ललितपुर, पुस २० । हरिहर भवनस्थित नेपाल राष्टिय पुस्तकालयको भवन भत्किएपछि यहाँ रहेका एक लाख ५० हजार पुस्तक तथा पत्रपत्रिकाहरु अलपत्रमा परेका छन् ।
पत्रिका र पुस्तकहरु अहिले बोरामा खाँदेर राखिएको पुस्तकालयले बताएको छ । नयाँ भवन बन्नका लागि पूनःनिर्माण प्राधिकरणले रकम छुटाएपनि जग्गाको अभावमा काम अघि बढ्न सकेको छैन ।
पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले गत वर्षको भूकम्पपछि पुस्तकालय सेवाविहीन भएको बताए । उनले भने– ‘अहिले पुनःनिर्माणको काम नै सुरु भएको छैन, सुरु भएपछि पनि २÷३ वर्ष लाग्न सक्छ ।’
वैकल्पिक व्यवस्था गरेर पनि पुस्तकालय सञ्चालन गर्नुपर्ने उनको जोड छ । बोरामा राखिएका पुस्तक तथा पत्रिकाहरु केही खोलेपनि धेरै खोल्न नै बाँकी भएको पुस्तकालयका प्रकाशन प्रमुख यादवचन्द्र निरौलाले बताए।
भूकम्पपछि पुस्तकालयका सामग्री पाँच हजारवटा बोरामा राखिएको छ । तीमध्ये तीन हजार बोरा मात्रै खोलिएको छ । उनले रासससँग भने– ‘जग्गा उपलब्ध भएमा चाँडो भवन बनाएर सर्न चाहन्छौं ।’ साठी वर्ष पुरानो यस पुस्तकालयमा ३०० वर्ष पुराना सामग्री रहेका छन् ।