माओवादी हेडक्वाटर बैठकमा कार्यविधिको विवाद

काठमाडौैं, पुस २१ । पार्टीको सांगठनिक कार्यविधि मिलाउन बसेको माओवादी केन्द्रको कार्यालय(हेडक्वाटर) बैठक विना निष्कर्ष टुङ्गिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को नीजि निवास लाजिम्पाटमा बसेको बैठकमा पार्टीको संगठनात्मक कार्यविधि बनाउने भनिए पनि कुनै निष्कर्ष नभएको हो । अान्तरिक संगठन मिलाउन बैठक बसेको माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने–‘पार्टीको आन्तरिक सांगठनिक संरचना बनाउन बैठक बसेपनि आज कुनै निष्कर्षमा पुगिएन, फेरि भोली बैठक बेसर छलफल गर्ने कुरा भएको छ’

बैठकमा अध्यक्ष प्रचण्डले सर्वोच्वको फैसलापछि देशको राजनीति सहमतितिर अघि बढेको जानकारी दिनुभएको नेता अग्नी सापकोटाले बताए ।

आगामी महाधिवेशनलाई लक्षित गरी समावेशी सिद्धान्तका आधारमा कार्यविधि तयार पार्ने नेता सापकोटाको भनाई छ । आन्तरिक निर्वाचनलाई निश्पक्ष र प्रतिस्पर्धात्मक ढंगबाट अगाडि बढाउने तयारी गरेको माओवादी केन्द्रले केन्द्रीय कार्यसमितिमा मनोनित सदस्यको कोटा समेत निर्धारण गर्ने गरी छलफल थालेको हो ।

माओवादी केन्द्रको सांगठनिक कार्यविधि नहुँदा जिल्ला जिल्लामा अधिवेशन रोकिएका छन् । विवादकै कारण केन्द्रीय सदस्यको संख्या बढेको बढ्यै छ ।

राम बहादुर थापा ‘बादल’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकता गरेर माओवादी केन्द्र बनेपछि पार्टीको संगठन बनाउन सकेको छैन । संगठनात्मक कार्यविधि बारेमा छलफल गर्न बसेको बैठक कुनै निष्कर्षमा नपुगेको नेकपा (माअ‍ोवादी) केन्द्रका कार्यालय सदस्य मणि थापाले एभरेष्टदैनिक डटकमलाई जानकारी दिए । संगठनलाई कसरी चुन्ने ? जिल्ला समितिको संख्या निर्धारण, पार्टीको पोलिटव्युरो, स्थायी कमिटि र केन्द्रीय समितिको संख्या बारेमा कार्यविधि बनाउन खोजिएको थियो तर, आज टुङ्गिएन ।’उनले भने । बैठकमा आज कार्यालय पदाधिकारीहरुले आ आफ्नो धारणा राखेकोले भोली फेरी बस्ने गरी बैठक स्थगीत भएको माओवादी बरीष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए । ‘छलफल जारी छ, बैठक भोली बिहान ८ बजे फेरी बस्ने गरी उठेका छौँ’ उहाँले भने ।

कार्यालय सदस्य थापाले बैठकमा केही प्राविधिक विषयमा विवाद देखिएको बताए, विशेषगरी कार्यविधि कस्तो बनाउने भन्नेमा नेताहरुबीच कुरा मिलेको छैन  उनले भने ।
‘अध्यक्षले अदालतको फैसलापछि अव संसोधन प्रस्ताव पारीत हुने र सहमतिका लागि सबै दलहरुसँग छलफल जारी रहेको बैठकमा जानकारी गराउनुभएको थियो’ सापकोटाले भने ।

संशाेधन विधेयक प्रक्रियामा लाने

सत्ता नेतृत्वकर्ता समेत रहेको माओवादी केन्द्रले संविधान संशोधन विधेयक सम्बन्धमा सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको छ । विधेयकबारे सत्तापक्ष र प्रतिपक्षी दलले आ–आफ्नै ब्याख्या गरिरहेका समय माओवादी केन्द्रले सर्वोच्चको आदेशपछि विधेयक अगाडि बढाउने बाटो खोलेको निश्कर्ष निकालेको हो । केन्द्रको हेडक्वाटर बैठकले विधेयक पारितका लागि दलीय छलफललाई तिब्र बनाउने निर्णय गरेको नेता अग्नी सापकोटाले जानकारी दिए । विधेयकको बिरोधमा रहेको प्रमुख प्रतिपक्षी एमाले सहितका प्रतिपक्षी दलसँग छलफल गरी सवैलाई मान्य हुने गरी विधेयक अगाडि बढाउने बारे दलीय छलफल केन्द्रित गर्ने माओवादी केन्द्रको निश्कर्ष छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: