव अघि बढ्ने भएको छ।

दलहरुबीच भएको सहमति अनुसार प्रमुख प्रतिपक्षसहित नौ विपक्षी दलले २२ गते राजधानीमा विरोधसभा गर्ने विरोधसभा सम्पन्न गर्न दिनेगरी सहमति भएको हो। तत्काल सहमति गर्दा विरोधसभाको औचित्य नहुने भन्दै विपक्षीको विरोधसभापछि संसद बैठक बोलाइएको हो।

सर्वोच्च अदालतले संसदीय प्रक्रियामा रहेको विषयमा सांसदहरुले आफ्नो दृष्टिकोण प्रयोग गर्न नपाउँदै न्यायापालिकाबाट प्रक्रिया नै रोक्ने गरी आदेश गर्न उचित नहुने फैसला गरेपछि प्रमुख प्रतिपक्ष संसदमा दर्ता भएको संशोधन प्रस्ताव प्रक्रियामा लैजान सहमत भएको हो। मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै सदनको अवरोध खुलाउने निर्णय गरेको थियो ।

कार्यव्यवस्थ परामर्श समितिको बैठकमा सभामुख ओनसरी घर्ती, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका गिरिराजमणि पोखरेल थिए ।
२२ गते विपक्षी दलको आमसभापछि संसद बैठक बोलाउने र सुचारु गर्ने सहमति गरेको नेताहरुले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: