काठमाडौं, पुस २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावसम्बन्धि सर्वोच्चको आदेशले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताएका छन् । बुधबार रिपोर्टस् क्लव नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले सर्वोच्च अदालतको पछिल्लो फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताएका हुन् ।
‘सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको छ । मैले सहमतिका लागि कोशिस गरिरहेको छु ।’ उनले भने–‘प्रतिपक्षी दलले सदन खुलाउने र मधेशी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ । अब छिटै राजनीतिक सहमति जुट्छ ।’
संविधान कार्यान्वयन सरकारको मूख्य प्राथमिकता रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले देश नै ध्रुवीकरणमा जाने खतरा देखेपछि आफुँले प्रधानमन्त्री पद स्वीकार गरेक बताए ।
उनले भने–‘म प्रधानमन्त्री हुँदा नै मधेशी, थारु, जनजाति, कांग्रेस, एमालेलाई पनि सहमतिमा ल्याउन सकिन्छ भन्ने देखेर नै म यहाँ छु । हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्ने मेरो संकल्प छिटै पुरा हुन्छ ।’
सरकार राजनीतिक मुद्धाका साथै विकासका काममा केन्द्रित भएको जानकारी दिँदै प्रधानमन्त्रीले राजनीतिक विवादमा अल्झिँदा विकासका मुद्धा ओझेलमा पर्ने गरेको बताए । उनले भने–‘यसपटक मैले विकासका काममा जोड दिएको छु । विकासका कामका केही गरौं भन्ने संकल्पसहित देशभरि दौडिरहेको छु । सोजेजस्तै प्रगति नभए पनि सकारात्मक परिणाम देखिन थालेका छन् । राजनीतिलाई विकाससँग जोड्ने मेरो संकल्प छ ।’