Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

देशाटन, तिर्थाटन र पर्यटनको पर्याय– सिरूबारी

गाउँ पर्यटनको इतिहास “सिरूबारी” को नम्बरी पर्यटनलाई बृहत्तर योजनाभित्र पार्नुपर्ने

गाउँ पर्यटनमा “होमस्टे अर्थात घरबास” को उद्गमस्थलको रुपमा परिचित स्याङ्जाको सिरूबारी आज नमूना गाउँको नामबाट प्रशिद्ध छ । बास बस्ने शब्द र प्रयोग पुरातन भएपनि व्यवस्थित बसोबासको अध्र्वव्यवसायीक यात्रा यहिँबाट सुरु हुनु यस ठाउँको चिन्हारी हुन पूगेको छ ।

सिरूबारी आज “ब्राण्ड” भएको छ । पञ्चमूल गाविसको वडा नम्बर ४ मात्र हो सिरूबारी । सहरी स्थानमा बनेको तिनतारे होटलको क्षेत्रफल पनि छैन यहाँ । ३९ घर भएतापनि जम्मा २२ घरमा होमस्टे सञ्चालन गर्दै आएको यो स्थान गाउँले रहनसहन, शैली, परम्परा, खानपान, उत्पादन, लाहुरे सभ्यता, आतिथ्य सत्कार, सामुदायिक नर्सरी, बुबा, आमा र युवा समुहको सकृयता, ठुम्रोजुरो अवलोकन बिन्दु आदिबाट धनी भएतापनि हिमाली सौन्दयर्ताको सहज दृश्यावलोकनबाट भने पिछडिएको छ ।

rudra prasad bhattrai

होमस्टेको कार्यविधि र नियम वि.सं. २०६७ सालमा मात्र बनेतापनि यस गाउँमा २०५४ सालबाटै यस यात्राको सुरुवात भएको थियो । स्थानीय प्रशासनमा दर्ता छ, पर्यटन विकास व्यवस्थापन समिति सिरुबारी । यसमा योगदान दिएका थिए तत्कालिन सांसद रुद्रमान गुरुङ्गले । स्थानीय पर्यटन घरको निर्माण पश्चात उद्घाटन भने २०५६ सालमा गाउँ पर्यटन महोत्सव गर्दै तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले गरेका थिए । यो सत्र वर्षको अवधिमा आन्तरिक र बाह्य गरेर करिब २० हजार बढीको संख्यामा पर्यटकहरूको जमघट् भएको छ । भ्रमण गरेका पर्यटकहरूमध्ये सबैको रोजाइमा पर्न सफल यस ठाउँमा गाउँघरको आतिथ्यपनलाई व्याख्या गर्न नसकिने बताइरहँदा यूवाको सक्रियता खुम्चँदै गएको स्थानीयहरूलेनै महशुष गरेका छन् । तर, यस अभावबाट कुनै कमी महशुष हुन नदिन पर्यटन विकास व्यवस्थापन समिति सिरूबारी दत्तचित्त छ । गाउँ पर्यटनको सवालमा कुनै कमी नगर्न अभावलाई अवसरमा बदल्दै निरन्तर कार्यरत् छन् ।

sirubari1-1

नौडाँडाबाट करिब डेढघण्टाको पदयात्रा अथवा गाडिको घल्च्याकघुल्चुक यात्राबाट झण्डै ४ घण्टाको दुरीमा छ सिरूबारी । गाडिमा घुमाउरो बाटो, वर्षामा धेरै गाह्रो अझ भनौँ गुड्न नसकिने । तर, यात्राको दौरानमा देखिने गुराँस, दृश्य, जँगली जनावरहरू र गाउँ अविस्मरणीय सारथीहरूभित्र पर्दछन् । थकाइ त्यतिबेला मेटिन्छ जब स्थानको सुरुवातीमा बाजागाजासहित माला लगाएर स्वागत गरिन्छ । त्यसपश्चात पर्यटन घरमा प्रवेश गराएर सामान्य परिचय पश्चात घरबासतिर प्रवेश गराइन्छ । २ रातको बसाइ हो भने अर्कोदिन साँस्कृतिक प्रदर्शनी गरिन्छ नत्र पुगेको रात नै सो नृत्यको आयोजना गरिन्छ । यसले पर्यटक बसाइमा बेग्लै आनन्द र अनुभूतिलाई थप मोज गराउँदछ । रात बितेको पत्तै नपाई बिहानी नास्ता पश्चात गाउँको भ्रमण गरिन्छ । त्यहिँबाट हिमाल नदेखिएपनि हेर्नै जाने हो भने केहि कष्ट चाहिँ गर्नैपर्ने हुन्छ । स्थानीयको संरक्षित वन, नर्सरी घरमा निर्माण गरिएका परिकारहरूलाई स्वीकार गर्दै थप जानकारीका लागि पर्यटन विकास व्यवस्थापन समिति सत्कारमा लागिपर्छ । त्यसपश्चात खाना खाएर यात्रा लम्बिने भए त्यहिअनुसार नत्र जहाँबाट आतिथ्य गर्दै गृहस्थान प्रवेश गराइएको हुन्छ त्यहिँबाट स्मरण केन्द्रीत बनाउँदै बिदा गरिन्छ, पुनः भ्रमणको निम्तो गर्दै ।

sirubari3-1

पर्यटन नीति २०६५ र नेपाल पर्यटन वर्ष २०११ ले होमस्टेलाई व्यवस्थित गर्न व्यवसाय सञ्चालन विधि ल्याएको छ । होमस्टे कार्यविधि २०६७ ले व्यवसाय दर्ता गर्दा व्यक्ति वा समुदायले पुरा गर्नुपर्ने, आधारभूत पूर्व सर्तहरू र पूर्वाधारहरू, मापदण्ड र आचारसंहितालाई महत्व दिइ विभिन्न ध्यान दिनुपर्ने कुराहरू उल्लेख गरेको छ । यस विधिमा जिल्ला स्थित होमस्टे व्यवस्थापन समितिहरू बीच समन्वय र सहजीकरण गर्ने, पर्यटकीय पूर्वाधारको विकास गर्ने, क्षमता अभिवृद्धि सम्बन्धी कार्य, आकस्मिक स्वास्थ्य र थप स्वास्थ्य सम्बन्धी जनचेतना फैल्याउने, पर्यटकीय सम्पदाहरूको विवरण तयार गर्ने, आदि कार्यविधि तोकिएको छ । त्यस्तै कार्यविधिमा होमस्टे सञ्चालनका आधारभूत मापदण्डहरूमा कम्तिमा ५ घरधनीहरूको साक्षीमा स्तरीय स्थानमा ४ कोठाको प्रयोग, प्रतिकोठा बढीमा दुई शैया हुनुपर्ने, बिछ्यौनाको ३ गुणा ६.५ लम्बाई चौडाइ साइज, भूइँमा गुन्द्री वा कार्पेट, राडीको व्यवस्था, ढोकामा डोरम्याट, ओड्ने—ओछ्याउने कपडाको स्तर, कोठाभित्र बिजुली, टुकी वा बत्तीको व्यवस्था, धुँवारहित कोठा, फोहोर व्यवस्थापन, ऐना, चप्पल, चियाटेवल, कुर्सी, शौचालय र स्नानघर, भान्साकोठा र खाने व्यवस्था, सरसफाइको व्यवस्था जस्ता विविध न्यूनतम स्तरहरूको व्यवस्था गरिएको छ । तर, सिरूबारी यो विधानबाट धेरै चरण अगाडि छ, उसलाई यसका नियमहरू पछ्याउनु आवश्यक देखिँदैन । यसको मतलव सो स्थानको यत्तिका समयको अनुभव कानुनभन्दा माथि हुन पुगेको छ । आवश्यकताभन्दा बढीनै सामान तथा सेवाको उपलब्धता छ, सिरूबारीमा ।

त्यसैले त भनिन्छ जो जहाँ भएपनि जीवन ढल्कँदै जाँदा र मर्ने बेलामा गाउँमै मर्ने इच्छा राखेका हुन्छन् अधिकांशले । त्यो पुरा गरिदिन्छ सिरूबारीले ।

होमस्टे गराउने व्यक्ति वा समुदायले आतिथ्य सत्कारका फुलमाला, अबिर, खादा, सर्वत, सगुन, बाजा—गाजा, आदिबाट सुरुवात गर्दछन् । यी र यस्ता अन्य कुराहरूमा परिपक्व यस ठाउँमा गुनासो कतै सुन्न पाइँदैन । स्थानीय भेषभूषा लगाएर सत्कारबाट सुरु गरिने यस होमस्टेमा सीपवान हातहरूद्वारा निर्माण गरेको खानाले पर्यटकलाई पस्किइन्छ । यसका साथै साँस्कृतिक कार्यक्रमहरू गर्ने, पर्यटन गाइड, विभिन्न सूचनाका ब्रोचरहरू बाँडेर तथ्यांक दिने गर्दछन् । यो प्रकृया पर्यटक त्यो ठाउँमा बसुन्जेल निरन्तर चलिरहन्छ । यसले के स्पष्ट गर्दछ भने गाउँको अमिश्रित पर्यटन हो होमस्टे, जहाँ गाउँलेपन, गाउँले वातावरण, रहनसहन, शैली, क्रियाकलाप, उत्पादन र गतिविधिहरू उपलब्ध हुन्छन् । यहि होमस्टेले कहिँ र कतै धितमार्न नसकेको प्यास मेटाउने प्रयास गरेको हुन्छ । त्यसैले त भनिन्छ जो जहाँ भएपनि जीवन ढल्कँदै जाँदा र मर्ने बेलामा गाउँमै मर्ने इच्छा राखेका हुन्छन् अधिकांशले । त्यो पुरा गरिदिन्छ सिरूबारीले ।

