चन्द्रागिरि डाँडामा गगनले नभेटेका आफ्ना ज्वाइँ

‘ज्वाइँ ज्ञानबहादुर जिसीको मृत्यु सिमलको भुवा जस्तो भन्न पनि मन मान्दैन, अजम्बरी पहाड जस्तो भनौं भने त्यही चन्द्रागिरिको पहाडले बिर्सिसकेको छ ।’

 

काठमाडौं भ्याली, आहा…! छर्लङ्गै देखिने । यस्तो ठाउँ कहाँ होला ? यतिबेलाका पुस्तालाई सहज छ, चन्द्रागिरि । आधुनिकतासँग जोडिएको स्मार्ट हाते फोन, जहाँबाट ‘क्लिक सेल्फी’ । पछाडीको दृष्य काठमाडौं सहर । दसैंताका धेरै जसो सामाजिक सञ्जालका वालहरुमा यस्तै तस्वीरहरु सजिए ।

‘दसैंमा जमरा, टिका नलगाएको र चन्द्रागिरी केबुलकार चढेको फोटो नराखिए, समाजमा गणना भइन्नँ कि भन्ने पीर भयो’, बग्रेल्ती यस्तो कमेन्ट त्यही तस्वीरहरुसँग सम्बन्धित भएर समाजिक सञ्जालमा देखिए । चन्द्रागिरि डाँडा उपत्यकाबाट देखिने नजिकको पहाड हो । जसले उपत्यकाका तीन जिल्ला छर्लङ्गै देखिन्छ । र, उपत्यका जुन ठाउँबाट अजंगको पहाड उभिएको छ, चन्द्रागिरि । चन्द्रागिरि बन्दीगृहबाट देखिन्थ्यो र, कवि कृष्ण सेन ‘इच्छुक’ले लेखेका छन्–

प्रिय चन्द्रागिरि
बन्दी जीवनको पीडा र विषादमय घडीमा
तिम्रो आत्मीय उपस्थिति मलाई
मध्यान्हको चर्को गर्मीमा
डाँडाको शीतल चौतारीजस्तै भएको छ ।
तिम्रो एक झलक मीठो मुस्कान
मरुभूमिको थकित पथिकलाई
मनको तृष्ण मेटाउने
मनोरम हरियाली जस्तै भएको छ ।

….

चन्द्रागिरिको केबुलकार दसैंताका अनौपचारिक रुपमा सञ्चालनमा आयो । त्यसपछि घुमफिरमा मजाक लिने पुस्ता त्यहाँ पुग्यो । प्रौढ, युवा, केटाकेटी, जोडी, साथीसँगी, नेता, नेतृ चन्द्रागिरिको चुचुरोमा पुगे ‘फोटो सेशन’ गरे । त्यससँगै खाद्य वस्तुमा मंहगी र सार्वजनिक जग्गा हडपेका ठूला समाचार बने । चन्द्रागिरिमा केबुलकारको चर्चा यतिले मात्रै पुगेन ।

उद्घाटनमा रमेका सञ्चालक, अतिथि, सञ्चारकर्मीहरु ‘चन्द्रागिरिमा केबुलकार’ उधुमै विकास भनेर व्याख्या गर्न र भाषण गर्नमा तल्लिन थिए । ती पात्रको मनमा भने बेला–बेला भक्कानो फुट्थ्यो ।

गत मंसिर ३० गते चन्द्रागिरिको औपचारिक उद्घाटन तामझामका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे । उद्घाटन समारोह, सररर केबुलकारमा । को–को गए, को–को डाँडामा पुगे त्यसको लामै नामावली छ । तर, त्यसमा निम्त्याएका एक पात्र थिए । जो गुमनाम बसिरहे । मुसमुस हाँसि रहने, शालिन, पातलो शरिर, ठिङ्ग चन्द्रागिरि डाँडामा उभिए ।
त्यहीं पात्रले यता उता हेर्यो । चियायो । अहँ चित्त बुझेन । दुनियाँका बीच केही भन्ने कुरा पनि भएन । उद्घाटनमा रमेका सञ्चालक, अतिथि, सञ्चारकर्मीहरु ‘चन्द्रागिरिमा केबुलकार’ उधुमै विकास भनेर व्याख्या गर्न र भाषण गर्नमा तल्लिन थिए । ती पात्रको मनमा भने बेला–बेला भक्कानो फुट्थ्यो ।

याे पनि पढ्नुस  चंद्रागिरि केबल कारमा शहीद परिवारलाई विशेष छूट

‘हो, आखिर जिन्दगी न हो । किन दुनियाँको अगाडी ओकल्ने यी पीडाको क्षण’, मन बाँध्दै ती पात्रले बेलाबेला आँखामा पिलपिलिएका आँशु चिसोको निहुँ पारेर रुमाल झिक्दै पुछ्दै गरे ।
‘मेरो परिवारको भावना जोडिएको छ चन्द्रागिरिमा । बहिनी गइनन् । म केही सञ्चालकहरुको कहरमा मन बाँधेर उक्लिएँ । जान मन थिएन । जहाँ पुग्दा मनले ज्वाइँ खोजि रह्यो । आखिरी यथार्थ सिन्दुरबिनाकी बहिनी हुन । ज्वाइँको सपना हो । उनले यो जुनीमा देख्न पाएनन् । साँच्चै भगवान छन भने ज्वाइँले आफ्नो सपना अर्को जुनीमा देख्न पाउनु हुनेछ’, चन्द्रागिरि केबलकारमा जोडिएको भावना पोखे गगन विष्टले ।
….

चन्द्रागिरिसँग किन जोडिन्छन यस्ता पारिवारिक भावना र पीडाका क्षण ? कथा सुरु हुन्छ गगन विष्टको । प्रेस चौतारी, नेपालका पूर्व अध्यक्ष सञ्चारकर्मी । दाइ एमालेको राजनीतिबाट शिखर चुम्दै । भाइ उनकै अनुयायीमा हिँडिरहेका । त्यो कालो दिनसँग उनको चन्द्रागिरि केबलकारसँग जोडिन्छ ।

दुई भाइको गाउँमा चटारो थियो बुवाको चौरासी पुजा सुरु गर्न । २०७० बैशाख १० गते घरपरिवार गाउँमा जम्मा हुने एउटा उल्लासमय दिन थियो । अचानक अकल्पनीय खबर । पाल्पामा गाडी दुर्घटना । जुन दुघर्टनाबाट गगनकी पत्नी लता, ज्वाइँ ज्ञानबहादुर र रामबहादुर, भान्जी आस्था जिसीले ज्यान गुमाउनु पर्यो । बहिनी उमा, छोरा सिद्धान्त र भान्जा आदर्श बँचे । त्यहीँ जोडिन्छ गगनका ज्वाइँ ज्ञानबहादुर र चन्द्रागिरि केबलकारको सम्बन्ध । अझै दुखद क्षण, छोराछोरी ज्वाईँमाथिको पीडा, बुवाको ६ महिनापछि निधन ।

याे पनि पढ्नुस  चन्द्र शमशेरको रोपवेदेखि चन्द्रागिरि केबलकारसम्म

‘चन्द्रागिरिमा जसरी केबलकार चलेको छ । त्यो बेला कसले सोंचेको थियो काठमाडौंका डाँडामा केबलकार सररर भनेर ? त्यो सपना देख्ने मेरा ज्वाइँ ज्ञानबहादुर हुन’, विष्टले एभरेष्टदैनिकसँग भने ।

२०५६ को संसदीय चुनावमा थोरैले गर्धन छिन्नबाट बाँचे गगन । गर्धन त बच्यो, हात भने दुई टुक्रा परिदिए विरोधीले । यस्ता घट्नाबाट जीवनमा हरेस खाएनन् गगनले ।

