सहमतिमै संशोधन प्रस्ताव पारित हुने देउवाको दावी

काठमाडौँ,  पुस २०। नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक सबै दलको सहमतिमा पारित हुने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै मंगलबार सभापति देउवाले छिट्टै संसद्को गतिरोध अन्त्य हुने र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत सबै दलको सहमतिमा संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गरे ।

संसद्मा पेस भएको संशोधन विधेयक जस्ताको त्यस्तै पारित हुनेमा जोड दिँदै उनले भने– “जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न दलहरुबीच सहमति, सहकार्य र एकता अनिवार्य छ ।”

सभापति देउवाले राजनीतिक गतिरोध अन्त्य गर्न सर्वाेच्च अदालतको फैसलाले सकारात्मक भूमिका खेलेको भन्दै संसद्को आगामी बैठक सुचारु गर्न एमाले सहमत हुने आशा व्यक्त गरे । आगामी वैशाखसम्म स्थानीय तह वा स्थानीय निकाय जुन भए पनि निर्वाचन हुने दाबी गर्दै उनले२०७४ मङ्सिरसम्ममा तीनवटै निर्वाचन गर्नुपर्ने बताए।

फरक प्रसङ्गमा सभापति देउवाले छिट्टै पार्टीका केन्द्रीय विभाग गठन हुने र पदाधिकारीको मनोनयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने जानकारी गराए ।

उनले निर्वाचनको तयारीका लागि सबै केन्द्रीय सदस्यलाई जिल्ला पठाइसकेको बताउँदै त्यसपछि सबै भ्रातृ संस्थालाई परिचालन गरिने धारणा व्यक्त गरे । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: