काठमाडौं, पुस २०। यही पुस २७ गते अथवा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा चियापान समारोह गर्ने भएको छ ।
टुक्रिएर रहेको नेपाललाई एकीकरण गरी सिङ्गो नेपाल बनाउने पृथ्वीनारायण शाहको जन्मदिन यही पुस २७ गतेका दिन राप्रपाले उक्त कार्यक्रम गर्न लागेको हो । जन्मजयन्तीका अवसरमा आयोजना गरिने चियापान, कवि सम्मेलन, विचार गोष्ठीलगायतका कार्यक्रमका लागि ११ वटा समिति गठन गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, बहालवाला तथा पूर्व उच्च पदस्थ कर्मचारीलाई आमन्त्रण गरिएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
उनले समारोहमा १५ हजार अतिथिलाई आमन्त्रण गरिएको र यसका लागि पार्टीका दुई हजार कार्यकर्तालाई स्वयम् सेवकको रुपमा खटाइने उनले बताए ।
राप्रपा नेपालले एक दशकदेखि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोह गर्दै आए पनि राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि पहिलोपटक सो कार्यक्रम गर्न लागेको हो ।
राप्रपाले राष्ट्रिय एकता दिवसलाई देशभर भव्यरुपमा मनाउन जिल्ला समितिलाई निर्देशन समेत दिइसकेको जनाएको छ ।
सो अवसरमा पृथ्वीनारायण शाहको बारेमा शोध अनुसन्धान गर्ने तीन महानुभावलाई सम्मान गरिने भएको छ ।