गाउँ पर्यटन गरिबको पर्यटन हो जसमा कम पैसामा गाउँका स्थानीयहरूका घरमा गएर बास बस्ने तीनले पकाएका गाउँका उत्पादनको स्वाद लिने, खेतिपातीमा मज्जा लिने, रहनसहनमा रमाउने, अध्ययन र अनुसन्धान गर्ने र मज्जा सँगै ज्ञान र सीप लिने क्रियाकलापहरू पर्दछन् । एक शब्दमा भन्नुपर्दा गाउँ पर्यटन एउटा प्रवृतिसँग प्रत्यक्ष सम्बन्धित तथा अद्वितिय वस्तुहरूको अवलोकन र प्रयोगसँग जोडिएको छ । यहि कुरालाई समयमै आत्मसात गर्नाले आज सिरूबारी नमूना गाउँ बन्न सकेको छ । भन्न त लाहुरेले प्रशस्त पैसा कमाएर सौख गरेको भन्ने जमात छ तर सो कुरा आज व्यवहारीक कार्यका पछाडि मनगढन्ते हल्लामा परिणत भएको छ । सिरुको बारी बाट शब्दको तोडमोड हुँदै सिरूबारी आज पूर्ण व्यवसायीक गाउँ पर्यटन नभएपनि त्यसको स्तरन्नोतिमा अग्रसर छ । अब कुनैदिन यस्तो समय आउँछ जहिले व्यवसायीकताले अग्रस्थान पाउँछ, सम्झनुस् त्यसदिन विश्वको ध्यान सहजै केन्द्रित गराउनेछ ।

गाउँ पर्यटन प्रवद्र्धनले स्थानीय क्षेत्र र उत्पादीत वस्तुहरूको पहिचान र प्रवद्र्धन, चेतनामा वृद्धि, उत्पादनको खपत, रोजगारीको अवसर, गाउँ उद्योगको विकास, आम्दानीमा वृद्धि, वस्तुको सहज उपलब्धता, प्राकृतिक वातावरणको संरक्षण, स्रोत र साधनको अधिकतम परिचालन, सँस्कृति र सँस्कारको आदानप्रदान, ऐतिहासीक पक्षको दिगोपन, व्यापार तथा व्यवसायको विकास, सहकार्यको बानी, अनुशासन र व्यवस्थापनमा उन्नती आदिमा स्थानीय क्षेत्रमा सकारात्मक परिवर्तनहरू सम्भव गराएको छ । तर, अर्कोतिर यूवा जनशक्तिको अभाव, बसाइँसराइ, दृश्यावलोकनमा टावरको अभाव, मुल्यमा वृद्धि, प्रविधिले रोजगारी गुमाउने, अपराध, स्थानीयता लोप हुनु, वातावरणीय क्षय, द्वन्द्व आदी यस स्थानमा देखिएका वाधाहरू हुन् । यस स्थानका सवल र दुर्वल पक्षहरू दुबै देखिएतापनि यसबाट मानिसहरूलाई नविनतम् आनन्द, ज्ञान र रमाइलो सहजै प्रदान गरेको कुरा असत्य भन्ने कुनै ठाउँ छैन ।

गाउँ पर्यटनको क्षेत्र र त्यसको विविधिकरणका प्रचुर सम्भावना बोकेको सिरूबारीको विकास हुँदै गर्दा सम्पूर्ण गाउँहरूमा सरकार, स्थानीय जनता, सरोकारवालाहरूले बढाएको सक्रियता निकै सराहनिय छ । प्रकृतिका उपहारहरू र निर्मित स्थान तथा उत्पादनहरूको उचित परिचालन र उपयोगबाट देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्न सक्ने कुरालाई यस ठाउँले उजागर गरेको छ । यो सफल उदाहरणलाई समय सापेक्ष अन्य स्थानहरूमा पनि विकास गर्न सकियो भने मात्रपनि अधिकांश गाउँहरू आफैँ सम्पन्न बन्न सक्छन् । सबै बन्न नसकेपनि यस नमूना गाउँले देखाएको बाटो दिर्घकालीन पर्यटन विकासको गत्तिलो साथी बन्ने कुरामा कसैको विमत्ती रहँदैन । यसको लागि देशको जडिबुटी, जंगल, जमीन, जल, खनीज लगायत गाउँका उत्पादनहरू नै देशका प्रमुख आकर्षणका आधारहरू भएकोले यसको संरक्षण र विकासको लागि थप लगानी बढाउनु अपरिहार्य छ । यसको लागि गाउँ पर्यटनको इतिहास “सिरूबारी” को नम्बरी पर्यटन गतिविधिलाई सहयोग पु¥याउँदै बृहत्तर योजनाभित्र पार्नुपर्ने देखिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: