पुस २१ । भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा बुधबार साँझ ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु भएको छ ।
बाटो खन्ने क्रममा हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुरमा माटोको ढिस्कोले पुरिएर ती नेपाली मजदुरहरुको घटनास्थलमै मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले जानकारी दिए ।
मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् । ‘तीनजनाको शव ढिस्कोबाट निकालिएको छ,’ विष्टले भने, ‘थप एकजनाको शव डोजरको सहायताले निकालिँदैछ ।’
६ जनाको सङ्ख्यामा नेपालीहरु त्यहाँ कार्यरत रहेको भए पनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको बताइएको छ ।
भारत सरकारले उक्त बाटो खन्ने कामलाई ठेकेदार कम्पनीमार्फत सडक खनाइरहेको थियो । ‘हामीहरु ठेकेदार कम्पनीमार्फत बाटो खनिरहेका थियौँ,’ विष्टले भने, ‘म यहाँ अर्कै साइडमा थिएँ ।’