साझा बसको सेवाले बन्दको पीडामा केही राहत

काठमाडौँ, २० पुस । पटक–पटक बन्द–हडतालबाट दुःख पाएका यात्रुले साझा यातायातको सेवालाई सुखका रुपमा लिएका छन् । बन्द, हड्तालबाट हैरान बनेका यात्रुले उपत्यकामा बुधबार भएको बन्दका क्रममा साझा यातायातलार्य सेवा थप गर्न सुझाएका छन् ।

सडक विस्तार गर्दा भत्किने घर र सडकमा पर्ने जग्गाको क्षतिपूर्ति माग गर्दै पीडित संघर्ष समितिले आज उपत्यका बन्दको आयोजना गर्दा विभिन्न पेसा र व्यवसायमा आवद्ध यात्राु समयमै गन्तव्यमा पुग्न पाएनन् । सडकमा फाट्टफुट्ट मात्र सवारी चलेका थिए । उपत्यका बन्द घोषणा गरिए पनि साझाले निरन्तर बस सञ्चालनमा लियो ।

सुरक्षाको प्रत्याभूति भएपछि उपत्यकाका चारवटा मार्गमा ३९ बस नियमित सञ्चालनमा ल्याइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई जानकारी दिए । बन्दका बेला चलेका सफा टेम्पो तथा अन्य सवारी साधनले तोकिएको गन्तव्यमा नपुर्याई यात्रुलाई आधा बाटोमा झारेर दोब्बर भाडा असुलेका छन् ।

याे पनि पढ्नुस  'रुट परमिट' नपाउँदा भक्तपुरमा साझा बस चलाउन पाएन

जोरपाटीबाट सुन्धारातर्फ जानुपर्ने टेम्पोले चाबहिलमै यात्रुलाई झारेर भाडा भने सुन्धारसम्मकै लिएको यात्रु ग्याल्जेन शेर्पाले गुनासो गरे। यसअघि पुस ७ गते भएको बन्दमा पनि अन्य सवारी साधन आंशिकमात्र गुडेपनि साझाका ४० वटै सवारी साधनले सेवा दिएका थिए ।

‘साझा यातायातले ३६५ दिन नै यात्रुलाई सेवा दिने गरेको छ, अघिल्लो पटकको बन्दमा उपत्यकामा ४० वटा सवारी साधन चलेकामा आज एउटा सवारी साधन मर्मतमा रहकाले ३९ वटाले नियमित सेवा दिइरहेका छन्’– निमित्त कार्यकारी अधिकृत पाण्डेले भने ।

याे पनि पढ्नुस  साझाका ‘सेमी लो–फ्लोर’ बस अस्पतालदेखि अस्पतालसम्म

लगनखेल–रत्नपार्क–नारायणगोपाल चोक–नयाँ बसपार्क मार्गमा १०, लगनखेल–सिंहदरबार–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ मार्गमा १०, एयरपोर्ट–कमलपोखरी–रत्नपार्क–लैनचौर–ठमेल–बालाजु बाइपास हुँदै नयाँ बसपार्क मार्गमा १० र स्वयम्भू–कलङ्की–रत्नपार्क–नयाँ बानेश्वर हुँदै कोटेश्वर मार्गमा १० गरी उपत्यकामा ४० साझा यातायात सञ्चालन हुँदै आएको छ ।

बिहान ६ः३० बजेदेखि बेलुकी ८ बजेसम्म नियमित रुपमा साझाका बस तोकिएका मार्गमा चलेको देखेपछि भक्तपुरमा पनि साझाको सेवा आवश्यक देखिएको सूर्यविनायक निवासी बलराम कोजुले बताए ।

‘अरु सवारी साधनले मन लागे चलाउँछन्, मन नलागे ग्यारेजमा थन्क्याउँछन्, तर साझाका सवारी साधन भने तालिकाअनुसार चलेको देख्दा भक्तपुरमा पनि यो सेवा विस्तार भए सुविधा पाइन्थ्यो, अरु यातायात व्यवसायीले भाडा पनि यातायात व्यवस्था विभागले तोकेभन्दा बढी उठाउने गरेका छन्, यातायात व्यवसायीले चलाएका साधनले सवारी तथा यातायात व्यवस्था ऐनमा भएको प्रावधान बमोजिम टिकट पनि दिन्नन्”– उनले रासससँग भने ।

याे पनि पढ्नुस  साझालाई भक्तपुरमा ‘नो इन्ट्री’–व्यावसायी

आज उपत्यका बन्दका क्रममा तोडफोडका घटना नभएको र सडकमा बसेर टायर बाली यातायात अवरुद्ध गर्न खोज्ने ७६ जनालाई कालीमाटी, टोखा, जोरपाटी, थलीलगायतका स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्