उद्घाटनको बेला मनमा खेलेका कुरा गगनले फुकाउँदै भने– ‘चन्द्रागिरि डाँडामा म केबलकारबाटै उक्ले ज्वाइँ । तपाईंलाई वरीपरी खोज्ने प्रयास गरें, देखिनँ । मन बाँधेर कतै राखेका छन् कि भनेर खोज्न हजार पटक आँखा झिम्काएर हेर्दा पनि तपाईंलाई देखिनँ ।’

उसै त शालिन स्वभावका गगन । त्यसमाथि श्रीमती लता, ज्वाइँहरु, भाञ्जीको मृत्युको घट्ना चन्द्रागिरि डाँडा उक्लिँदाको क्षण सम्झेर गगन भावुक बन्दै गए । ‘ज्वाइँ राम्रो चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्थ्यो । राष्ट्र बैंकको जागिर छोडेर आफूले देखेको सपना चन्द्रागिरिमा केबुलकार सरर गराउने सबै प्रोजेक्ट तयार पार्नुभयो । आखिर देख्नु पाउनु भएन । अहिले जे जति अर्को कम्पनीको चर्चा चलिरहँदा बहिनी उमाले जम्मा ६० लाख रुपैयाँ बराबरको शेयर पाएकी छिन भन्ने सुनेको छु । जबकि त्यही प्रोजेक्ट ज्वाइँले तयार पार्दा साढे ३ अर्ब रुपैयाँ बराबरको थियो’, गगनले सुनाए ।
….
मृत्युलाई नजिकबाट जितेका व्यक्ति हुन गगन । २०५६ को संसदीय चुनावमा थोरैले गर्धन छिन्नबाट बाँचे गगन । गर्धन त बच्यो, हात भने दुई टुक्रा परिदिए विरोधीले । यस्ता घट्नाबाट जीवनमा हरेस खाएनन् गगनले । उनले भने– ‘म मृत्युलाई नजिकबाट हेरिसकेको मान्छे हुँ । मृत्यु सत्य हो । तर, मृत्यु मेरो परिवारमा पर्यो, जसले यस्ता सपना देखेका थिए, उनले भोग गर्न नपाउँदा जीवनको अनुभूति नै भिन्न हुँदो रहेछ ।’

याे पनि पढ्नुस  चंद्रागिरि केबल कारमा शहीद परिवारलाई विशेष छूट

मृत्युको परिभाषालाई थप प्रष्टाउँदै गगनले मलिन स्वरमा भने– “भन्छन नि ‘मृत्यु कसैको सिमलको भुवा जस्ता, कसैको अजम्बरी पहाड जस्तो’ । आखिर ज्वाइँले सिंगापुर पुगेर केबलकार चन्द्रागिरिमा उचित छ कि छैन भनेर ‘भिजिबिलिटी’ देखाएर सम्भाव्यता खोज्नु भयो । १८ घन्टा काम गरेर प्रोजेक्ट सफल पार्ने योजना बुन्नु भयो । सफल भयो प्रोजेक्ट ।”
‘अहिले मेरो ज्वाइँ हुनुहुन्न । ज्वाइँको मृत्यु सिमलको भुवा जस्तो भन्न पनि मन मान्दैन, अजम्बरीको पहाड जस्तो भनौं भने त्यही चन्द्रागिरिको पहाडले बिर्सिसकेको छ । एउटा कालिगढले लुगा सिलाई सकेपछि ऐनामा हेर्नुस् त कति चिटिक्क परेको भन्ने तर, उसले लगाउन पाउँदैन । त्यस्तै भयो मेरो ज्वाइँको सपना ।’

त्यही अनुभूति गरी प्रत्येक गोधुली साँझ चन्द्रागिरि डाँडामा डुब्न लाग्दाको घामको राता किरणमा मेरो ज्वाइँ खोजिरहन्छु,’ गगनले भने– ‘यो मेरो कसैसँग गुनासो होइन । तै पनि गहिरो पारिवारिक पीडाभित्रको अनुभूति कसलाई चिरेर देखाउँ ।’

कमेन्ट गर्नुहोस्